काठमाडौं। गैरआवासीय नेपाली (एनआरएन) हरूले नेपालमा लगानीको मात्रा बढाउँदै लगेका छन्। उच्च शिक्षा र रोजगारी खोजीमा विदेशी भूमि चहारेका नेपालीले विदेशमा आफ्नो शान, सौकत र कमाइ बढेसँगै जन्मभूमि नेपालमा लगानी गर्न थालेका हुन्।
क्यापिटल बिजनेस म्यागजिनले विदेशमा रहेका नेपाली (एनआरएन) ले लगानी गरेका १ सय ५० हाराहारी कम्पनी पहिचान गरेको छ। ती कम्पनीको चुक्ता पुँजी, सञ्चित कोष र ऋण लगानी एकीकृत गरी हेर्दा १ खर्ब रुपैयाँभन्दा बढी नेपालमा लगानी गरेको पाइएको छ।
क्यापिटलले छोटो समयमा पहिचान गरेको लगानीभन्दा बाहिर पनि ठूलो लगानी भएको सहजै अनुमान गर्न सकिन्छ।
एनआरएनएहरूको मुख्य लगानी वित्तीय क्षेत्र, ऊर्जा/जलविद्युत, पर्यटन, उद्योग, कृषि, शिक्षा र स्वास्थ्य, पूर्वाधार, निर्माण व्यवसाय, इन्जिनियरिङ, सूचना प्रविधिलगायत क्षेत्रमा केन्द्रित छ। एनआरएनहरूले व्यक्तिगत साथै इन्भेस्टमेन्ट कम्पनी बनाएर लगानी गरिरहेका छन्।
एनआरएन अभियन्ताहरूको कुरा विश्वास मान्ने हो भने १ हजारभन्दा बढी एनआरएनले सयौं इन्भेस्टमेन्ट कम्पनी खोलेका छन्। एउटै समूह र व्यक्तिले पनि एकभन्दा बढी इन्भेस्टमेन्ट कम्पनी खोलेका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीको चुक्ता पुँजी र सञ्चित कोष स्पष्ट देखिने भए पनि निजी कम्पनीहरूको विस्तृत विवरण पाउन कठिन छ। इन्भेस्टमेन्ट कम्पनीमार्फत भएको समग्र लगानीको अवस्थिति हेर्न थप अध्ययन गर्नुपर्ने हुन्छ।
इन्भेस्टमेन्ट कम्पनीमार्फत विभिन्न कम्पनीमा लगानी गर्ने र फेरि ती कम्पनीले पनि अन्य कम्पनीमा लगानी गर्ने प्रवृत्ति बढिरहेको छ। त्यसैले एउटै कम्पनी र एउटै संस्थामा भएको लगानीलाई आधिकारिक मानेर लगानीको तथ्यांक एकीकृत गर्दा दोहोरो/तेहोरोपना आउने खतरा रहन्छ।
इन्भेस्भमेन्ट कम्पनीमार्फत खासगरी जलविद्युतलगायत क्षेत्रमा ठूलो लगानी भएको छ। कतिपय अवस्थामा इन्भेस्टमेन्ट कम्पनीले सेयरको दोस्रो बजारमा पनि कारोबार गरिरहेका छन्। लगानी भएका कम्पनीको विवरणमा इन्भेस्टमेन्ट कम्पनीको नाम हुने भएकाले कसको लगानी कहाँ छ भन्ने खुट्टयाउन निकै मुस्किल पर्छ। पुरानो नागरिकतालाई राजनीतिक अधिकारबाहेकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारमा बन्देज लगाइएको छैन।
एनआरएनहरूले पुरानै नागरिकता प्रयोग गरेर नेपाली लगानीकर्ताकै हैसियतमा पनि लगानी गरिरहेका छन्। कतिपय एनआरएनले रेमिट्यान्स पठाएर नेपालमा लगानी गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो पनि कूल वैदेशिक लगानीको आधाभन्दा बढी हिस्सा एनआरएनहरूको रहेको दाबी गर्छन्। तर, नेपालमा एनआरएनको लगानी कति छ? भन्ने विषयमा कसैसँग पनि यकिन तथ्यांक छैन।
एकातिर पर्याप्त अध्ययन/अनुसन्धान भएका छैनन् भने सरकार र एनआरएनएले पनि त्यसको आँकडा राख्ने गरेको छैन। त्यतिमात्र होइन, एनआरएनएकै अभियन्ता र लगानीकर्ताहरू पनि लगानीका विषयमा खुल्न चाहँदैनन्।
तथापि, नदेखिने गरी एनआरएनहरूको लगानी व्यक्तिगतस्तरमा बढ्दै गएको छ। सामान्यतया पब्लिक कम्पनीमा भएको लगानी सतहमा देखिन्छ। तर, प्राइभेट कम्पनी (प्रालि) मा गरिने लगानीको तथ्यांक प्राप्त गर्नु निकै चुनौतीपूर्ण काम हो।
कम्पनी रजिस्ट्रारको कार्यालयमा व्यक्तिको नाममा कम्पनी दर्ता हुने गर्छ। त्यसमा पुरानो नागरिकताअनुसारकै ठेगाना संलग्न भएको पाइन्छ। त्यसैले को एनआरएन, को गैरएनआरएन छुट्ट्याएर लगानीको ढाँचा पहिचान गर्नु निकै मुस्किल काम हो।
तथापि, ‘नेपालको संविधान’ र ‘गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०६४’, र ‘नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९’ अनुसार परिभाषित व्यवस्थाभित्रका लगानीकर्ता संलग्न भएका संस्था र त्यसमा भएको लगानीको वास्तविक तथा अनुमानित आँकडालाई समाहित गरेर दस्तावेज तयार गर्नु कम्ती गाह्रो छैन।
नेपालको संविधान र नागरिकतासम्बन्धी ऐनले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्र (भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, भुटान र अफगानिस्तान) भित्र बसोबास गर्ने नेपालीलाई डायस्पोराको मान्यता दिएको छैन।
पछिल्लो समय मुलुुकको उन्नतिमा डायस्पोराहरूको लगानीले ठूलो भूमिका खेल्दै आएको छ। कूल जनसंख्यामध्ये विश्वभरि ३.६ प्रतिशत आप्रवासी रहेको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) ले जनाएको छ। सन् २०२२ मा विश्वभरि प्रवासी र डायस्पोराले गरी कूल ६ खर्ब ४७ अर्ब अमेरिकी डलरबराबर रेमिट्यान्स हस्तान्तरण गरेको आइओएमको प्रतिवेदनमा उल्लेख छ।
आइओएमका अनुसार विश्वभरि करिब ३३ लाख नेपाली आप्रवासीका रूपमा छन्। तीमध्ये भारतमा करिब ७ लाख ३४ हजार, मलेसिया ५ लाख ८६ हजार, साउदी अरब ५ लाख ४ हजार, कतार २ लाख ५४ हजार, अमेरिका १ लाख ७७ हजार, युएईसहितका गल्फ कोअपरेसन काउन्सिल (जिसिसी) का सदस्य राष्ट्रहरू, जापान, दक्षिण कोरिया र युरोपमा गरी थप १० लाखभन्दा धेरै नेपाली आप्रवासी रहेको अनुमान छ।
संघका सल्लाहकार एवं पूर्वप्रवक्तासमेत रहेका डा. जुगल भुर्तेल नेपालमा गैरआवासीय नेपालीका क्रियाकलाप, बौद्धिक र आर्थिक लगानी आफैंमा दूरगामी महत्वका भएको बताउँछन्। ‘यसले डायस्पोराको भावी पुस्तालाई नेपालसँगको सम्बन्धलाई निरन्तरता दिने एउटा आधार खडा गरेको छ,’ भुर्तेल भन्छन्, ‘नेपाली डायस्पोरामा ‘जसरी पनि नेपालमा केही न केही त गर्नैपर्छ’ भन्ने उत्साह देखिनु सानो उपलब्धि होइन। तर, मातृभूमिको एनआरएनप्रति ठूलो अपेक्षा छ। त्यसअनुरूप योगदानको समीक्षा आवश्यक छ।’
डायस्पोराहरूले रेमिट्यान्स, प्रविधि, ज्ञान हस्तान्तरण, परोपकार र कूटनीतिमार्फत आफ्नो जन्मभूमिको विकासमा महत्वपूर्ण योगदान दिएकै कारण नेपाल सरकारले पनि एनआरएनलाई आर्थिक कूटनीतिको दरिलो खेलाडीका रूपमा प्रस्तुत गर्दै आएको छ।
सरकारले द्विपक्षीय उद्योग वाणिज्य संघ स्थापनामा सघाउँदै पनि आएको छ। वैदेशिक लगानी भित्र्याउन सरकारले नीति नियमममा समयानुकूल परिवर्तनको पहलसँगै प्रक्रिया पनि सहजीकरण गर्दै आएको छ। सामान्यतया १० अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानीका परियोजना ल्याउन लगानी बोर्ड नेपाल क्रियाशील छ।
विभिन्न क्षेत्रमा आउने लगानीका लागि पनि क्षेत्रगत सीमा तोकेर जिम्मेवारी दिइएको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा स्थानान्तरणसम्बन्धी व्यवस्था सहजीकरण गर्दै आएको छ। सबै प्रकारका सेवा सहज र सरलरूपमा दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग विभागअन्तर्गत ‘एकल बिन्दुु सेवा केन्द्र’ क्रियाशील छ।
