काठमाडौं। गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरणको ‘पाइपलाइन’ मा ५ वाणिज्य बैंक सहित १६ बैंक तथा वित्तीय संस्था छन्।
यी बैंक तथा वित्तीय संस्था गत वर्षको नाफाबाट सेयरधनीलाई दिने प्रतिफल दसैंअघि नै घोषणा गर्ने गरी नेपाल राष्ट्र बैंकमा प्रारम्भिक स्वीकृति (प्रिलिमिनरी अप्रुभल) का लागि पुगेका हुन्।
राष्ट्र बैंक सुपरीवेक्षण विभागमा प्रिलिमिनरीअप्रुभलका लागि गत आर्थिक वर्षको वित्तीय विवरणमा अन्तिम लेखापरीक्षण गराइ उक्त वित्तीय विवरण पेस गर्नेमा ५ वाणिज्य बैंक, ४ विकास बैंक, २ फाइनान्स कम्पनी र ५ लघुवित्त वित्तीय संस्था छन्।
यसरी प्रारम्भिक स्वीकृतिका लागि वित्तीय विवरण पेस गर्नेमा वाणिज्य बैंकतर्फ स्ट्यान्डर्ड चार्टर्ड, एनएमबी, सिद्धार्थ, नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल एसबिआइ बैंक छन्।
विकास बैंकतर्फ सांग्रिला डेभलपमेन्ट, साइनरेसुङ्गा डेभलपमेन्ट, मितेरी डेभलपमेन्ट र कामना सेवा विकास बैंक हुन्। फाइनान्स कम्पनीतर्फ प्रोग्रेसिभ फाइनान्स र समृद्धि फाइनान्स हुन्। विकास बैंक र फाइनान्स कम्पनीले वित्तीय संस्था सुपरीवेक्षणमा गत आर्थिक वर्षको वित्तीय विवरण पेस गरेका हुन्।
साथै, गत आर्थिक वर्षको वित्तीय विवरणमा अन्तिम लेखापरीक्षण गराइ लघुवित्त सुपरीवेक्षणमा स्वालम्बन लघुवित्त, फस्र्ट माइक्रो फाइनान्स, हिमालयन लघुवित्त, आरएमडिसी लघुवित्त र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले वित्तीय विवरण पेस गरेर प्रारम्भिक स्वीकृतिको पाइपलाइनमा छन्।
यी बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १ प्रतिशतदेखि ४३.४६ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राखेका छन्। जसमा सबैभन्दा बढी एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको छ।
कुनै पनि कम्पनी तथा संघसंस्थाले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र उक्त आर्थिक वर्षको वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्छ। बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभा सम्पन्न गर्नको लागि राष्ट्र बैंकमा सम्बन्धित आर्थिक वर्षकोे वित्तीय विवरण पेस गरी पारित गर्नुपर्ने व्यवस्था छ। जसमा सुपरीवेक्षणले निरीक्षण गरी प्रारम्भिक स्वीकृत दिन्छ। उक्त स्वीकृति पाएमात्र बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्न पाउँछन्।
घोषित लाभांश राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि मात्र साधारणसभाको मिति तय गरी लगानीकर्तालाई वितरण हुन्छ। यी बैंकले राष्ट्र बैंकबाट पारित भएको वित्तीय विवरणको क्षमताअनुसार नै लाभांश घोषणा गर्ने/नगर्ने भन्ने सम्बन्धित बैंकमा नै भरपर्छ। क्षमताअनुसार लाभांश वितरण नगरेर रिजर्भमा समेत बैंकहरूले वितरणयोग्य नाफाको पैसा राख्छन्।
यी बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा दसैं बिदा सुरु हुनुअघि नै प्रिलिमिनरी अपु्रभल दिने गरी सम्बन्धित सुपरीवेक्षणले काम अघि बढाएको राष्ट्र बैंकका एक अधिकारीले बताए।
‘अहिले पेस भएका वित्तीय विवरणमा प्रिलिमिनरी अपु्रभल दसैंअघि नै हुन सक्छ,। लाभांश घोषणा दसैंअघि नै गर्न पाउने भए पनि साधारणसभा भने अन्तिम स्वीकृति पाएको २१ दिन पछिमात्रै गर्न पाउने हुँदा तिहारपछि नै हुन सक्छ,’ राष्ट्र बैंक स्रोतले क्यापिटल नेपालसँग भन्यो।
राष्ट्र बैंकले ती बैंकहरूले पेस गरेको वित्तीय विवरणमा विस्तृत मूल्यांकन गर्दै गत वर्ष उनीहरूले छुट्ट्याउनुपर्ने कर्जा नोक्सानीमा, साधारण जगेडा कोषमा, कर्मचारीको तालिम, सामाजिक उत्तरदायित्व कोषमा छुट्ट्याउनुपर्ने पैसालगायत थप गर्नुपर्ने ठाँउमा थप्न लगाएर प्रारम्भिक स्वीकृति दिने स्रोतको भनाइ छ।
दसैंअघि लाभांश घोषणा गर्ने बैंकका क्षमता कति?
