काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स बनाउन करिब ४ अर्ब रुपैयाँ लाग्ने भएको छ। एसियाली विकास बैंक (एडिबी) ले आयोजनाको भौगर्भिक अध्ययन गरेको थियो।
उक्त अध्ययनअनुसार सिन्धुपाल्चोकको अम्बाथानमा रहेको खानेपानीको हेडवर्क्स एक किलोमिटरमाथि सार्नुपर्ने हुन्छ। अहिलेको अवस्थामा हेडवर्क्स सार्न करिब ४ अर्ब रुपैयाँ लाग्ने देखिएको खानेपानी मन्त्रालयका एक प्राविधिकले बताए। नियमित काम गरे पनि कम्तिमा ४ वर्ष लाग्ने उनको भनाइ छ। आयोजना बनाउन ऋण लगानी गर्न एडिबी तयार रहेको बताइएको छ।
ती प्राविधिकका अनुसार हेडवर्क्स बनाउन मात्रै ३ अर्ब रुपैयाँ लाग्ने हो। त्यसबाहेक राष्ट्रिय निकुञ्जको क्षति, स्थानीयका अन्य माग सम्बोधन, सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार र ठेक्का आह्वानलगायत बाँकी काम गर्न करिब एक अर्ब रुपैयाँ लाग्नेछ। यसरी समग्रमा हेडवर्क्सको काम सक्न ४ अर्ब लाग्ने उनको भनाइ छ।
‘नयाँ हेडवर्क्स बनाउन ४ अर्ब रुपैयाँ लाग्छ होला, मैले भनेकै डेटा आधिकारी त होइन, डिपिआर अध्ययनले वास्तविकता देखाउनेछ’ उनले भने, ‘अहिलेको बजार भाउलाई हेर्दा हाम्रो अनुमान ४ अर्ब रुपैयाँ हो। तर, निर्माण कहिले हुन्छ त्योअनुसार लागतमा फरक पर्न सक्छ।’ अहिले बाढीले क्षति पुर्याएको हेडवर्क्स १ अर्ब रुपैयाँमा निर्माण भएको थियो।
तर, मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्त भने अहिले नै नयाँ हेडवर्क्स निर्माणको लागत रकमका विषयमा भन्न नसकिने बताउँछन्। उनका अनुसार एडिबीले गत अगष्टमा भौगार्भिक अध्ययनको रिपोर्ट खानेपानी मन्त्रालयलाई दिएको हो।
‘एडिबीले गरेको अध्ययन रिपोर्ट मन्त्रालयमा छ, अध्ययन प्रतिवेदनअनुसार ३ वटा विकल्पमा काम गर्न सकिन्छ। जसमध्ये हेडवर्क्स सानुपर्ने देखिएको हो’ सूचना अधिकारी पन्तले भने।
हेडवर्क्स सार्दा नयाँ सुरुङमार्ग पनि बनाउनुपर्ने उनको भनाइ छ। यद्यपि प्रातिवेदन अध्ययन गरेर खानेपानी आयोजनाको विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ। जसका कारण लागतको विषयमा यकिन विवरण नभएको उनको भनाइ छ।
एडिबीको प्रतिवेदनअनुसार मेलम्ची खानेपानी आयोजना ३ चरणमा मर्मत गर्न सकिन्छ। अल्पकालिन, मध्यकालिन र दीर्घकालिन गरी ३ चरणमा आयोजा मर्मत गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।
जसमध्ये दीर्घकालिन मर्मत गर्न हेडवक्स सार्नुपर्ने हुन्छ। सूचना अधिकारी पन्त भने दीर्घकालिन मर्मत गर्न केही वर्ष लाग्ने भएकाले मध्ययकालिन मर्मत गर्नुपर्ने बताउँछन्। जसका लागि मन्त्रालयले स्वीकृत दिनुपर्ने उनको भनाइ छ।
उता मन्त्रालयका सचिव रामआधार साह एडिबीको प्रतिवेदन मन्त्रालयमा नभएको दाबी गर्छन्। ‘प्रतिवेदन आयाजनालाई दिएर ३ चरण मर्मत गर्न सकिने सुझाव दिएको मैले पनि सुनेको छु। तर, मन्त्रालयमा त्यसको प्रतिवेदन छैन’ सचिव शाहले क्यापिटल नेपालसँग भने, ‘आयोजनाको कुरा मन्त्रालयमा धेरै थाहा हुँदैन, बैठक बोलाए भने हामी छलफल गर्छौं।’
एडिबीको ऋण लगानीमा २७ किलोमिटर लामो सुरुङ, पानी प्रशोधन केन्द्र र हेडवर्क्स निर्माण भएको हो। आयोजनामा ३२ अर्ब रुपैया खर्च भएको थियो।
३ वर्षदेखि बर्खामा बन्द भएर हिउँदमा मात्रै काठमाडौं आइरहेको मेलम्चीको पानी यो वर्ष ढिलो आउने भएको छ। साउन अन्तिम साता र असोजमा आएको बाढीले आयोजनामा क्षति गरेपछि पानी ल्याउने समय लम्बिएको सूचना अधिकारी पन्त बताउँछन्।
गत वर्ष मेलम्चीको पानी मंसिर २३ बाट काठमाडौंमा वितरण सुरु भएको थियो। तर, यो वर्ष अहिलेसम्म खोलामा बाढी गइरहदा अस्थायी मर्मत सुरु हुन सकेको छैन।
साथै आयोजना निर्देशकको सरुवा २०/२२ दिन पहिला हुँदा पुनः मर्मत सुरु गर्ने निर्णय हुन सकेको छैन। नयाँ आयोजना निर्देशक नभएसम्म समिति र मन्त्रालयको बैठक बस्न सक्ने हुँदा मर्मतको विषय अन्योलमा छ।
२०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा गएको बाढीले आयोजनाको हेडवर्क्ससँगै अन्य संरचनामा क्षति पुगेको थियो। त्यसयता हरेक वर्ष बर्खामा बन्द गरेर हिउँद लागेपछि मात्र काठमाडौंमा पानी ल्याउने गरिएको छ।
पानी पर्न छाड्यो भने असोज अन्तिमबाट पहुँचमार्ग मर्मत गर्न सकिन्छ। सूचना अधिकारी पन्तका अनुसार खानेपानी मन्त्रालयमार्फत आयोजना निर्देशकसहितको बैठक बसेर अस्थायी मर्मतको निर्णय गरेपछि काम गर्न बाटो खुल्ने छ।