प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रक्रिया लामो र झन्झटिलो हुने भएकाले लगानी भित्र्याउन निकै अप्ठेरो छ। प्रक्रिया पूरा नगरी आएको लगानीको रेकर्ड हुँदैन र त्यस्तो लगानी तथा प्रतिफल बाहिर लैजान समस्या हुुन्छ। सरकारले वैदेशिक लगानीलाई अझ फराकिलो र व्यापक बनाए एनआरएनहरूको लगानी अझ बढ्ने निश्चित छ। पैसा सजिलैसँग लान नपाएको खण्डमा अन्य लगानीकर्ता बढी सशंकित हुुने भएकाले थप लगानी रोकिने सम्भावना रहन्छ।
एनआरएनले लगानी गरेका माउ कम्पनी र तिनीहरूका सहायक कम्पनी र कतिपय सूचीकृत भएका र सूचीकृत नभएका एसोसिएट कम्पनीको पनि लामै सूची छ। एनआरएन लगानीले रोजगारी सिर्जना र सरकारलाई राजस्व प्राप्तिमा पनि ठूलो सहयोग गरेको छ। एनआरएनहरूले लगानी गरेका कम्पनीको बजार मूल्य र ब्रान्ड मूल्य निकै ठूलो भइसकेको छ। एनआरएनहरूको लगानीले नेपालको विकास प्रयासमा अत्यन्तै ठूलो योगदान गरेको लगानीका क्षेत्र र लगानी रकमबाट देख्न सकिन्छ।
नेपालमा निर्माण गर्नुपर्ने कुनै पनि परियोजना/संरचना (अस्पताल, होटल, जलविद्युत, उद्योग, केबुलकार आदि) मा सामान्यतया वित्तीय क्षेत्रबाहेक कूल लागतमध्ये २० पुँजी (इक्विटीका रूपमा) सम्बन्धित लगानीकर्ताले लगाउनैपर्ने हुन्छ। तर, कम्पनीहरूले २० प्रतिशतभन्दा बढी पुँजी राखेर आयोजना अघि बढाएको पाइन्छ।
औसत २५ प्रतिशत पुँजीका रूपमा गणना गर्दा धेरै समस्या हुँदैन। कम्पनीको सञ्चित कोष र रिटर्न अर्निङ पनि पुँजी भएकाले त्यसलाई पनि इक्विटी लगानीका रूपमा बुुझिन्छ। सूचीकृत कम्पनीको प्राप्त प्रष्ट तथ्यांक र सूचीकृत नभएको कम्पनीको कूल लगानीबाट पुँजी लगानीको हिस्सा अनुमान गरी कूल पुँजी निकालिएको हो।
त्यस्तै जलविद्युत कम्पनीका हकमा पनि औसत प्रतिमेगावाट लागत २० करोड, एनआरएन संलग्न कम्पनीमा औसत ५० प्रतिशत हिस्सा र इक्विटी लगानी २५ प्रतिशत मानेर कूल लगानी निकालिएको हो। पूर्णअध्ययन गर्दा केही प्रतिशतमात्रै फरक पर्न सक्ने सम्भावना भने रहन्छ।
क्यापिटलले पहिल्याएका ६ सय ५० मेगावाटका परियोजनामा एनआरएनहरूले लगानी गरेका छन्। एनआरएन अभियन्ताहरूका अनुसार जलविद्युत क्षेत्रमा मात्रै एनआरएनले १ हजार ५ सय मेगावाटभन्दा बढीमा लगानी गरिसकेका छन् भने थप २ हजार मेगावाट आयोजनामा लगानी प्रक्रिया अघि बढाएका छन्।
एनआरएन अफ्रिका भेन्चर्स अध्यक्ष प्रमुख हिक्मत थापाले अफ्रिकामा रहेका गैरआवासीय नेपालीले सामूहिक लगानी गर्न एनआरएन अफ्रिका भेन्चर कम्पनी खडा गरेको र त्यसमार्फत नेपालको ऊर्जा, पर्यटन, कृषि, स्वास्थ्य, बैंकिङ, पूर्वाधार, निर्माण व्यवसाय, इन्जिनियरिङ, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी भएको बताए।
‘अफ्रिकामा भएका नेपालीले अहिलेसम्म विभिन्न क्षेत्रमा गरी ५० करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन्,’ थापा भन्छन्, ‘नाइजेरियाको बहुराष्ट्रिय कम्पनी डांगोटेलगायत ठूला लगानीकर्तालाई नेपालमा लगानी गर्न लैजाने प्रयत्न निरन्तर जारी छ।’
यसअघि डांगोटेबाट ५५ करोड डलरबराबर लगानी ल्याएर नेपालमा सिमेन्ट उद्योग खोल्न लगानी बोर्डमार्फत प्रक्रिया सुरु गरिए पनि पछि रोकिएको थियो। थापाको पहलमा अफ्रिकामा रहेका १०० जना नेपालीहरुको पहलमा खोलिएको एनआरएन अफ्रिका भेन्चर्सको पुँजी १ अर्ब रुपैयाँ छ।
वैदेशिक लगानीमा एनआरएन हिस्सा
नेपालमा विदेशी लगानी भित्र्याउने लगानीकर्तालाई विदेशी संस्थागत, गैरआवासीय नेपाली र विदेशी व्यक्तिगत लगानीकर्ता गरी तीन प्रकारमा विभाजन गर्ने गरिएको छ। नेपाल राष्ट्र बैंकले वैदेशिक लगानीका विषयमा अध्ययन गरे पनि एनआरएन लगानीका विषयमा छुुट्टै अध्ययन गरेको देखिँदैन। एनआरएनए आफैं वा अन्य निकायले पनि एनआरएन लगानीबारे अध्ययन गरेको पाइँदैन।
राष्ट्र बैंकले गरेको ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सर्वेक्षण प्रतिवेदन (२०२०/२१)’ अनुसार आर्थिक वर्ष २०७७/७८ सम्म २ खर्ब २७ अर्ब ९४ करोड ६९ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको छ। त्यसमध्ये १ खर्ब २२ अर्ब ८८ करोड ५५ लाख रुपैयाँ अर्थात ५३.९ प्रतिशत कम्पनीको चुक्ता पुँजी, ७१ अर्ब ९८ करोड २१ लाख अर्थात ३१.६ प्रतिशत सञ्चित कोष (रिजर्भ) र ३३ अर्ब ७ करोड ९३ लाख अर्थात १४.५ प्रतिशत ऋणका रूपमा छ।
कूल वैदेशिक लगानीमध्ये ३३.३ प्रतिशत भारत र २.८ प्रतिशत बंगलादेशको छ। राष्ट्र बैंकले वैदेशिक लगानीका ठूला ४८ मध्ये ४७ कम्पनी, मध्यम/मझौला ३३ मध्ये २७ कम्पनी र ५ सय २३ सानामध्ये १ सय २३ कम्पनी गरी ६ सय ४ मध्ये १ सय ९७ कम्पनीलाई अध्ययनमा समेटेको थियो।
२०७० सालमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले गरेको अनुसन्धानअनुसार नौ जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर, गोरखा, मकवानपुर, कास्की, बागलुङ, सिरहा र चितवन) मा ६७ उद्योग तथा व्यवसायमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको तथ्य बाहिर आएको थियो। तर, कुन कम्पनीमा कति लगानी भन्ने खुट्टिएको थिएन। त्यसयता एक दशकसम्म एनआरएन लगानीका विषयमा तथ्यपरक आँकडा भेटिँदैन।
एनआरएनहरूको लगानी खासगरी सेवा क्षेत्रमा केन्द्रित छ। कृषि, ऊर्जा, पर्यटन, वित्तीय क्षेत्र, शिक्षा तथा स्वास्थ्य, सञ्चार क्षेत्र र त्यसको पूर्वाधारमा लगानी गरिरहेको पाइन्छ। अध्ययनअनुसार एनआरएनहरूको ५७ प्रतिशत सेवा क्षेत्रमा, उर्जा तथा जलविद्युत क्षेत्र २४ प्रतिशत, उत्पादनमूलक उद्योग १६ प्रतिशत र ३ प्रतिशत अन्य क्षेत्रमा लगानी भएको देखिन्छ। सेजन अध्ययनले एनआरएनहरूको सबैभन्दा बढी लगानी काठमाडौं केन्द्रित (७८ प्रतिशत) रहेको देखाएको छ।
एनआरएन अभियान र नेपालमा लगानी
विदेशमा आर्जित ज्ञान, पुँजी, सीप र प्रविधि परिचालन गरी नेपालको विकासमा टेवा पु¥याउने भन्दै रुस बस्ने नेपालीको सक्रियतामा सन् २००३ अगस्टमा बेलायतको राजधानी लन्डनमा एउटा भेला भयो। विदेश रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको सक्रियतामा भएको त्यो भेलाले त्यसै वर्ष अक्टोबर ११–१३ सम्म काठमाडौंमा पहिलो विश्वसम्मेलन गरी गैरआवासीय नेपाली संघ (एनआरएनए) बन्यो। त्यहीबेलादेखि विभिन्न देशमा पेसा तथा व्यवसाय गरेर बसेका नेपाली र नेपाली मूलका विदेशी नागरिकले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्दै आएको र एनआरएनए अभियान सुरु भएको सरोकारवाला बताउँछन्।
