काठमाडौं। पर्यटन व्यवसायी तथा नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईंले राजधानीको बालुवाटारमा निर्माण गरिरहेको चारतारेस्तरको ‘वर्णवास म्युजियम होटल अंग्रेजी नयाँ वर्ष (सन् २०२४) बाट सञ्चालनमा आउने भएको छ।
राजधानीको केन्द्र गैरीधारा–बालुवाटारमा निर्माणाधीन होटलमा ४८ कोठा छन्। होटलमा १ अर्ब १६ करोड लगानी हुनेछ। जसमध्ये बजगाईंले बैंकबाट ५६ करोड ६७ लाख रुपैयाँ ऋण लिएका छन्। होटलमा ६९ प्रतिशत ऋण र ३१ प्रतिशत संस्थापककको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना तयार पारिएको छ।
पहिला ७५ प्रतिशत ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी लगानी हुने गरी संरचना बनाइएको थियो। होटलको प्रतिकोठा लागत २ करोड ३० लाख रुपैयाँ पुग्ने भएको छ। यसअघि प्रतिकोठा लागत १ करोड ३० लाख रुपैयाँ हुने अनुमान थियो।
अहिले होटलको साजसज्जाको काम भइरहेको छ। ढिलोमा आउँदो पुससम्म होटल सञ्चालनमा ल्याउने तयारी भएको सञ्चालक बजगाईंले सुनाए।
होटल सन् २०१९ देखि निर्माण सुरु भएको हो। २०२१ मध्यबाट होटल सञ्चालनमा ल्याउने योजना थियो। यस्तै गत असारभित्र होटल सञ्चालनमा ल्याउने योजना पनि थियो। होटल सञ्चालन फेरि ६ महिनापछि धकेलिएको हो। होटल निर्माण सुरु भएपछि कोभिड महामारी फैलियो र निर्माण प्रभावित हुन पुग्यो।
वर्णवास २०१८ मा स्थापना भएको थियोे। वर्णवास प्रवेश गर्नेबित्तिकै काठमाडौं उपत्यका, त्यसमा पनि नेवारी समुदायको संस्कृति झल्किने खालका चित्रहरू राखिने भएको छ।
सुविधासम्पन्न र लक्जरियस होटल तथा रिसोर्टको भीडमा नयाँपन दिन खोजेका बजगाईंले करिब २ रोपनी क्षेत्रफलमा साढे ९ तले लक्जरी बुटिक होटल निर्माण गरिरहेका हुन्। होटलमा १८ प्राइभेट ज्याकुजी रहनेछन्।
होटलका कोठामध्ये सबैभन्दा ठूलो ६० वर्गमिटरको हुनेछ। यस्तो कोठा प्रत्येक तलामा एक÷एक हुनेछ। तर, अन्य कोठा भने ४० देखि ३४ वर्गमिटरका हुनेछन्।
होटलभित्र नेपालका विभिन्न जातजातीको संस्कृति झल्किने खालका वेशभूुषा र ग्यालरी राखिने भएकाले पनि ‘म्युजियम’ होटलमा परिणत गर्ने उनको सोच छ। साढे ९ तलाको होटललाई तीन तहमा विभाजन गरिने छ। जहाँ हिमाल, पहाड र तराई गरी सिंगो नेपाललाई नै होटलभित्र चित्रित गर्न खोजिएको छ।