काठमाडौं। विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं केही महिनादेखि मारवाडी समुदायमाथि विभिन्न लान्छना लगाउँदै आएका छन्।
आफ्नो व्यवसाय सञ्चालन गर्न लिएको ऋण तिर्न बैंकले ताकेता गरेपछि एकाएक भड्किएका प्रसाईं यतिखेर मारवाडी समुदायलाई बदनाम गराएर आफ्नो भित्री अभिष्ट पुरा गर्ने दाउमा छन्।
प्रसाईंलाई ऋण दिने बैंकमध्ये ग्लोबल आइएमईले अबउप्रान्त साँवामा ब्याज पुँजीकरण हुँदैन्, तत्काल बैंकलाई तिर्नुपर्ने ब्याज भुक्तान गर्न लिखितपत्र पठाएपछि उनी अराजक बन्दै गएका हुन्।
प्रसाईंले नबिल बैंकको नेतृत्वमा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र गुडविल फाइनान्सबाट बिएन्डसी मेडिकल कलेजका लागि भन्दै २ अर्ब ५० करोड रुपैयाँ ऋण लिएका थिए।
त्यसैगरी पूर्वाञ्चल क्यान्सर अस्पताल चलाउन कुमारी बैंकको नेतृत्वमा नबिल, ग्लोबल र प्रभु बैंकबाट २ अर्ब ५० करोड रुपैयाँ ऋण लिएका छन्। उनले लिएको ऋण गत पुससम्म पुँजीकरण भएर ६ अर्ब ५० करोड रुपैयाँ पुगिसकेको छ।
गत पुसमा बैंकले प्रसाईंलाई ऋणको ब्याज तिर्न लिखित पत्राचार गरेको थियो। त्यसपछि उनी बैंकविरुद्ध नियोजित रुपमा लागेका हुन्। त्यही बेला लघुवित्त पीडितहरुको आन्दोलन चलिरहेको थियो। प्रसाईंले पीडितको भावनामा खेल्दै लघुवित्त र बैंकमाथि नियोजितरुपमा आक्रमण सुरु गरे।
बैंकले नियमित रुपमा प्रसाईंलाई ऋण तिर्न दबाब दिएपछि उनी थप आक्रमक बन्दै अदालत पुगे। गत असार २६ गते उच्च अदालत विराटनगरको इलाम इजलासले व्यवसायी प्रसाईंको मुद्दामा अल्पकालीन अन्तरिम आदेशलाई निन्तरता दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै घरमा बोलाएर खाना खुवाउँदै प्रसाईं।
बैंकले ऋण तिर्न पठाएको पत्रको कार्यान्वयन नगर्न माग गर्दै प्रसाईं अदालत पुगेका थिए। अदालतबाट ब्याज तिर्न नपर्ने अन्तरिम आदेश पाए। अन्तरिम आदेशकै बलमा उनले अहिले पनि बैंकको ब्याज पनि तिरेका छैनन्।
बिएन्डसी अस्पताल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालबाट प्रसाईंले मनग्य आम्दानी गरेका छन्। त्यहीबाट भएको आम्दानीबाट गुन्डा पाल्नेदेखि गैरकानुनी क्रियाकलाप गर्न खर्चिरहेका छन्।
प्रसाईंको स्वामित्वमा रहेको बिएन्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडको कारोबार ४७ प्रतिशत बढेको छ।
एक वर्षमा बिएन्डसी मेडिकल कलेजले १ अर्ब १९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ। २०२१ मा बिएन्डसीले ८१ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो।
एक वर्षको अवधिमा व्यापार ३८ करोड रुपैयाँ बढेको बिएन्डसीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
सन् २०२० मा बिएन्डसीले ५३ करोड ९० लाख रुपैयाँ कारोबार गरेको थियो। ३ वर्षको वित्तीय विवरण हेर्दा बिएन्डसीको मेडिकल व्यापार विस्तार हुँदै गएको देखिन्छ।
ब्याज तिर्ने सर्त मानेर ऋण लिने र तिर्ने बेला बैंक तथा बैंक व्यवस्थापनमाथि अनेकन लान्छना लगाएर उन्मुक्ति लिन खोजिरहेका छन्।
बैंकरमाथि सांघातिक हमलामा उत्रिएका प्रसाईं यतिखेर माडवारी समूदायप्रति आक्रामरुपमा प्रस्तुत हुँदै अशोभनीय अभिव्यक्ति दिइरहेका छन्। विशेष गरि उनले १६ जना ठूला मारवाडी व्यवसालाई ‘टार्गेट’ गरेका छन्। उनीहरु नेपाली नभएको, देश लुटेको जस्ता गलत आरोप लगाउँदै आएका छन्।
प्रसाईंले दसैंपछि मारवाडी व्यवसायीलाई मुलुकबाट लखेट्ने जस्ता घृणित अभिव्यक्ति दिइरहेका छन्। यति मात्र हैन उनले मोसो दल्ने अभियान दसैंपछि सुरु गर्ने घोषणा गरेका छन्। सार्वजनिक रुपमा यतिको अराजक अभिव्यक्ति दिने प्रसाईंमाथि राज्यले केही गरेको छैन्।
मारवाडी सेवा समितिले भदौं २ गते मारवाडी समुदायको चरित्र हत्या गरेको निष्कर्ष निकाल्दै साइबर ब्यूरोमा उजुरी दर्ता गराएका थिए। त्यो उजुरीमाथि साइबर ब्यूरोले ‘एक्सन’ लिएको छैन।