व्यवस्थापिका संसदले गैरआवासीय नेपालीसम्बन्धी ऐन, २०६४ पारित गरेसँगै २०६४ भदौ १० (२००७ अगस्ट २७) मा एनआरएनले वैधानिक मान्यता पायो। २०६६ भदौ २२ मा गैरआवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ जारी भयो। यद्यपि, त्यसअघि २०६२ भदौ १७ मा गैरआवासीय नेपालीसम्बन्धी अध्यादेश जारी भएको थियो।
एनआरएन अभियान सुरु भएसँगै विभिन्न देशमा पेसा तथा व्यवसाय गरेर बसेका नेपाली तथा नेपाली मूलका विदेशी नागरिकले नेपालमा लगानी बढाउन थालेका हुन्। यद्यपि, एनआरएनए अभियान सुरु हुनुअघि नै एनआरएनहरूले नेपालमा लगानी सुरु गरिसकेका थिए।
सन् १९९९ मा सानिमा हाइड्रोपावर लिमिटेड नामक कम्पनी खडा गरेर नेपालमा गैरआवासीय नेपालीले लगानी सुरु गरेका थिए। त्यही कम्पनीले २००५ मा २.६ मेगावाट क्षमताको सुनकोसी स्मल हाइड्रोपावर आयोजना बनाएको थियो। सानिमा हाइड्रोले पछिल्लो समय धेरै जलविद्युत आयोजनामा लगानी गरेको छ। यद्यपि, सानिमा हाइड्रो केही समयअघि सर्वसाधारण नेपालीमा सेयर जारी गर्न अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा पुगेको छ।
सानिमा समूहले नै प्रवद्र्धन गरेर २००४ मा राष्ट्रियस्तरमा सानिमा डेभलपमेन्ट बैंक खुलेको थियो। पछि २०१२ मा सानिमा बैंकमा स्तरोन्नति भएको थियो। सन् २०१० को दशकदेखि नेपाली डायस्पोराको आकार र विस्तार नाटकीयरूपमा बढेको छ।
विश्वका अधिक विकसित भागमा स्थायी प्रवासी संख्या २०२२ मा ८ लाख पुुगेको अनुमान छ। विश्वभरिका ८ लाख एनआरएनले ३५ अर्ब डलरको कारोबार गर्ने अनुमान छ। तर, एनआरएनएले २०२३ अगस्ट १० मा जारी गरेको विज्ञप्तिअनुसार एनआरएन अभियानमा ८७ देशका ९६ हजार ८ सय ५० व्यक्ति संलग्न छन्।
त्यसैगरी झन्डै ३० लाखहाराहारी आप्रवासी अस्थायी प्रकृतिको रहेको अनुमान छ। नेपाल सरकारका कूटनीतिक नियोग तीन दर्जन राष्ट्रमा सीमित भएका बेला एनआरएनएको फैलावटले विश्वभरि रहेका नेपालीबीच अपनत्व महसुस गराएको छ। विदेशमा पढ्दै र काम गर्दै अनुुभव बढाइरहेका नेपाली डायस्पोराहरूको बढ्दो आर्थिक क्षमताले नेपालको विकास प्रयासमा महत्वपूर्ण साझेदार बन्न सक्ने बलियो आधार प्रस्तुत गरेको छ।
एनआरएन अभियानले जागिरभन्दा व्यवसाय गर्नुपर्छ भन्ने चेतना विकास गरेको पाइन्छ। अहिले नेपालमा लगानी भित्र्याउन सक्रिय एनआरएन विदेश पसेको पहिलो पुस्ताका हुन्, जो आफैं संघर्षरत पनि छन्। एनआरएन अभियानले पहिलो पुस्ताकै केही व्यक्ति (उपेन्द्र महतो, जिवा लामिछाने, जुगल भुर्तेल, भवन भट्ट, शेष घले आदि) को सफलताका कथा सुनेर जागिरमा रमाएर बस्नुभन्दा सानोतिनो व्यवसायमा सक्रिय हुनुपर्छ भन्ने चेतले काम गरेको छ।
औंलामा गन्न सकिने एनआरएनहरूको सफलता र लगानीको कथाले केही समय काम गरी पैसा बचाएर व्यवसाय सुरु गर्ने लहर विश्वभरि नेपाली समुदायमा फैलिएको छ। अहिले पनि अधिकांश एनआरएन जागिर वा सानोतिनो व्यवसायमै सीमित छन्। रेस्टुरेन्टमा काम गर्दागर्दै रेस्टुरेन्ट खोल्ने, ग्यास स्टेसनमा काम गर्दागर्दै ग्यास स्टेसन खोल्ने, सुपरमार्केटमा काम गर्दागर्दै सानोतिनो पसल खोल्ने, सेक्युरिटी काम गर्दागर्दै सेक्युरिटी कम्पनी खोल्ने क्रमले तीव्र्रता पाइरहेको एनआरएन अभियानमा संलग्नको भनाइ छ।
उनीहरूका अनुसार विश्वभरि नेपालीले सुरू गरेको उद्यम÷व्यवसायको परिणाम आउन केही समय लाग्छ। जब परिणाम देखिन थाल्छ, त्यसपछि एनआरएनहरूको नेपालमा पनि लगानी बढ्न थाल्छ। अहिले देशभित्र एनआरएनको क्षमताभन्दा बढी लगानीको आश गर्दा सतहमा केही पनि नभएको जस्तो आभाष मिलेको हो।
यद्यपि, एनआरएनहरूले बिनाकुनै सर्त नेपालमा लगानी गरिरहेकामात्रै छैनन्, सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय छन्। पछिल्लो समय एनआरएनएले विदेश गएका नेपालीलाई देश फर्काउनेदेखि वैदेशिक रोजगारीबाट फर्किनेलाई नेपालमा केही न केही नयाँ काममा सक्रिय हुन भूमिका खेलेको पाइन्छ। वैदेशिक रोजगारीमा जाँदा अनिवार्य सामाजिक सुरक्षा कोषमा जोडिने व्यवस्था कार्यान्वयनमा पनि एनआरएनएको भूमिका छ। वैदेशिक रोजगारीमा रहेका ३ लाखभन्दा बढी श्रमिक कोषमा आबद्ध हुँदा विदेशबाट काम छाडेर फर्किंदा रित्तै हुने अवस्था अन्त्य गरेको छ।
वैदेशिक लगानी कि एनआरएन लगानी
मुलुकलाई आमूल परिवर्तन गर्न ठूलो लगानी आवश्यक पर्छ। त्यसका लागि विदेशी ठूला कर्पाेरेट र व्यवसायीलाई नेपाल ल्याउनुपर्छ। अहिले दातृ निकायको सहयोग वा कूटनीतिक नियोगहरूबाट मात्र विदेशी लगानी आएको छ। नेपालमा बहुराष्ट्रिय कर्पोरेट र ठूला व्यापारीलाई भित्र्याउन एनआरएनएको महत्वपूर्ण भूमिका रहन्छ।
विदेशी लगानीकर्ताले लगानी गर्नुपूर्व लगानीको वातावरण, देशको सार्वभौमिकता ‘रेटिङ’ हेर्छन्। नेपालको अहिलेसम्म रेटिङ नभएकाले विदेशी लगानी सहज भित्रिने अवस्था छैन। विगतमा विदेशी लगानी ल्याउने प्रयास हुँदा पनि नआएका उदाहरण प्रशस्तै छन्। तर, एनआरएनले लगानी गर्दा नेपालको रेटिङ छ कि छैन भनेर हेर्दैनन्। आफ्नो परिवार, साथीभाइसम्म नेपालमै हुने भएकाले लगानी गर्ने आत्मविश्वास हुन्छ।
बाहिर लगानी गर्नुभन्दा नेपालमा लगानी गर्दा एकातिर आफन्तसँग सम्बन्ध बलियो हुन्छ भने अर्कातिर आफन्तहरूले नै रोजगारी पाएर जीविकोपार्जनमा सहयोग मिल्छ। विकसित देशमा लगानीका अवसर र कमाउन सक्ने क्षेत्र जति नै धेरै भए पनि पहिलो रोजाइ आफ्नै मुलुक बन्नेमात्र होइन, विदेशी लगानी ल्याउने सेतुको काम पनि एनआरएनहरूले गर्न सक्छन्।
विदेशी लगानीको कुरा गर्दा वैदेशिक लगानीभन्दा एनआरएन लगानी बढी हितकर हुन्छ। जसरी विदेशी लगानी र त्यसमा आर्जित प्रतिफल लगत्तै जान्छ, एनआरएनएहरूको लगानी त्यसरी फिर्ता जाँदैन। किनभने, एनआरएनहरू नेपालका भूमिपुत्र हुन् र उनीहरूले आफ्नो देशप्रति जहिले पनि उत्तिकै टेवा÷सेवाभाव राखेका हुन्छन्। त्यसैले विदेशमा रहेका नेपालीलाई बिना अवरोध नेपालमा लगानी गर्न पाउने वातावरण बनाउनुपर्छ।
हट्दै गएको कानुनी झन्झट
गैरआवासीय नेपाली व्यवसायीको बुझाइमा नेपालमा लगानी गर्दा कानुनी र प्रकियागत झन्झट बिस्तारै हट्दै गइरहेको छ। सरकार र नियामकहरूले एनआरएनको मर्का बुझेर नीतिगत परिवर्तनमा आफूलाई अब्बल साबित गर्न कोसिस गरिरहेको, सम्पत्तिको सुरक्षा, उच्च नाफा र सस्तो श्रमका कारण सकारात्मक लगानीको वातावरण बन्दै गएको छ। खासगरी नेपालको सम्पत्तिसम्बन्धी कानुनलाई एनआरएनहरूले अब्बल मान्दै आएका छन्।
त्यस्तै, नेपालका लगानीकर्ताका लागि महत्वपूर्ण पक्षका रूपमा रहेको श्रमको ज्याला विश्वका धेरै राष्ट्रको तुलनामा थोरै छ। तर, सस्तो श्रम मूल्य भए पनि दक्ष श्रमशक्ति अभाव भने चुनौतीका रूपमा देखिएको छ। ज्याला सस्तो भएकाले विदेशमा कार्यरत नेपालीलाई फर्काएर काम लगाउँदा पनि लागत कम पर्न जाने बुझाइ एनआरएनहरूको छ। सस्तो श्रम मूल्यले उत्पादन र प्रतिस्पर्धामा सकारात्मक प्रभाव पार्छ।
