काठमाडौं। सिन्धुपाल्चोकको सुकुटेमा नेपालमै पहिलोपटक ह्याममेक केबुलकार र ३६० डिग्री स्विङ लगायत साहसिक खेलका गतिविधिहरू सञ्चालनमा आएको छ।
कम्पनीका अनुसार स्विङमा ३६० डिग्रीमा घुमेर थ्रिलको अनुभव गर्न सकिनेछ। यस किसिमको स्विङ नेपालमै पहिलोपटक भएको कम्पनीको दावी छ।
कम्पनीले भोटेकोसी खोला माथी २२० मिटर लामो जिपलाइन पनि सुरु गरेको छ। साथै २२० मिटर लामो स्काइ रोप साइकल पनि सन्चालनमा आएको छ। स्काइ रोप साइकलमा एक जना बसेर चलाउने र जोडि नै बसेर चलाउन मिल्ने गरि बनाइएको छ।
थ्रिल भ्याली प्रालिले करिब एक करोड रुपैयाँको लगानीमा सुकुटेमा स्विङ सहित विभिन्न साहसिक खेलहरू सञ्चालनमा ल्याएको हो। र्याफ्टिङ व्यवसाय गर्दै आएका महेन्द्र श्रेष्ठ, सम्झना खड्का र राज केसीको लगानीमामा सुकुटेमा थ्रिल भ्याली सुरु भएको हो। साहसिक खेलका पारखीहरूका लागि लक्षित गरि कम्पनीले सञ्चालनमा ल्याइएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।
कति लाग्छ शुल्क?
कम्पनीले सञ्चालनमा आएको अवसरमा रिसोर्टले आफ्ना ग्राहकहरूका लागि तिहारसम्म विभिन्न छुटको घोषणा गरेको छ। जसअनुसार, स्वीङका लागि ३ सय रुपैयाँ प्रतिव्यक्ति, केबुलकारका लागि प्रतिव्यक्ति ३ सय रुपैयाँ, स्काइ साइकलको एक हजार रुपैयाँ प्रतिव्यक्ति तथा डबल स्काइ साइकलको १५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार फ्यामिली पिङका लागि २ सय रुपैयाँ र गुलेली पिङका लागि पनि २ सय रुपैयाँ शुल्क कायम गरिएको छ ।
कसरी पुग्ने ?
काठमाडौंबाट दोलालघाट हुँदै सुकुटे पुग्न सकिन्छ । सार्वजनिक तथा निजी सवारी साधनमा सहजै पुग्न सकिने सुकुटे काठमाडौंबाट ६६ किलोमिटरको दूरीमा पर्छ । जहाँ जानका लागि काठमाडौंको बसपार्कबाट सार्वजनिक बसमा करिब ३ सय रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ । यसबाहेक सुमो लगायतका गाडीले ५ सय रुपैयाँमा सुकुटेसम्म पुर्याउेछन् ।