केही समयअघि नेवार समुदायमाथि व्यङ्ग गरेकै आरोपमा कमेडियन अपूर्व क्षितिजलाई सरकारले पक्राउ गरेर थुनामा राखेको थियो। कमेडियनले आफ्ना कला प्रस्तुत गर्ने बेलामा कुनै समुदायलाई केन्द्रमा राखेर व्यङ्ग गर्दा झण्डै उनको जीवन बर्बाद भएको थियो।
तर, यहाँ प्रसाईंले खुलेआम मारवाडी समूदायमाथि धावा बोलिरहेका छन्। उनको यस्तो अराजक अभिव्यक्तिलाई सरकारले सुनेको नसुन्यै गरेको छ। नेपाली भएको प्रमाण देखाउ, दसैैंलगत्तै देशबाट लखेट्ने जस्ता अराजक शब्द प्रयोग गर्दासमेत उनीमाथि सामान्य सोधपुछसमेत गरिएको छैन्।
ऋण तिर्न नपरोस्, बैंकलाई यसैगरी धक्म्याएर राख्न सकियोस्, भनेर उनले मारवाडी समुदायलाई निरन्तर निशाना लगाइरहेका छन्। बैंकले ऋण तिर्न ताकेता गरेपछि ब्याज असूल नगर्नु भन्ने अदालतको आदेशलाई हतियार बनाएर सर्वसाधारणको ६ अर्ब रुपैयाँ भन्दा बढी रकम नतिर्ने योजनामा प्रसाईं लागेका छन्।
बैंकले ब्याज उठाउने कि नउठाउने भन्ने विषयमा बोलिदिँदा प्रसाईंले त्यसैलाई अस्त्र बनाएर बैंकलाई पनि तर्साएको महिनौ भइसक्यो। बैंकका हरेक सेवा सुविधा मान्न तयार छु भनेर ऋण लिने र तिर्ने बेला भएपछि अदालतबाट अन्तरिम आदेश लिएर बसेकाले न बैंकले प्रसाईंबाट ऋण असुल्न सकेको छ, नत उनको कर्जा प्रोभिजन नै गरेको छ।
कुमारी बैंकले ऋण तिर्न पत्र पठाएपछि त्यसविरुद्ध अन्तरिम आदेशको माग गर्दै व्यवसायी प्रसाईं अदालत पुगेका थिए।
कुमारी बैंकले प्रसाईंको बी एन्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी १ अर्ब रुपैयाँ ऋण तत्काल नतिरे असुली प्रक्रियामा जाने ताकेता पत्र पठाएपछि प्रसाईं बैंकको उक्त पत्र कार्यान्वयन नगर्न नगराउन माग गर्दै उच्च अदालत विराटनगर पुगेका थिए। अहिले त्यही अन्तरिम आदेशका कारण कुमारीले उनीबाट कर्जा असुल्न सकेको छैन।
नियमकीय व्यवस्थाअनुसार लगातार एक वर्षसम्म कर्जा नतिर्ने ऋणी कालोसूचीमा राख्नुपर्छ। तर, प्रसाईंले एक वर्ष बित्नै लाग्दा बैंकलाई एक रुपैयाँ ब्याज भुक्तान गरेका छैनन्। तैपनि उनी सामाजिक अभियान्ताका रुपमा उनी सामाजिक सञ्जालमा विस्तारित भइरहेका छन्।
शक्तिका आडमा बैंकबाट अर्बौ रुपैयाँ लिएर मैमत्त बनेका प्रसाई यतिखेर बैंकलाई नै टोक्नु र बोक्नु भइसकेका छन्। हिजो बैंक आफैले पुल्पुल्याएर प्रसाईंलाई काँघमा राखे। प्रसाईंको केवाइसी नहेरी अन्धाधुन्ध ऋण दिए। अहिले बैंककै लागि उनी घातक बनिरहेका छन्।
प्रसाईले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा केही मारवाडी समुदाय वा ग्रुपलाई चोर, डाँका, फटाहा भन्ने ब्यानरसमेत बनाएका थिए। कार्यक्रम सकिएपछि उनलाई केही युवाहरुले होटल एल्लो प्यागोडामा मोसो दलेका थिए।
सोही ब्यानरमुनी अर्का विवादित व्यवसायी राकेश अडुकिया पनि थिए। अडुकिया पनि विभिन्न बैंकबाट ऋण लिएर नतिर्ने व्यवसायीको सूचीमा पर्छन्। बैंकको ऋण नतिर्न उनी प्रसाईंसँग संगठित भएका छन्।
एमाले परित्यागपछि झनै अराजक
नेकपा एमाले परित्याग गरेपछि प्रसाईं झनै अराजक बन्दै गएका हुन्। उनले फागुन ७ गते एमाले परित्यागको घोषणा गरेका हुन्। प्रसाईं एमाले केन्द्रीय सदस्य थिए। उनी केही दिनअघि पूर्वराजपरिवारलाई अघि सारेर महाअभियानको घोषणा गरेका थिए।
त्यसपछि प्रसाईंलाई कारबाही गर्न एमालेको प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको थियो। पार्टीले कारबाहीको निर्णय नगर्दै उनले पार्टी परित्याग गरेका थिए। उनले अहिले पूर्वराजा ज्ञानेन्द्र शाह निकट भएर व्यवसायिक क्षेत्रमा आतंक मच्चाइरहेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै घरमा बोलाएर खाना खुवाएको तस्वीर सार्वजनिक गरेर प्रसाईंले राजनीतिक पंहुच देखाएका थिए।