काठमाडौं। साताको चौथो दिन सेयर बजार झिनो अंकले बढेको छ। बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.१६ अंकले बढेर १ हजार ८ सय ९४.७६ बिन्दुमा बन्द भएको हो।
गत साता बिहीबार नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको संशोधित नीति लागू गरेपछि यो साता आइत, सोम र मंगलबार नेप्से परिसूचक लगातार घटेको थियो। चौथो दिनआइपुग्दा भने बजार सामान्य अंकले वृद्धि भएको छ।
बुधबार कारोबारमा आएका २ सय ८६ कम्पनीका ३७ लाख ३३ हजार ५ सय २४ कित्ता सेयर ५५ हजार १ सय ९९ पटक खरिद–बिक्री हुँदा १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
कारोबार रकमका आधारमा उक्त दिन मान्डु हाइड्रोपावरको सर्वाधिक ४ करोड ८० लाख रुपैयाँ बढीको भएको छ। बुधबारको बजारमा मान्डु हाइड्रोपावरकै लगानीकर्ताले सर्वाधिक कमाएका छन्।
कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएर ४ सय १० रुपैयाँ ५० पैसा कायम भएको छ। साथै हाथवे इन्भेस्टमेन्टको ९.९९ प्रतिशत, सिटी होटलको ८.७२ प्रतिशत र एसियन हाइड्रोपावरको ६.१७ प्रतिशतले सेयर मूल्य बढेको छ।
बुधबार झिनो अंकले बढेको नेप्सेमा सानिमा जेआइसी इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कम्पनीको सेयर मूल्य ४.२१ प्रतिशतले घटेर ४ सय ७८ रुपैयाँ कायम भएको छ।
त्यस्तै ग्रिन डेभलपमेन्ट बैंक ३.४१ प्रतिशत, बुद्धभूमि नेपाल हाइड्रोपावरको ३.४० प्रतिशत, सुपर मादी हाइड्रोपावर ३.३१ प्रतिशत र बिपिडब्लु हाइड्रोपावरको ३.२३ प्रतिशतले सेयर मूल्य घटेको छ।