एनआरएनए पूर्वउपाध्यक्ष रामेश्वर साह नेपालमा लगानीका वातावरण राम्रो भए पनि कर्मचारीका कारण ढिलाइ हुने गरेको बताउँछन्। नेतृत्वले विदेशी लगानी ल्याउन सहज वातावरण बनाउछौं भनेर वाचा गर्छन्, तर त्यो बोलीमा मात्र सीमित हुने र कार्यान्वयन नगर्ने परिपाटीले समस्या सिर्जना गरेको साहको भनाइ छ।
‘नीतिगतरूपमा सरकार र राजनीतिक दलका नेताहरूले राम्रै कुरा बोलिरहेका हुन्छन्,’ साह भन्छन्, ‘देशमा लगानी चाहिएको छ। सबै कुरा सकारात्मक छ। जब कर्मचारीभित्र विषय प्रवेश गर्छ, त्यसपछि दुःखका दिन सुरु हुन्छ र लगानीकर्ता के नेपाल बस्नु भनेर फर्किने सोच बनाउँछन्।’
कसैले लगानीका लागि पैसा लिएर आउँछ भने उसले चाहेको जस्तो वातावरण बनाउन सक्नुपर्छ। तर, कुनै उद्योग–व्यवसाय सञ्चालन अनुमति लिन ठूलै पापड पेल्नुपर्ने कारण लगानीकर्ता दिक्क भएर फर्किन खोज्छन्। प्रधानमन्त्री र मन्त्री तहबाट गरिएका वचनबद्धता कर्मचारीको तल्लो तहसम्म नपुग्दा कार्यान्वयन नभएको र हरेक स्वीकृतिका लागि व्यक्तिगत शक्ति उपयोग गर्ने बाध्यता अझै रहेको साहको भनाइ छ।
‘कर्मचारीतन्त्रले किन काम भइरहेको छैन भन्ने महसुस नगरेसम्म लगानीको वातावरण बन्दैन,’ साह थप्छन्, ‘नेपालमा उद्योग स्थापनाका लागि आवश्यक जग्गादेखि श्रमिक र कच्चापदार्थसमेत अन्य देशको तुलनामा महँगो रहेको र उद्योगसम्म पुग्ने पूर्वाधार बनाउने सरकारी घोषणा कार्यान्वयन नहुँदा समस्या भएको छ।’
अर्को, नेपालमा अन्य देशको तुलनामा कर कानुन र कर प्रणाली सहज रहेको एनआरएनहरूको भनाइ छ। विकसित राष्ट्रमा लगानी गर्दा धेरै कर तिर्नुपर्ने र नेपालमा तुलनात्मकरूपमा कम कर भएकाले नाफा बढी कमाउन सकिने अवस्था छ। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ जारी भएसँगै सरकारले २०७६ जेठमा यसअघिको २ करोड रूपैयाँको न्यूनतम सीमा बढाएर ५ लाख अमेरिकी डलर अथवा ५ करोड रुपैयाँभन्दा कम विदेशी लगानी ल्याउन प्रतिबन्ध लगाएको थियो।
लगानीमा गरिएको न्यूनतम सीमाका कारण एनआरएनहरूले सहज लगानी भित्र्याउन नसकिएको बताउँदै आएका थिए।
एनआरएनहरूको माग सम्बोधन गर्दै सरकारले फेरि २०७९ कात्तिकमा एनआरएनका लागि जतिसुकै रकम ल्याउन पाउने गरी कुनै सीमा तोकेन भने विदेशी लगानीकर्ताका लागि पनि २ करोड रुपैयाँको न्यूनतम सीमा तोक्यो। सरकारले व्यक्तिगतमात्र नभई एनआरएनहरूले नेपाली कानुनअनुसार दर्ता भएको कुनै पनि इन्भेस्टमेन्ट कम्पनीमार्फत जतिसुकै लगानी गर्न सक्ने बाटो खोलिदिएको हो।
यसले एनआरएनहरूले स–सानो लगानी पनि नेपाल भित्र्याएर ग्रामीणस्तरमा सहज लगानी गर्न सक्ने भएका छन्।
एनआरएन नेपाल डेभलपमेन्ट फन्डका प्रमुख कार्यकारी अधिकृत सिइओ) अनलराज भट्टराई एनआरएन लगानीलाई अवसर र माया दर्शाउने मौकाका रूपमा लिनुपर्ने बताउँछन्। ‘अरू विदेशी लगानीकर्ता र एनआरएनबीच फरक पर्छ। विदेशी लगानीकर्ताले सामान्य अवस्थामा पनि लगानी र आर्जित नाफा जुनसुकै बेला फिर्ता लग्छन्,’ भट्टराई भन्छन्, ‘तर, एनआरएनले लगानी फिर्ता लग्ने त कुरै हुँदैन, आर्जित नाफा पनि अतिआवश्यक अवस्थामा बाहेक फिर्ता लग्दैनन् र पुनः लगानी गर्छन्।’
अहिलेसम्मको अवस्था हेर्दा एनआरएनहरूको लगानीको राम्रो पक्ष भनेको पैसा नेपाल आए पनि सामान्यतया वैधानिक बाटोबाट बाहिरिएको अवस्था छैन। कतिपय अवस्थामा एनआरएनले ल्याएको लगानीको लेखांकन पनि भएको छैन। ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५, विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९, धितोपत्रसम्बन्धी ऐन २०६३ लगायत विभिन्न ऐन तथा नियमावली संशोधन गरेर एनआरएन लगानी खुकुलो बनाउनुपर्छ,’ उनी भन्छन्, ‘एनआरएन लगानीलाई टिप्न मिल्ने फलका रूपमा विकास गरेर अधिकतम फाइदा लिन/दिनतर्फ सरकार र एनआरएन दुवै लचक हुनुपर्छ।’
विश्वबजारमा एनआरएनहरूले गर्ने कारोबारको ५ प्रतिशत रकम प्रत्येक वर्ष नेपाल ल्याउन सकियो भने आमूल परिवर्तन गर्न सकिने भट्टराईको कथन छ। अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सुविधासहित अवकास जीवन÷बिदा घरको अवधारणामा एनआरएनहरूलाई नेपालमा घरजग्गामा लगानी गर्न दिनुपर्छ। यसले दीर्घकालमा सकारात्मक दूरगामी असर पार्छ।
छैन ठूला परियोजनामा एनआरएन लगानी
एनआरएनले देखिने खालको ठूलो परियोजना (मेगा प्रोजेक्ट) अघि बढाउन सकेको छैनन्। तथापि, लगानीको वातावरण छैन भन्दा भन्दै प्रत्यक्ष÷अप्रत्यक्ष लगानी गरिनैरहेका छन्। तर, यकिन तथ्यांक अभाव र मुखाले प्रवृत्तिले एनआरएनको लगानी ओझेलमा परिरहेको गएको छ। पूर्वाधार विकास क्षेत्रमा गरेको लगानी प्रतिफल पाउन लामो समय लाग्ने भएकाले छोटो समयमै प्रतिफल प्राप्त हुने व्यावसायिक क्षेत्रमा एनआरएनहरूको आँखा गएको छ।
ठूला परियोजना अगाडि बढाउन सामूहिक प्रयासका रूपमा अघि सारिएको १० अर्ब रुपैयाँको कोष (फन्ड) सरकारकै ढिलासुस्ती कारण अघि बढ्न सकेको छैन। एनआरएनले संस्थागतरूपमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको ‘एनआरएन नेपाल डेभलपमेन्ट फन्ड’ घोषणा गरे पनि तीन वर्षभन्दा लामो समय भइसक्यो। फन्डमा सरकारको ५ प्रतिशत रहने छ भने ९५ प्रतिशत हिस्सा गैरआवासीय नेपालीको रहने छ। कोषमा ३५ करोड रुपैयाँ संकलन भइसकेको छ।
एनआरएन फन्ड सूचीकरणका केही समयअघि मात्रै अनुमति दिएको छ। अब एनआरएन फन्ड सञ्चालन प्रक्रियाबारे नेपाल धितोपत्र बोर्डले निर्देशिका जारी गर्नुपर्छ। त्यसपछि नेप्सेमा सूचीकृत भई कारोबार सुरु भए पनि फन्डको थप रकम उठाउन बाटो खुल्छ।
फन्ड कारोबार विदेशी मुद्रामा हुने र भुक्तानी नेपाली रुपैयाँमा सकिने व्यवस्था गरी अघि बढ्ने छ। फन्डमा राखिने रकम उठाउन सूचीकृत भएपछि विश्वका प्रमुख सहरमा एनआरएनएको अग्रसरतामा ‘रोड शो’ गरिने छ। फन्डको सेयर कम्पनीका कर्मचारीलाई पनि दिइने छैन। फन्डको रकम उठाएपछि बल्ल कस्ता पुर्वाधार आयोजनामा लगानी गर्ने भनेर खोजी हुनेछ।
तत्कालिन एनआरएनए अध्यक्ष भवन भट्टले एनआरएनहरूले काठमाडौं–कुलेखानी सुरुङमार्ग सामूहिकरूपमा बनाउने भनेका थिए। सुुरुङमार्ग बनाउन आफूले १ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा निकै तामझामपूर्वक गरे। त्यसपछि काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माण गर्ने जिम्मा लिएको नेपाल पूर्वाधार विकास कम्पनी अध्यक्ष पनि भए। तर, सुुरुङमार्गको कथा अघि बढेन। भट्टले नै नेपालमा बिबी एयरवेज सञ्चालन गर्ने गरी ठूलो लगानी गरे, तर नियमित सञ्चालन गर्न नसकेपछि अहिले बन्द छ।
कसको लगानी कहाँ?