वाणिज्य बैंकतर्फ
राष्ट्र बैंकमा गत आर्थिक वर्षको वित्तीय विवरण पेस गर्ने बैंक स्ट्यान्डर्ड चार्टर्ड, एनएमबी, सिद्धार्थ, नेपाल इन्फास्ट्रक्चर (निफ्रा) र नेपाल एसबिआईले सेयरधनीलाई ४.८८ देखि २९ प्रतिशतसम्म लाभांश वितरणको क्षमता राख्छन्। जसमध्ये सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्डको हुँदा सबैभन्दा थोरै निफ्राको ४.८८ प्रतिशत छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक : बैंकले गत आवमा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ हो। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २८.९९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
नेपाल एसबिआई बैंक : बैंकले गत आवमा १ अर्ब ४१ करोड १० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख रुपैयाँ हो। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १३.५९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
एनएमबी बैंक : बैंकले गत आवमा १ अर्ब ५५ करोड ५० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ हो। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.४४ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
सिद्धार्थ बैंक : बैंकले गत आवमा ७९ करोड ५७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ हो। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ५.६५ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
नेपाल इन्फास्ट्रक्चर बैंक : बैंकले गत आवमा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ हो। जसअनुसार बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ४.८८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
विकास बैंकतर्फ
सांग्रिला डेभलपमेन्ट बैंक : गत आर्थिक वर्ष बैंकले २४ करोड ८९ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। बैंकको चुक्ता पुँजी ३ अर्ब २६ करोड ७५ लाख रुपैयाँ हुँदा बैंकको लाभांश क्षमता ७.६२ प्रतिशत छ।
साइनरेसुङ्गा डेभलपमेन्ट बैंक : गत आर्थिक वर्ष बैंकले ४८ करोड ६७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। बैंकको चुक्ता पुँजी ४ अर्ब २८ करोड ३८ लाख रुपैयाँ हुँदा बैंकले लाभांश क्षमता ११.३६ प्रतिशत राख्छ।
मितेरी डेभलपमेन्ट बैंक : गत आर्थिक वर्ष बैंकले १४ करोड ३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। हाल बैंकको चुक्ता पुँजी १ अर्ब १ करोड ५० लाख रुपैयाँ हुँदा लाभांश क्षमता १३.८३ प्रतिशत राख्छ।
कामना सेवा विकास बैंक : गत आर्थिक वर्ष बैंकले ५ करोड ८० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ हुँदा बैंकको लाभांश क्षमता १.७७ प्रतिशत छ।
फाइनान्स कम्पनीतर्फ
प्रोग्रेसिभ फाइनान्स : गत आर्थिक वर्ष प्रोग्रेसिभको वितरणयोग्य २ करोड ५४ लाख रुपैयाँ नाफा ऋणात्मक हुँदा फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई प्रतिफल दिने क्षमता राख्दैन।
समृद्धि फाइनान्स : गत आर्थिक वर्ष फाइनान्सको वितरणयोग्य नाफा ४४ करोड रुपैयाँ ऋणात्मक हुँदा उक्त आर्थिक वर्षबाट सेयरधनीलाई लाभांश दिने क्षमता शून्य छ।
लघुवित्ततर्फ
स्वालम्बन लघुवित्त : गत आर्थिक वर्ष संस्थाले २५ करोड ७० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। हाल संस्थाको चुक्ता पुँजी १ अर्ब २९ करोड कायम हुँदा संस्थाको लाभांश क्षमता १९.९२ प्रतिशत छ।
फर्स्ट माइक्रो फाइनान्स : संस्थाले गत आर्थिक वर्ष २० करोड ९५ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। संस्थाको चुक्ता पुँजी ९६ करोड ४४ लाख रुपैयाँ कायम हुँदा लाभांश क्षमता २१.७२ प्रतिशत छ।
हिमालयन लघुवित्त : संस्थाले गत आर्थिक वर्ष ६० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। उक्त समयसम्म संस्थाको चुक्ता पुँजी ३१ करोड ९८ लाख रुपैयाँ कायम हुँदा गत आर्थिक वर्षको नाफाबाट संस्थाले सेयरधनीलाई १.९१ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ।
आरएमडिसी लघुवित्त : संस्थाले ८ करोड ८ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। उक्त समयसम्म संस्थाको चुक्ता पुँजी ८६ करोड ९५ लाख रुपैयाँ हुँदा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९.२९ प्रतिशत लाभांश वितरणको क्षमता राख्छ।
एनआइसी एसिया लघुवित्त : गत आर्थिक वर्ष संस्थाले ७५ करोड ६० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको थियो। संस्थाको चुक्ता पुँजी १ अर्ब ७३ लाख रुपैयाँ हुँदा गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४३.४६ प्रतिशत लाभांश दिने क्षमता राख्छ।