काठमाडौं। नेपाल राष्ट्र बैंकले यसपालि दसैं लक्ष्यित नयाँ नोट सटही आज (बिहीबार) बाट सुरु गरेको छ। केन्द्रीय बैंक मुद्रा व्यवस्थापन विभागले वाणिज्य बैंकहरूलाई सर्वसाधारणलाई वितरण गर्न नयाँ नोट सटही सुरु गरेको हो।
राष्ट्र बैंकले सर्वसाधारणका लागि असोज २९ घटस्थापना भोलिपल्टबाट सटही सुरु गर्ने सूचना जारी गरिसकेको छ। केन्द्रीय बैंकले आफ्ना प्रादेशिक कार्यालयसँगै वाणिज्य बैंकहरूको तोकिएको शाखा कार्यालयबाट असोज २९ बाट सर्वसाधारणमा प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही सुविधा दिन लागेको हो।
सर्वसाधारणमा वितरण गर्ने नयाँ नोट व्यवस्थापन मिलाउन वाणिज्य बैंकहरूलाई तोकिएको असोज १८ देखि सटही सुविधा दिइएको मुद्रा व्यवस्थापन विभागका प्रमुख तथा कार्यकारी निर्देशक नरेश शाक्यले बताए।
‘राष्ट्र बैंकले सर्वसाधारणमा असोज २९ बाट नै नयाँ नोट वितरण गर्छ, हाम्रो प्रादेशिक कार्यालय र वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत समेत नयाँ नोट वितरण गरिने हुँदा उनीहरूलाई व्यवस्थापन मिलाउन आजैदेखि ६ करोड रुपैयाँसम्म नयाँ नोट सटहीका लागि दिएका छौं,’ कार्यकारी निर्देशक शाक्यले क्यापिटल नेपालसँग भने, ‘वाणिज्य बैंकहरूले २९ गतेदेखि नोट सहटी गर्ने शाखा कार्यालयको नामावली पठाइरहेका छन्। तोकिएको शाखा कार्यालयमा नयाँ नोट २९ गतेअघि पठाउन राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई आजदेखि सटही सुविधा खुला गरेको हो।’
वाणिज्य बैंकहरूले राष्ट्र बैंकमा नाम पठाएका शाखा कार्यालयबाट असोज २९ देखि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही सुविधा दिन्छन्। कुन बैंकले आफ्ना कुन शाखा कार्यालयबाट नोट सहटी सुविधा दिने हो, त्यसको जानकारी आफ्नो वेबसाइटमा असोज २८ गते नै राखिसक्नुपर्ने हुन्छ।
सर्वसाधारण, विकास बैंक, फाइनान्स कम्पनी, वित्तीय संस्था, सहकारी संस्था र सर्वसाधारणले असोज २९ बाट राष्ट्र बैंकले तोकेको सीमामा नयाँ नोट सटही गर्न पाउने शाक्यले बताए।
उनीहरूले वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयसँगै राष्ट्र बैंक केन्द्रीय कार्यालय वालुटार र मोरङ विराटनगर, धनुषा जनकपुर, पर्सा वीरगन्ज, रुपन्देही सिद्धार्थनगर, कास्की पोखरा र वीरेन्द्रनगर सुर्खेतमा रहेका प्रादेशिक कार्यालयबाट नयाँ नोट सहटी सुविधा दिनेछ। अहिले भने वाणिज्य बैंकहरूले राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुटारबाट शाखा कार्यालय पठाउन नयाँ नोट सटही सुरु भएको हो।