बालुवाटारमा ५ रोपनी क्षेत्रफलमा आफ्नै भवन निर्माण गरेको एनआरएनएले जग्गा खरिद र भवन निर्माणमा करिब ३३ करोड रुपैयाँ खर्चिएको छ।
नेपालमा एनआरएनहरूका रुपमा लगानी भित्र्याउने काममा सानिमा समूह अग्रपंक्तिमा छ। सानिमाको सुरुवात रुसमा व्यवसाय गरिरहेका अरुणकुमार ओझा, टेकराज निरौला र जिवा लामिछाने मिलेर सन् १९९९ मा भएको थियो। डा. उपेन्द्र महतो, खेम लामिछाने, विनयकुुमार श्रेष्ठ, डा. निरजगोविन्द श्रेष्ठ, ओल्गा ओझा, रामकृष्ण शाह र घनश्याम थापा जोडिएपछि सानिमा समूहको पहिलो कम्पनीका रूपमा सानिमा हाइड्रोपावर कम्पनी (२.६ मेगावाट सुनकोसी सानो) अघि बढेको थियो।
जुन कम्पनीको सर्वसाधारण (स्थानीय र कर्मचारीसमेत) लाई सेयर बिक्री गरेपछि चुक्ता पुँजी ९८ करोड रुपैयाँ हुनेछ र हाल सेयर बिक्री गर्ने अनुुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइएको छ।
कम्पनीमा ८० प्रतिशत संस्थापक सानिमा समूहको छ। सानिमा समूहले सानिमा बैंक, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, सानिमा जिआइसी इन्स्योरेन्स, ७ सय ५० शैयाको मेडिसिटी अस्पताल, १ सय शैयाको ग्रिनसिटी अस्पताल लगायतमा लगानी गरेको छ। मेडिसिटीमा मात्रै १५ अर्ब रुपैयाँ लगानी भएको छ। सानिमाको कूल सेयर पुँजी (इक्विटी) साढे १९ अर्बमध्ये सानिमा समूहको मात्रै हिसा साढे १२ अर्बबराबर हुन्छ।
सानिमा माई हाइड्रोपावर (एसएचपिसी) ले २.२ मेगावाटको माई र ७ मेगावाटको माई क्यास्केड आयोजना बनाएको छ। नेप्सेमा सूचीकृत एसएचपिसीको २०८० असारमा ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार चुक्ता पुँजी, रिटर्न अर्निङ १ अर्ब १६ करोड ९० लाख २३ हजार र १ अर्ब २९ करोड ५० लाख ६६ हजार सञ्चित कोष गरी कूल पुँजी कोष ५ अर्ब ५५ करोड ३३ लाख ४० हजार रुपैयाँ छ।
एसएचपिसीले स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन (२८.१ मेगावाटको तल्लो लिखु खोला) मा ४५ करोड, सानिमा मिडिल तमोर (७३ मेगावाटको मध्यतमोर) हाइड्रोपावरमा ५३ करोड ३२ लाख, १४.३ मेगावाटको माथिल्लोे मैलुुङ खोला जलविद्युत आयोजनामा २३ करोड ७५ लाख, सानिमा जुम (५६ मेगावाटका जुम खोला) हाइड्रोपावरमा ३ करोड ३४ लाख ४७ हजार ५ सय र बाबरी कन्स्ट्रक्सनमा २ करोड रुपैयाँ लगानी गरेको छ।
सानिमा समूहअन्तर्गत एसएचपिसी, सानिमा हाइड्रोपावर, सानिमा बैंकलगायतको मुख्य हिस्सा लगानी रहेको माथिल्लोे मैलुुङ खोला जलविद्युत आयोजनाको चुक्ता पुँजी १ अर्बमध्ये २५ प्रतिशत हिस्सा सर्वसाधारणमा छ। १३ मेगावाटको मैलुुङखोला, १७ मेगावाटको मैलुुङ बीसमेत गरी २ सय ३३ मेगावाट विद्युत उत्पादनका नौ कम्पनी सानिमा समूहले होल्ड गरेको छ।
सानिमा समूहको सानिमा प्रालि, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, सोपान मल्टिपल कम्पनी, सिद्धपोखरी टि इस्टेट, सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ, अमला इन्भेस्टमेन्ट, बाबरी कन्स्ट्रक्सन (निर्माण कम्पनी), मुना कृषि लिमिटेड, एनआरएन इन्भेस्टमेन्ट लिमिटेड, ठमेलमा होटल माला आदिमा लगानी छ। सार्वजनिक निष्कासन गर्न लागेको कान्तिपुर टेलिभिजन नेटवर्कमा ४४ करोड रुपैयाँ लगानी गरेको सानिमा समूहले १ सय शैयाको मेडिकेयर नेसनल हस्पिटल एन्ड रिसर्च, कान्तिपुर इन्जिनियरिङ कलेज, एक्मी इन्जिनियरिङ कलेज, निसर्ग बाटिका स्कुल र धुम्बाराहीमा चारतारे होटल अकामा सञ्चालन गरिरहेको छ। होटल २ अर्ब ९ करोड रुपैयाँमा निर्माण भएको थियो।
त्यस्तै एनआरएन पूर्वअध्यक्ष जिवा (जीवनाथ) लामिछाने र नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल मिलेर लुम्बिनीमा गौतमबुद्ध एयरपोर्ट होटल सञ्चालनमा छ।
उपेन्द्र महतोको सानिमा समूहका अतिरिक्त पतञ्जली योगपीठको संयुक्त लगानीमा पतञ्जली आयुुर्वेद उद्योग, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेडिसिटी बयोधा, माछापुच्छ«े बैंक, नेको इन्स्योरेन्स कम्पनीलगायतमा लगानी छ। ३ अर्ब बढी लगानी भएको २ सय शैयाको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा महतोको २५ प्रतिशत हिस्सा छ।
१ सय शैयाको मेडिसिटी बयोधा (बयोधा नारायणी हस्पिटल) १ अर्ब रुपैयाँमा महतोले किनेका थिए। माछापुुच्छ«े बैंकमा उपेन्द्र महतो समूहको २६ प्रतिशत सेयर स्वामित्व छ। २०८० असारसम्म १६ अर्ब ३३ करोड ३० लाख रुपैयाँ कूल लगानी छ। यसरी हेर्दा एनआरएन समूहको ४ अर्ब २५ करोड रुपैयाँ हुन्छ।
महतो समूहले ७.८ मेगावाटको सुपरमाई हाइड्रोपावर र नेको इन्स्यारेन्समा लगानी गरेको छ भने सिरहामा १ सय शैयाको फूलकमारी महतो मेमोरियल अस्पताल बनाएको छ। महतोको रुबिन पावर, घनश्याम थापाको आशा इन्भेस्टमेन्ट, कूल आचार्यको होलिकाउ इन्भेस्टमेन्ट, जिवा लामिछानेको क्यास्केड इन्भेस्टमेन्ट छन्। एनआरएनहरूले व्यक्तिगत र सामूहिकरूपमा इन्भेस्टमेन्ट कम्पनी खोल्ने क्रम पनि तीव्र छ।
एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टमा नाम चलेका एनआरएनहरू जिवा लामिछाने, एनआरएन अस्ट्रेलिया हाइड्रो ग्रुप, नेपाल इन्भेस्टमेन्ट कम्पनी, कृष्णप्रसाद पाण्डे, कमल लामिछाने, कोरियाका विनोद कुँवर, केशवप्रसाद सापकोटा, महेशकुमार श्रेष्ठ, रामेश्वर साह र उपेन्द्र महतोलगायतको मुख्य लगानी छ। ७० प्रतिशत हिस्सा संस्थापक समूहमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टमा २०८० असारमा १ अर्ब २२ करोड ३२ लाख ११ हजार चुक्ता पुँजी र ५ करोड ३५ लाख ९९ हजार लगानी पुनर्मूल्यांकन सञ्चित कोष २९ करोड ४४ लाख ५९ हजार रुपैयाँ छ।
एनआरएन इन्फ्रास्ट्रक्चरले २०८० असारसम्म हिमालयन पावर पार्टनरमा ३४ करोड २७ लाख ८४ हजार, स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन २६ करोड २७ लाख, सानिमा मिडिल तमोर हाइड्रोपावर ३५ करोड ६५ लाख ९९ हजार, माथिल्लो मैलङुखोला जलविद्युत २ करोड १६ लाख ३२ हजार, संयुक्त ऊर्जा ९३ लाख ३ हजार, कुमारी बैंक ६ करोड २ लाख ६१ हजार, नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था ९ करोड ७५ लाख ७९ हजार, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था २ करोड २३ लाख ७४ हजार, नेरुडे लघुवित्त वित्तीय संस्था २ करोड ९७ लाख ९० हजार, एचआइडिसिएल ७ करोड ६० लाख ७२ हजार र नेसनल फन्ड म्यानेजमेन्टमा १ करोड ५० लाख रुपैयाँ लगानी गरेको छ।
एनआरएन इन्फ्रास्ट्रक्चरले नेपालका विभिन्न सहरमा ‘स्मार्ट एनआरएन आवास कार्यक्रम’ विकास गर्ने घोषणा गरे पनि अघि बढेको देखिँदैन। २.५ मेगावाटको सयपत्री हाइड्रोपावरमा एनआरएनए अध्यक्ष बद्री केसीलगायतको लगानी छ भने कन्टिनेन्टल टि एन्ड एक्सपोर्ट र ग्लोबल इन्भेस्टमेन्ट फाउन्डेसनमा पनि केसीको लगानी छ।
चितवनमा रोयल टुलिप रिसोर्ट सञ्चालन गरेका रामेश्वर साह केटिएम गु्रपमा संलग्न छन्। केटिएम ग्रुपअन्तर्गत केटिएम सेक्युरिटी सर्भिसेस, केटिएम नेपाल, केटिएम मोटर, केटिएम फेसिलिटी म्यानेजमेन्ट, केटिएम एचआर सोलुसन, केटिएम टे«निङ एन्ड कन्सल्टेन्सी सर्भिसेस, केटिएम होल्डिङ, केटिएम स्टोर, केटिएम इन्टरनेसनल लगायत कम्पनी छन्।
दक्षिण कोरियाका विनोद कुँवरको अग्रसरतामा धौलागिरि कालिका हाइड्रो कम्पनी, म्याग्दी इन्भेस्टमेन्ट कम्पनी, ग्लोबल फ्रेन्डसिप क्यापिटल, एनआरएन हङकङ समूह मिलेर २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजना बनाइरहेका छन् भने २०.७३ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना (सांग्रिला हाइड्रोपावर) खगेन्द्र न्यौपाने, आरके शर्मा, राज रेग्मी, नविन कँडेल, रविन गुरुङलगायत समूहले बनाइरहेको छ।
