काठमाडौं। बहुराष्ट्रिय मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडको व्यापार निरन्तर खस्किँदै गएको छ। सन् २०२३ मा एनसेलको व्यापार ६ प्रतिशत घटेर ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँमा सीमित भएको छ।
२०२२ मा एनसेलले ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। एक वर्षको बीचमा एनसेलको सञ्चालन आम्दानी २ अर्ब २८ करोड ३० लाख रुपैयाँ घटेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
२०२१ म ४० अर्ब ४२ करोड २४ लाख, २०२० मा ४६ करोड ८७ लाख ४० हजार रुपैयाँ कारोबार गरेको थियोे। सन २०१८ मा झन्डै ६० अर्ब रुपैयाँबराबर कारोबार गरेको एनसेलले २०२३ मा आइपुग्दा कारोबार घटेर ३७ अर्ब रुपैयाँमा झरेको छ।
पाँच वर्षमा वर्षमा एनसेलको आम्दानी झण्डै २२ अर्ब रुपैयाँ घटेको छ। २०१९ मा ५५ अर्ब ३९ करोड ८० लाख, २०१८ मा ५९ अर्ब ८१ करोड ६० लाख र २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो।
कम्पनीको जिएसएमबाट हुने आम्दानी सन् २०२३ मा ४२ प्रतिशत, २०२२ मा ५४ प्रतिशत र २०२१ मा ६१ प्रतिशत घटेको कम्पनीले जनाएको छ।
आम्दानीको ग्राफ निरन्तर ओरालो लागेका बेला एनसेलले लगानीकर्तालाई सतप्रतिशतसम्म लाभांश दिँदै आएको जनाएको छ। पछिल्ला ३ वर्षमा औसत ९४ प्रतिशत लाभांश लगानीकर्तालाई दिएको छ।
२०२२ मा ९० प्रतिशतसम्म लाभांश दिएको एनसेलले जनाएको छ। इन्टरनेट ब्रोडब्यान्ड हिस्सा बढ्दै गएपछि भ्वाइसबाट हुने आम्दानीमा गिरावट आएको कम्पनीले जनाएको छ ।
एनसेलमा ८० प्रतिशत स्वामित्व मलेसियाको आजियाटा ग्रुप बहार्डको छ । बाँकी २० प्रतिशत नेपाली साझेदार सुनिभेर क्यापिटल भेन्चर प्रालि रहेको छ । २०१६ अप्रिलदेखि आजियाटाले एनसेलको स्वामित्व लिएको हो।
स्पाइस नेपाल प्राइभेटको नाममा सन् २००१ मा स्थापना भएको हो। सन् २००५ मा मेरो मोबाइल ब्राण्डमा जीएसएम सेवा सुरु गरेको हो। सन् २००८ मा युरोपियन ब्राण्ड टेलिसोनेराले ८० प्रतिशत स्वामित्व किनेपछि एनसेल ब्राण्डबाट सेवा दिएको थियो।
सन् २०१७ मा मेलेसियाली कम्पनीले बहुमत सेयर खरिद गरेको हो। सन् २०२० अगस्टमा एनसेल आजियाटा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ।
कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भने पनि अहिलेसम्म प्रक्रिया अघि बढाएको छैन्। कम्पनीको सेयर खरिदबिक्री वापत एनसेलले सरकारलाई ६५ अर्ब रुपैयाँ बुझाएको छ। जसमध्ये पुँजीगत लाभाकर ४७ अर्ब रुपैयाँ रहेको छ।
एनसेलले वि.स २०८६ पछि एनसेलको अनुमतिपत्र (लाइसेन्स) सकिन्दै छ।