काठमाडौं। अघिल्लो दिन सामान्य अंकले बढेको सेयर बजार साताको अन्तिम कारोबारले ओरालोको बाटोलाई निरन्तरता दिएको छ। बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.१६ अंकले घटेर १ हजार ८ सय ७४.६० को बिन्दुमा बन्द भएको हो
आइतबारदेखि मंगलबारसम्म भारी अंकले घटेको नेप्से परिसुचक बुधबार भने ५.१६ अंकले बढेको थियो। गत साताको बिहीबार नेपाल राष्ट्र बैंकले संसोधन गरी लागू गरेको सेयर धितो कर्जाको नयाँ नीतिको प्रभावमा बजार घटेको विष्लेशकहरु बताउँछन्।
केन्द्रीय बैंकले १२ करोड रुपैयाँसम्मको सेयर धितो कर्जाको पुरानो नीतिलाई संसोधन गर्द व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोड रुपैयाँसम्मको सीमा कायम गरेको छ। उक्त सीमाले पुँजी बजारमा लगानी भित्र्याउँन खास सहयोग नगर्ने सेयर विज्ञहरुको बुझाइ हो।
दैनिक २० अंकको हाराहारीमा घटेको यो साताको नेप्से परिसुचकलाई बिहीबारको बजारले पनि निरन्तरता दिएको छ। उक्त दिन कारोबारमा आएका २ सय ९२ कम्पनीको ७५ लाख ५८ हजार ५ सय ५४ कित्ता सेयर ६२ हजार ४६ पटक खरिदबिक्री हुँदा १ अर्ब ७० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ। उक्त दिन लक्ष्मी सनराइज बैंकको प्रमोटर सेयरको सर्वाधिक १६ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
यस्तै, बिहीबार घटेको सेयर बजारमा सिटी होटलका लगानीकर्ताले सबैभन्दा बढी गुमाए। होटलको सेयर मूल्य ९.०९ प्रतिशतले घटेर ५ सय ८५ रुपैयाँ कायम भएको छ। साथै, उक्त दिन बराही हाइड्रो पावरको ८.१९ प्रतिशत, बाफेली हाइड्रो पावरको ८.०५ प्रतिशत, ११ प्रतिशत एनआइसी एशिया डिबेञ्चर ०८२.८३ को ७.७४ प्रतिशत र प्रोगेसिप फाइनान्सको ६.९८ प्रतिशतले सेयर मूल्य घटेको छ।
बिहीबार २० अंक बढीले घटेको सेयर बजारमा पनि भगवती हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३ सय ९७ रुपैयाँ २० पैसा कायम भएको हो।
साथै, उक्त दिन मिड सोलु हाइड्रो पावरको १० प्रतिशतले, हाथवे इन्भेष्टमेन्टको ९.९८ प्रतिशतले, एनआइबिएल ग्रोथ फन्डको ९।९५ प्रतिशतले र सानिमा ग्रोथ फन्डको ९.९४ प्रतिशतले सेयर मूल्य बढेको छ।