मलेसियाका खगेन्द्र न्यौपानेलगायत समूहले ५.५ मेगावाटको बुढीगण्डकी हाइड्रोपावर र ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत कम्पनी (विकास हाइड्रोपावर) लगायतमा पनि लगानी गरेको छ।
८५ करोड ४८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बेस्ट फाइनान्समा राजेन्द्रकुमार (आरके) शर्मा समूहको ४० प्रतिशतभन्दा बढी लगानी छ। आरके समूूह समस्याग्रस्त जनरल फाइनान्समा प्रवेश गरेको संस्थालाई सुधार गर्दै बेस्ट फाइनान्स बनाइ सिनर्जी फाइनान्स गाभ्न सफल भएका थिए।
शर्माकै समूहले आइसक्रिम बनाउने उद्योग क्रिएटिभ मिल, केइएफ ब्रान्डममा आइसक्रिम बेच्ने आउटलेट क्रिम मिल सञ्चालनमा छ। पाल्पामा सत्यवती केबुलकार (अध्यक्ष) बनाउन सक्रिय शर्माका पिजन इन्जिनियरिङ एन्ड प्रोजेक्ट र भैरवबाबा हाउजिङ एन्ड कन्स्ट्रक्सन छन्। शर्माले जलविद्युत र रियल इस्टेट क्षेत्रमा लगानी गरेका छन्। २१.३ मेगावाटको ठूलो खोला हाइड्रोपावर प्रोजेक्ट (संयुक्त इनर्जी) र व्यक्तिगत एनआरएनहरूको लगानी छ।
अमेरिकामा रहेका ज्ञानेन्द्र खड्काले नेपालमा ग्यापु मार्केट प्लेस (अनलाइन व्यापार), पोखरामा कल्चर रिसोर्ट, चितवनमा लटौली प्याराडाज रिसोर्ट सञ्चालन गरिरहेका छन् भने चितवनमै होटल बनाउँदै छन्। हङकङका कालु घले होटल रोयल सिङ्गेलगायत अन्य व्यवसायमा सक्रिय छन् भने अशोख सुरेखा व्यापार व्यवसायमा सक्रिय छन्। कतारका महेन्द्र चौलागार्इं नेपालमा रियल इस्टेट क्षेत्रमा १ अर्ब लगानी गर्ने तयारीमा छन् भने जापानका लीला कँडेलले सामाखुसीमा ६० करोड रुपैयाँ खर्चेर विशाल कम्प्लेक्स बनाइरहेका छन्।
जापानका प्रवेश राजभण्डारी र दिलु खत्रीको पोखरा हेभन रिसोर्ट, पर्वतको लालटिन रिसोर्ट र गोजी ट्राभल्स सञ्चालनमा छ भने पोखरामा होटल (नाम नजुराइएको) बनाउँदै गरेको स्थिति छ। बेलायतमा सक्रिय उत्तम नेपाललगायतले ग्लोबल आइएमई, आइएमई लाइफ, चन्द्रागिरि हिल्स, हाथवे इन्भेस्टमेन्ट, माउन्टेन इनर्जी, हिमाल पावर पार्टनर, २५.४ मेगावाटको सुपर आँधिखोला जलविद्युत आयोजनालगायतमा लगानी गरेका छन्।
बेलायतका राजन कँडेलले दि ब्रिटिस कलेज चलाउँदा अमेरिकामा रहेका रुद्र पाण्डेलगायतले नेपालमा डियरवाक गु्रप (डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी, डियरवाक सिफल स्कुल, डियरवाक कम्पवेर) चलाइरहेका छन्। एनआरएनएका पूर्वउपाध्यक्ष तथा अमेरिकामा रहेका सोनामा लामाले मुस्ताङमा ५५ करोड लागतमा ल्हो मुस्ताङ हिमालयन रिसोर्ट र २ अर्ब लगानीमा ठमेलमा चारतारे स्तरको बुटिक होटल ल्हो मुस्ताङ बनाएका छन्।
रुसमा व्यवसाय गरिरहेका वैद्यनाथ शर्माले जनकपुरमा तीनतारे होटल सीताशरण बनाउँदा जापानका चीरञ्जीवि थापाले मानभवनमा चारतारे होलिडे इन एक्सपे्रस एन्ड स्वीट्स बनाएका छन्।
एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले नक्सालमा होटल सेराटन बनाइरहेका छन्। सुरुमा ८ अर्ब रुपैयाँ लगानी गर्ने भनिए पनि पछि लागत बढेर १४ अर्ब पुुगेको छ। पुष्पराज अधिकारीले पोखरामा रुपाकोट रिसोर्ट बनाएका छन्। बुद्धि सुवेदी, कूल आचार्य, दीपक गौतम, डा. केशव पौडेलहरू मिलेर भैरहवाको पाँचतारे स्तरको टाइगर प्यालेस रिसोर्ट करिब ५ अर्ब रुपैयाँमा किनेका छन् भने हङकङ आधार बनाएका जगन्नाथ ज्ञवाली समूहले ठमेलमा रमदा इन्कोर (होटल) चलाएको छ।
ज्ञवाली समूहको कुमारी बैंकमा पनि लगानी छ। कतारमा आधारित आइकेबिएच गु्रप (सिइओ अब्दुुल बसिद) ले हालै नेपालमा बेलाको ब्रान्डका विभिन्न २८ वस्तु बिक्री सुरु गरेको छ।
बेल्जियमका अर्जुन श्रेष्ठले चितवनमा १ अर्ब रुपैयाँभन्दा बढी लगानीमा ओममेगाश्री औषधी उद्योग खोलेका छन् भने अमेरिकाका ल्हाक्पा शेर्पाले चितवनमा शेर्पा बियर फ्याक्ट्री खोलेका छन्। बेलायतका उत्तम नेपालको चन्द्रागिरि हिल्स, हाथवे इन्भेस्टमेन्ट नेपाल, ग्लोबल आइएमई बैंक, आइएमई लाइफ इन्स्यारेन्स लगायतमा लगानी छ।
चन्द्रागिरि हिल्स नेप्सेमा सूचीकृत कम्पनी हो भने हाथवे इन्भेस्टमेन्टले सर्वसाधारणमा सेयर बाँडफाँट गरेकाले सूचीकृत हुने चरणमा छ। एनआरएनएका पूर्वअध्यक्ष देवमान हिराचनको ग्लोबल इन्भेस्टमेन्ट अर्गानिक प्रडक्ट्स (अर्गानिक कृषि र पर्यटन) मा लगानी छ भने पूर्वअध्यक्ष भवन भट्टको युनाइटेड बु्रअरी, कारोबार दैनिक र धुलिखेल माउन्टेन रिसोर्ट (डिएमआर) मा लगानी छ।
भट्टकै बिबी होल्डिङ्स र बिबी एयरवेज नामक कम्पनी भए पनि ती अहिले सक्रिय देखिँदैनन्। त्यस्तै, अमेरिकामा सक्रिय शंकर उप्रेतीले हाम्रो पात्रो, हाम्रो पात्रो रेमिट र हाम्रो पे डिजिटल वालेट सञ्चालन गरेका छन्। उता, सार्वजनिक निस्काशन प्रक्रियामा रहेको सोनापुर मिनरल्स् एण्ड आयलमा म्याकडोनाल्ड अस्ट्रेलियामा कार्यरत एलिसा पाण्डेलगायतको लगानी छ।
मकाउ, जर्मनीलगायतमा क्रियाशील विशाल पण्डित र हङकङमा क्रियाशील हर्क गुरुङ मिलेर सुन्दर यातायात, सुन्दर अटो इन्जिनियरिङ (एसेम्बल प्लान्ट), सुन्दर ट्रेडिङलगायतमा लगानी गरेका छन्। ती कम्पनीमा उनीहरूले १ अर्बभन्दा बढी लगानी गरेका छन्।
एनआरएन अफ्रिका भेन्चर्सका अध्यक्ष हिक्मत थापाको अग्रसरतामा खानेपानी ट्यांकी, गोबर ग्यास प्लान्ट, र सुलभ चर्पीलगायतका बस्तु उत्पादन गर्ने पोखरा वास सञ्चालनमा छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, २७.१ मेगावाटको दोर्दीखोला हाइड्रोपावर (हिमालय पावर पार्टनर) र १५ मेगावाटको ठूलो खोला हाइड्रोपावरमा अफ्रिकाका एनआरएनहरुको लगानी छ। उता, निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलमा सतिशलाल आचार्यलगायतको लगानी छ।
महेशकुमार श्रेष्ठको लगानी नेपाल इन्भेस्टमेन्ट बैंक, सिटी एक्सप्रेस मनी ट्रान्सफर र विभिन्न जलविद्युत कपनीहरुमा लगानी छ। त्यसैगरी नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुुरुङले ‘स्टार्टअप’ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी ‘हिमालय जेट’ सञ्चालन गर्ने हालै सार्वजनिक गरेका छन्।
एनआरएनहरू कुखुरा फार्म, स्ट्रबेरी र किवी खेती, कृषि उद्योग, स–साना रेस्टुरेन्टदेखि लगानीका अन्य क्षेत्र सूचना–प्रविधि, ‘ई–कमर्स’ तथा ‘रियल इस्टेट’ लगायत आवास विकास क्षेत्रमा पनि लगानी विस्तार गर्न सक्रिय छन्। एनआरएनहरूले काठमाडौं उपत्यकामा २ रोपनी र उपत्यकाबाहिर नगर क्षेत्रमा ८ कट्ठा जग्गा किन्न सक्ने व्यवस्था छ। तर, एनआरएन नागरिकता लिएसँगै नेपाली नागरिकसरह सम्पत्ति जोड्न र व्यापार–व्यवसाय गर्न सक्ने हुँदा घरजग्गा व्यवसायमा थप लगानी गर्ने बाटो खुलेको छ।
लगानी भनेको जोखिम हो। जोखिमको ग्यारेन्टी गर्न सकिँदैन। लगानीकर्ताले जलविद्युत क्षेत्रमा विद्युत खरिद सम्झौता (पिपिए) भए काम गर्न सजिलो र त्यो फाइदाजनक हुने आशामा धेरै एनआरएनहरू जलविद्युत क्षेत्रमा आकर्षित भएको पाइन्छ। त्यसैगरी लामो समय जलविद्युत क्षेत्रमा अन्य क्षेत्रको तुलनामा लगानीको स्रोत नखोज्ने सरकारको निर्णयले पनि थप हौसला मिलेको छ। लगानीको स्रोत नखोजिने भएपछि धेरै लगानीकर्ता जलविद्युततर्फ आकर्षित भए।
नेपाली मूलका विदेशीलाई प्राथमिकता किन नदिने?
