जनकपुरधाम।धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–१ रामदैया भवाडीमा रहेको जानकी मेडिकल कलेज शिक्षण अस्पताल दक्षजनशक्ति उत्पादनका साथै विशेषज्ञ स्वास्थ्य सेवा विस्तारमा केन्द्रित हुन थालेको छ।
विगत २३ वर्षदेखि चिकित्सा सेवाका विभिन्न विधामा दक्षजनशक्ति उत्पादनका साथै नागरिकलाई आधारभूत चिकित्सकीय सेवा प्रदान गर्दै आएको अस्पतालले अत्याधुनिक उपकरण र पूर्वाधारसहित सेवा विस्तारमा ध्यान केन्द्रित गरेको अस्पताल निर्देशक प्रा डा धर्मदत्त सुवेदीले बताए।
सुरुका केही वर्ष आन्तरिक तथा अन्य व्यवस्थापकीय चुनौती सामना गर्नुपरे पनि पछिल्ला केही वर्षयता व्यवस्थापन सुधारमार्फत गुणस्तरीय शिक्षा तथा विशेषज्ञ सेवा केन्द्रीत कार्यक्रममा सम्पूर्ण ध्यानदिन थालिएको प्रा डा सुवेदीले बताए।
“सुरुका केही वर्ष व्यवस्थापनसँग जोडिएका समस्या र प्रश्नले हामीलाई घेरिरह्यो। तथापि शैक्षिक गतिविधि र नागरिकलाई प्रदान गर्ने सेवाबारे हामी सधैँ सचेत थियौँ”, उनले भने, “पछिल्ला पाँच वर्षयता व्यवस्थापन सुधारदेखि शिक्षण अस्पतालका शैक्षिक गतिविधि र नागरिकलाई घरआँगनमै बढीभन्दा बढी स्वास्थ्यसेवा प्रदान गर्ने गरी हामी अगाडि बढेका छौं। ती पहलकदमीको सकारात्मक परिणाम विस्तारै देखिन थालेका छन्।”
विसं २०६० देखि पठनपाठन सुरु गरेको मेडिकल कलेज शिक्षण अस्पताल केही समय सेयरधनीबीच विवादका कारण समस्यामा फसेको थियो। पटक–पटकको विवाद र चुस्त व्यवस्थापकीय प्रबन्धको अभावमा विद्यार्थी, कर्मचारी तथा स्थानीयलाई विश्वासमा लिन नसक्दा बन्द, हडताल एवं असन्तुष्टिको सिकारसमेत भयो।
त्यहीबीचमा सबैभन्दा ठूलो शेयरधनीको रुपमा रहेका ओपी (ओमप्रकाश) पाण्डे परिवार व्यवस्थापन समूहबाट बाहिरियो तर समस्या बल्झिदैँ गएपछि पुनः एकल स्वामित्व रहने गरी पाण्डे परिवारले अस्पताल व्यवस्थापनको जिम्मा लिएको छ ।
मेडिकल कलेज शिक्षण अस्पताल भएकाले यहाँ सञ्चालित शैक्षिक कार्यक्रमलाई मध्यनजर गरी मापदण्डअनुसार सबै विद्यामा सेवा दिनु अस्पतालको जिम्मेवारी हो।
त्यसैकारण अस्पतालले सुरुदेखि नै जनरल मेडिसिन, सर्जरी, पेडियाट्रिक, गाइने, साइकाइट्रिक, आइसीयू, एनआइसीयू, इमरजेन्सी, आँखा, नाक कान घाँटी, अर्थोपेडिकजस्ता आधारभूत सेवा दिइरहेको प्रा डा सुवेदीले जानकारी दिए।
त्यसैगरी विशेषज्ञ सेवा विस्तार गर्ने योजना बमोजिम हाल मानसिक रोग, पेटसम्बन्धी सेवा, मुटुरोग, ग्याष्ट्रिक, छालासम्बन्धी सबै सेवा, इन्डोस्कोपी सेवासमेत सुरु भइसकेको र युरोलोजी, न्यूरो सर्जरी, नेफ्रो (डायलासिससहित) लगायत सेवा सुरु गर्न आवश्यक पूर्वाधार निर्माण गरी आवश्यक कतिपय स्वास्थ्य उपकरण जडान र कतिपय खरिद प्रक्रियामा रहेका प्रा डा सुवेदीको भनाइ छ।
सेवा विस्तारका लागि रमदैयामा मेडिकल काउन्सिलको मापदण्डअनुसार नयाँ हस्पिटल ब्लक सञ्चालनमा सञ्चालनमा ल्याइएको छ। सो भवनमा ओपिडी र इमर्जेन्सी विभागले काम सुरु गरिसकेको छ। त्यसैगरी सर्जरी, हाडजोर्नी र प्रसूतिका लागि नयाँ वार्ड पनि तयार भइसकेको र ४० बेडको नयाँ आइसीयु र पोष्टअप वार्ड निर्माणका काम पनि अन्तिम चरणमा पुगेको अस्पतालका प्रबन्ध निर्देशक पाण्डेले जानकारी दिए।