राज्यले नेपाली मूल भएका तर पुस्तौंदेखि विदेश बसोबास गर्दै आएका नेपाली समुदाय (म्यानमार, थाइल्यान्ड, मलेसिया, मौरिसस, बु्रनाइलगायत) लाई बेवास्ता गर्दै आएको छ। एनआरएनको चर्चा गरिरहँदा ती देश बस्ने नेपालीलाई नेपालसँग जोड्ने वातावरण बनाउनुपर्छ। नेपालीपन जोडिनेबित्तिकै संसारभरि छरिएका नेपालीलाई नेपालमा लगानी गर्न उत्प्रेरणाको काम गर्छ। पछिल्लो समय विश्वका धेरै विकसित देशले गरिब देशका जनतालाई केही लाख डलर लिएर आएर स–परिवारलाई नागरिकता दिने उद्घोष गरिरहेका छन्।
धेरै देशले सहुलियतपूर्ण नागरिकता, भिसा व्यवस्था र आकर्षक लगानीका अवसर प्रदान गरेर डायस्पोराहरूलाई बढिभन्दा बढी अवसर दिने गरी नीति तर्जुमा गरिरहेका छन्। यस्तो अवस्थामा नेपालले पनि विदेशमा रहेका एनआरएनलाई मात्र होइन, नेपाली मूलका विदेशीलाई पनि नेपाली बैंकमा डलर खाता खोल्दा बढी ब्याज उपलब्ध गराउने, नेपालमा आउने पर्यटकलाई फ्रि भिसा दिनेजस्ता विशेष सुविधा दिएर लगानी भित्र्याउने वातावरण बनाउनु आवश्यक छ।
उच्च शिक्षा, रोजगारी र व्यापार–व्यवसायका लागि मुलुक छाड्ने क्रम प्रवृत्तिकै रूपमा विकास भइरहेको छ। आफ्नो जन्मभूमि छाड्ने बाध्यता सिर्जना हुनु राज्यको कमजोरी हो। जन्मभूमिबाट गएका नेपालीले कर्मभूमिबाट सहयोग गर्ने हात फैलाउनु शुुभ संकेत हो। अहिले एनआरएनहरूले गरेको लगानीलाई ‘एक थुकी सुकी सय थुकी नदी’ का रूपमा बुझ्नु उपयुक्त हुन्छ।
विदेशीले लगानी सूचीमा नराखिरहेका बेला एनआरएन लगानीबाट नेपाललाई ठूलो राहत मिल्न सक्छ। कमजोर धरातलबाट ठूलो अपेक्षा राख्नु आफैंमा घातक हुन सक्छ किनभने नेपालमा अहिले क्रियाशील अधिकांश एनआरएन पहिलो पुस्ताका हुन्। पहिलो पुस्तालाई खानबस्नकै समस्या रहने भएकाले ठूलो फन्ड र जनशक्ति परिचालन गर्न समस्या हुन्छ। पुस्ता हस्तान्तरणसँगै लगानीको दायरा थप फराकिलो बन्दै जाने सम्भावना रहन्छ।
पछिल्लो समय राज्यले एनआरएनलाई प्राथमिकता दिन थालेको आभाष पनि मिल्छ। पछिल्लो समय (२०७४ देखि) प्रधानमन्त्रीको राजकीय भ्रमणमा एनआरएनए प्रतिनिधिलाई सहभागी गराउन थालिएको छ। यसले सरकारले गैरआवासीय नेपालीलाई साथ लिएर हिँड्न खोजेको पनि देखाउँछ। एनआरएनहरूको मुख्य मागका रूपमा रहेको नागरिकता समस्या समाधान भइसकेको छ।
अब नागरिकता वितरण प्रक्रियामा प्रवेश गरेको छ। एनआरएनहरूको लगानी भित्र्याउन सरकारी तदारुकता आवश्यक पर्छ। त्यसका लागि एनआरएनएका प्रतिनिधिसहितको छुट्टै संयन्त्र बनाएर यथाशक्य छिटो गैरआवासीय नेपालीको लगानी भित्र्याउन थप पहल गर्नुु आवश्यक छ।
वैदेशिक लगानीसम्बन्धी कानुनले गैरआवासीय नेपालीलाई अझै पनि विदेशी नागरिकसरहको व्यवहार गर्छ। एनआरएनहरूले पुँजीबजारमा लगानी गर्ने अवसर सहजरूपमा पाएका छैनन्। विश्वबजारमा सबैभन्दा पहिला नेपाल चिनाउने र नेपालप्रति आकर्षित गराउने क्षमता राख्ने एनआरएनहरूले आफ्नो भूमि भनेर पैसा पठाउँदा अतिरिक्त लाभ र सम्मानको हकदार हुने स्थिति पैदा गर्न सके लगानीका लागि थप हौसला मिल्छ। नेपालीले त्याग्न नसक्ने आफ्नो परिवारमुखी चरित्रलाई पुँजीकरण गर्न सक्नुपर्छ।
नागरिकताको विषय सम्बोधन भएसँगै नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको वातावरण बनेकाले एनआरएनका सबै माग पूरा भएको संस्थापक अध्यक्ष महतोको भनाइ छ। गैरआवासीय नेपालीले नेपालमा लगानी गर्दाको सबैभन्दा ठूलो प्रश्न लगानी सुरक्षित हुन्छ कि हुँदैन, गरेको लगानी चाहिएका बेला फिर्ता लैजान (रिपार्टेसन गर्न) सकिन्छ कि सकिँदैन भन्नेजस्ता विषय पनि नागरिकता प्राप्तिसँगै समाधान हुने अपेक्षा गरिएको छ।
विश्वभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्न र विदेशमा कमाएको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन थप दायित्वबोध गर्न आएको भन्दै महतो भन्छन्, ‘मूलमुद्दा सकियो। अरू प्रक्रियागत र व्यावहारिक उल्झन काम गर्दै जाँदा सल्टाउँदै जान सकिन्छ। त्यो कुनै ठूलो समस्या होइन।’
नेपाली प्रवासनको मूल कारण, नेपालमा गरिखाने स्थिति नहुनु भन्ने आमबुझाइ छ। नेपाल आफूले उपयोग गर्न नसकेको मानवीय पुँजीलाई विदेशिनबाट रोक्न पनि नेपालमा ठूलो लगानी आवश्यक हुन्छ। त्यसका लागि नेपालमा लगानी गर्न इच्छुक गैरआवासीय नेपालीलाई सहज तरिकाले क्षेत्रगतरूपमा बाटो खोलिदिनुपर्छ। कहरमा विदेश जाने र दुःखमा जिएर बचेको पैसा विप्रेषणका रूपमा पठाएर चलेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमैत्री अर्थतन्त्रमा परिणत गर्न धेरैभन्दा धेरै वैदेशिक लगानी हुने माहोल खडा गर्नुपर्छ।
सामाजिक कार्यमा सक्रियता
विदेशस्थित अधिकांश देशमा रहेका नेपालीले सामूहिक तथा व्यक्तिगतरूपमा लगानीमात्रै नगरेर सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय भइरहेको पाइन्छ। कतिपय व्यक्तिले सामाजिक संस्था नै खोलेर त्यसमार्फत सामाजिक कार्य गरिरहेका छन् भने कतिपय सम्बन्धित देशमा रहेका व्यक्ति मिलेर नेपालका विभिन्न क्षेत्रमा सामाजिक कार्यक्रममा सहयोग गरिरहेका छन्।
आर्थिक लगानीजस्तै परोपकारका क्षेत्रमा पनि एनआरएनएहरूको लगानीको यकिन तथ्यांक छैन। एनआरएनले परोपकारका क्षेत्रमा काममा सक्रिय हुँदै हरेक एनसिसीले एक कार्यकालमा सानो वा ठूलो कम्तीमा एक परियोजना नेपाल ल्याउने योजनाअन्तर्गत केही वर्षदेखि ‘एक एनसिसी एक परियोजना’ कार्यक्रम अघि सारेको छ। एनआरएनएको अग्रसरतामा चितवनको देवघाटमा वृद्धाश्रम निर्माण, विदेशी नियोगसँग मिलेर हजारौं नेपाली, आलो सुत्केरी उद्धार, वैदेशिक रोजगार उद्धार कोष सञ्चालन गरिरहेको छ।
संघको सक्रियतामा सामाजिक कार्यअन्तर्गत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग मिलेर लाप्राक एकीकृत नमुना बस्ती निर्माण भएको छ। २०७२ वैशाख १२ मा भूकम्पको केन्द्रबिन्दु भएको लाप्राकमा ५ सय ७३ घर निर्माण भएका छन्। त्यस्तै सडक सुरक्षा आयोजनाअन्र्तगत विभिन्न स्थानमा गाडी नपल्टिने प्रविधि दिएको छ।
एनआरएनएका संस्थापक डा. उपेन्द्र महतोले आमाको नाममा फूलकुमारी महतो ट्रस्ट स्थापना गरी विभिन्न क्षेत्रमा परोपकारी काम गर्दै आएका छन्। सिरहा बन्दीपुरमा नेपाल राष्ट्रिय फूलकुमारी महतो माध्यमिक विद्यालय, १ सय शैयाको फूलकुमारी महतो मेमोरियल अस्पताल र विभिन्न जिल्लामा विद्यालय स्थापनामा सहयोग गरेका छन्।
राष्ट्रिय समन्वय परिषद युकेले म्याग्दी र अस्ट्रेलियाले पाथीभरामा झन्डै १ करोड लगानीमा वृद्धाश्रम निर्माण अघि बढाएका छन्। अमेरिकाको न्युयोर्क निवासी सोनाम लामाले १ करोड ४० लाख रुपैयाँमा मुस्ताङ मुक्तिनाथमा ३२ फिट अग्लो भगवान बुद्धको मूर्ति निर्माण गराएका छन्। भूकम्प, बाढी, आगलागीजस्ता दैवीप्रकोपमा पनि एनआरएनहरूले सहयोग गर्दै आएका छन्।
शेष घले र उनकी श्रीमती जमुना घलेले आफूहरू संलग्न एमआइटी गु्रप फाउन्डेसनमार्फत नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने गरि १ अर्ब रुपैयाँ परोपकारी कोष स्थापनाको घोषणा गरेका थिए। त्यसमार्फत उनीहरूले भूकम्प र नाकाबन्दी, कोभिडकालमा राहत दिएका थिए।
चितवनमा शेर्पा बियर उत्पादन गरिरहेका लाक्पा शेर्पाले हाइक फर हेल्प नेपालमार्फत सामाजिक कार्य (विद्यालय, स्वास्थ्य चौकी, नमुना शौचालय निर्माण) गरिरहेका छन्। उता, अफ्रिकामा सक्रिय हिकमत थापाहरूको समूहले भूकम्पका बेला १ करोड रुपैयाँ सहयोग गरेका थिए। कोरोनाकालमा ६० लाखभन्दा बढीका अक्सिजन सिलिन्डिरलगायत स्वास्थ्य सामग्री ३० जिल्लामा पठाउनुका साथै स्कुल, पुस्तकालय भवन, प्रयोगशाला भवन, कक्षा कोठा, मन्दिरलगायत संरचना निर्माणमा सहयोग गरिरहेका छन्।
शिक्षा तथा स्वास्थ्य क्षेत्र
७५० शैयाको मेडिसिटी अस्पताल
१०० शैयाको मेडिसिटी बयोधा (बयोधा नारायणी हस्पिटल)
२०० शैयाको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल
१०० शैयाको मेडिकेयर नेसनल हस्पिटल एन्ड रिसर्च
१०० शैयाको ग्रिनसिटी अस्पताल
डियरवाक गु्रप (डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी, डियरवाक सिफल स्कुल, डियरवाक कम्पवेर)
दि ब्रिटिस कलेज
कान्तिपुर इन्जिनियरिङ कलेज
एक्मी इन्जिनियरिङ कलेज
निसर्ग बाटिका स्कुल
होटल/रिसोर्ट
सेराटन होटल, नक्साल
होटल अकामा, धुम्बाराही
होटल माला, ठमेल
होटल रोयल सिङ्गे
लो मुस्ताङ हिमालय रिसोर्ट, मुस्ताङ
लो मुस्ताङ होटल, ठमेल
होलिडे इन एक्सपे्रस एन्ड स्वीट्स, मानभवन
रुपाकोट रिसोर्ट, पोखरा
हेभन रिसोर्ट, पोखरा
लालटिन रिसोर्ट, पर्वत
रोयल टुलिप रिसोर्ट, चितवन
होटल सीताशरण, जनकपुर
धुलिखेल माउन्टेन रिसोर्ट (डिएमआर), धुलिखेल
टाइगर प्यालेस रिसोर्ट, भैरहवा
गौतमबुद्ध एयरर्पोट होटल, भैरहवा
रमदा इन्कोर, ठमेल
होटल रोयल सिङ्गे, तीनथाना
कल्चर रिसोर्ट, पोखरा
लटौली प्याराडाज रिसोर्ट, चितवन
वित्तीय क्षेत्र
सानिमा बैंक (सहायक कम्पनी– सानिमा क्यापिटल, सानिमा सेक्युरिटिज)
माछापुच्छ«े बैंक (सहायक कम्पनी– माछापुच्छ«े कृति क्यापिटल)
ग्लोबल आइएमई बैंक (सहायक कम्पनी– ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, जेबिएनएल सेक्युरिटिज)
नेपाल इन्भेस्टमेन्ट बैंक (सहायक कम्पनी– एनआइएमबिएस क्यापिटल)
कुमारी बैंक (सहायक कम्पनी– कुमारी क्यापिटल र केबिएल सेक्युरिटिज)
बेस्ट फाइनान्स
किसान लघुवित्त वित्तीय संस्था
नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था
नेरुडे लघुवित्त वित्तीय संस्था
सानिमा रिलयान्स लाइफ इन्स्योरेन्स
सानिमा जिआइसी इन्स्योरेन्स
नेको इन्स्योरेन्स कम्पनी
रिलायबल लाइफ इन्स्योरेन्स
आइएमई लाइफ इन्स्योरेन्स
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स
सिटी एक्सप्रेस मनी ट्रान्सफर
सञ्चार क्षेत्र
एनसेल
कान्तिपुर टेलिभिजन नेटवर्क (कान्तिपुर टिभी)
कारोबार दैनिक
ऊर्जा/जलविद्युत क्षेत्र
२.६ मेगावाट सुनकोसी सानो, सिन्धुपाल्चोक
२.२ मेगावाट माई, इलाम
७ मेगावाट माई क्यास्केड आयोजना, इलाम
२८.१ मेगावाट तल्लो लिखु रामेछाप÷ओखलढुंगा
७३ मेगावाट मध्यतमोर, ताप्लेजुङ
१४.३ मेगावाट माथिल्लो मैलुङखोला, रसुवा
१३ मेगावाट मध्यमैलुङ खोला, रसुवा
१७ मेगावाट माथिल्लो मैलुङ बी, रसुवा
५६ मेगावाट जुम खोला, दोलखा
२७ मेगावाट दोर्दी खोला जलविद्युत आयोजना
१२८ मेगावाट तमोर मेवा
२५.४ मेगावाट सुपर आँधिखोला जलविद्युत आयोजना, धादिङ
४.५ मेगावाट माछाखोला आयोजना, गोरखा
५.५ मेगावाट बुढीगण्डकी
२०.७३ मेगावाट जल्दीगाड जलविद्युत आयोजना
२५ मेगावाट दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजना
८३ मेगावाट मिडिल मेवा खोला हाइड्रोपावर, ताप्लेजुङ
१२ मेगावाट हिल्टन हाइड्रो इनर्जी, ताप्लेजुङ
२१.९३ मेगावाट काबेली हाइड्रोपावर कम्पनी
१३.५ मेगावाट स्नो रिभर्स लिमिटेड
७.८ मेगावाट सुपरमाई हाइड्रोपावर
२.५ मेगावाट दरमखोला ए जलविद्युत आयोजना
२१.३ मेगावाट ठूलो खोला हाइड्रोपावर प्रोजेक्ट
उद्योग
युनाइटेड बु्रअरी, मकवानपुर
ओममेगाश्री औषधी उद्योग, चितवन
पतञ्जली आयुर्वेदिक उद्योग
शेर्पा बियर, चितवन
क्रिएटिभ मिल प्रालि
क्रिम मिल प्रालि (केइएफ ब्रान्ड)
अन्य/इन्भेस्टमेन्ट कम्पनी
चन्द्रागिरि हिल्स, काठमाडौं
सत्यवती केबुलकार, पाल्पा
हाथवे इन्भेस्टमेन्ट नेपाल
सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ
अमला इन्भेस्टमेन्ट
बाबरी कन्स्ट्रक्सन (निर्माण कम्पनी)
सोपान मल्टिपल कम्पनी
मुना कृषि लिमिटेड
एनआरएन नेपाल डेभलपमेन्ट फन्ड
केटिएम सेक्युरिटिज
ग्लोबल इन्भेस्टमेन्ट अर्गानिक प्रडक्ट्स
सिद्धपोखरी टि स्टेट
एनआरएन इफ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट
जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडिसिएल)
नेसनल फन्ड म्यानेजमेन्ट
रिलायबल भेन्चर क्यापिटल
एनआरएन इन्भेस्टमेन्ट लिमिटेड
आइकेबिएच गु्रप
माउन्टेन प्लानेट ट्राभल्स
गोजी ट्राभल्स
माउन्टेन इनर्जी नेपाल (एमइएन)
हिमालय पावर पार्टनर (एपिपिएल)
ग्यापु मार्केट प्लेस (अनलाइन व्यापार)
पिजन इन्जिनियरिङ एन्ड प्रोजेक्ट ट्रेडिङ
भैरवबाबा हाउजिङ एन्ड कन्स्ट्रक्सन
सुन्दर अटो इन्जिनियरिङ (एसेम्बल प्लान्ट)
किसान लघुवित्त वित्तीय संस्था
नेसनल फन्ड म्यानेजमेन्ट
रिलायबल भेन्चर क्यापिटल
रुबिन पावर
होलिकाउ इन्भेस्टमेन्ट
युनियन इन्भेस्टमेन्ट
क्यासकेड इन्भेस्टमेन्ट
कन्टिनेन्टल टि एन्ड एक्सपोर्ट
ग्लोबल इन्भेस्टमेन्ट
(क्यापिटल बिजनेस म्यागजिनबाट)