“निजी लगानीको अस्पताल भए पनि हामीले सरकारी अस्पताल सरह सस्तो शुल्कमा ओपिडी सुविधा दिइरहेका छौँ। शल्यक्रियामा समेत विशेष छुट र स्थानीय नागरिकलाई थप सहुलियतसहित सेवाप्रवाह गर्ने काम भइरहेको छ।
त्यसैगरी स्थानीय तहसँगको समन्वयमा मधेसका विभिन्न जिल्ला र ग्रामीण बस्तीमा गएर स्वास्थ्य शिविर सञ्चालन गर्ने र ल्यावको जाँचमा करिब ५० प्रतिशतसम्म छुट दिएर सर्वसाधारणलाई अस्पतालसम्म आउने वातावरण बनाएका छौँ । अब यसबाट बढीभन्दा बढी नागरिकले लाभ लिनसक्नुपर्छ”, अस्पताल निर्देशक प्रा डा सुवेदीले भने।
प्रबन्ध निर्देशक पाण्डेले पनि मेडिकल कलेजलाई स्थापित गर्ने र सेवा भावले सरकारी अस्पतालसँग प्रतिस्पर्धा गर्दै आफूहरुले सेवा दिइरहेको दाबी गरे।
हाल पाँच सय शय्याको अस्पताल संरचना तयार भएको र औसतमा दैनिक करिब दुई सय बिरामी उपचारका लागि आउने गरेको अस्पताल अस्पताल निर्देशक सुवेदीले जानकारी र्दिए।
दुई हजारभन्दा बढी दक्षजनशक्ति उत्पादन
विसं २००३ बाट पठनपाठन सुरु गरेको सो मेडिकल कलेजमा अहिले १८औँ ब्याचलाई पढाइरहेको छ। शैक्षिक कार्यक्रमअन्तर्गत एमडी, एमएस, एमबीबीएसका साथै स्टाफ नर्स कोर्ष पनि सञ्चालनमा छ। पछिल्लो समय स्टाफ नर्समा भने विद्यार्थी पाउन नसकिएको अस्पताल व्यवस्थापन पक्षको भनाइ छ।
यी सबै कार्यक्रमबाट हालसम्म दुई हजारभन्दा बढी दक्षजनशक्ति उत्पादन गरिएको अस्पताल व्यवस्थापनले जनाएको छ। त्यसमध्ये आठ सयभन्दा बढी भारतीय विद्यार्थी रहेको अस्पताल निर्देशक सुवेदीले बताए। हाल यहाँबाट उत्पादित जनशक्तिले नेपालका विभिन्न अस्पताल तथा भारतका प्रतिष्ठित अस्पताल एवं अन्य देशमासमेत सेवा दिइरहेको सुवेदीको भनाइ छ।
शैक्षिक पूर्वाधार, अस्पताल भवन र उपकरण, अस्पतालका लागि आवश्यक १७ बिघा जग्गासहित हालसम्म ४ अर्ब रुपैयाँ लगानी भइसकेको छ। शिक्षण अस्पतालका लागि हाल मूख्य संरचना रहेको धनुषाको रमदैयामा सात बिघा, बर्दिबासमा छ बिघा र ढल्केवर पुश्वलपुरमा पाँच बिघा गरी १७ बिघा जग्गाको बन्दोबस्त गरिएको छ।
त्यसैगरी करिब ८० प्रतिशत स्थानीयसहित चार सय जनाभन्दा बढीलाई रोजगारीसमेत दिइएको प्रबन्ध निर्देशक पाण्डेले जानकारी दिए।
“विशेषज्ञ ७० जना पिजी (पोस्ट ग्राजुएट) गरेको, करिब १२ जना मेडिकल अधिकृत, करिब ७० जना स्टाफ नर्स र सबै कर्मचारी गरी चार सयभन्दा बढीलाई रोजगार दिएका छौँ। त्यसमध्ये ८० प्रतिशत स्थानीय र २० प्रतिशत जति यहाँबाट उत्पादित जनशक्तिलाई काम दिइएको छ”, पाण्डेले भने, “यसकारण शैक्षिक र अस्पतालको हिसाबले यसको महत्व त छ नै, साथसाथै स्थानीयस्तरमा यति धेरै रोजगारी प्रदान गरेकाले यो एक उद्योग पनि हो। यसर्थ रोजगारी, शैक्षिक पर्यटकीय हव र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेर हामीले मधेसको पहिचानसमेत स्थापित गर्न खोजिरहेका छौँ।” रासस