काठमाडौं। शोभा ज्ञवाली, मिडिया उद्योगमा नौलो नाम होइन। तीन दशकदेखि कान्तिपुुर, नागरिकजस्ता ठूला प्रकाशनगृहमा संलग्न शोभा चिनाइरहनुपर्ने नाम पनि पक्कै होइन। पछिल्ला केही वर्षदेखि भने शोभाको परिचय मिडिया उद्योगबाट बिस्तारै अन्य सामाजिक क्षेत्रतिर फैलिइरहेको छ।
सामान्य परिवारमा माहिली छोरीका रूपमा जन्मिएकी शोभाको पाँचजनाको परिवार थियो। उनका बुबा सरकारी कर्मचारी थिए, तर असाध्यै स्पष्ट र नैतिकतामा विश्वास गर्ने। आफ्नो नैतिकतामा रहनुपर्छ भन्ने मान्यता बुबा र परिवारको थियो। बुबा र आमा राम्रै पृष्ठभूमिबाट आएका थिए। शोभाकी आमा र अभिनेत्री मनिषा कोइरालाकी आमा फुपु चेली–मामा चेली थिए। दुवैले भारत बनारसमा सँगै पढेका थिए।
शोभाकी आमाको नेपालमा विवाह भएपछि उनका बुबाले आफ्नो परिवार आफैं पाल्नुपर्छ भन्ने मान्यता राखेका थिए। त्यसैले गर्दा उनको परिवार मध्यमवर्गको भयो। शोभा घरकी दोस्रो सन्तान हुन्। तर, उनी मामाघरमा नै हुर्किइन्।
‘म बालखैदेखि ठूलो मान्छे कसरी बन्ने र राम्रो मान्छे कसरी बन्ने भन्ने सपना देखिरहन्थेँ,’ शोभा भन्छिन्, ‘सायद, त्यही बालककालको सपना युवा हुँदै, हुर्किंदै र झाँगिदै यहाँसम्म आइपुगेको हो भन्ने मलाई लाग्छ। असल, राम्रो र नैतिकवान हुनुपर्छ भनेर त परिवारमै सिकाइएको थियो। म यसबाट कहिल्यै पनि विचलित भइनँ।’
शोभाको बानी कस्तो छ भने कसैले भन्नासाथ वा गर्नासाथ त्यसलाई समर्थन नगरिहाल्ने। चित्त नबुझे यसमा यस्तो हुनुपर्छ भनेर अड्डी कस्छिन्।
‘डिल्लीबजारको पद्मकन्या स्कुल पढेर घर फर्किंदा म बाटोमै एकदमै ठूलो, असल, नैतिकवान र राम्रो मान्छे भएको कल्पना गर्दै हिँड्थेँ,’ शोभा अतिततिर फर्किन्छिन्, ‘त्यो सपना र कल्पनालाई मैले आजसम्म पछ्याइरहेकी छु।’
एसएलसी सकेर कलेज पढ्ने तयारी गरिरहेका बेला शोभाको विवाह भयो। कलिलै उमेरमा बुहारी भएर नयाँ घर भित्रिँदा उनी आफैंलाई अचम्म लागेको बताउँछिन्।
एसएलसी सकेर खालि समयमा उनले अंग्रेजी भाषा तालिम लिएकी थिइन्। त्यही तालिमका क्रममा विनोदराज ज्ञवालीसँग भेट भएको थियो। त्यहीँबाट झाँगिएको माया बुहारी भएर सम्पन्न ज्ञवाली परिवार भित्रिएकी थिइन्।
२०४८ सालमा शोभाको विवाह भएको थियो। २०४९ सालमा कान्तिपुर पब्लिेकसन्स स्थापना भयो। सुरुको दिनमा कान्तिपुर जसरी चलेको थियो, त्यसको श्रेय ससुरा बुबा (हेमराज ज्ञवाली) लाई जाने शोभा बताउँछिन्।
‘उहाँले आफ्नो जागिरबाट अवकास लिएपछि कान्तिपुरमा जोसका साथ काम गर्नुभएको थियो। उहाँको सम्बन्धले कान्तिपुर असाध्यै राम्रो भयो। हामी र कैलाश सिरोहियाजीहरूले दिनरात मिहिनेत गरेछि कान्तिपुर देशकै सर्वश्रेष्ठ मिडिया बनेको हो। मेरो श्रीमान विनोद र कैलाशजी विद्यालयदेखि नै एकदमै मिल्ने साथी हुनुहुन्थ्यो।’
शोभा ठूलो घर भित्रिएकी थिइन्। जहाँ बुहारीले काम गर्नै हुन्न भन्ने सोच त थिएन, तर त्यो बेलाको समाज त्यही सोचको थियो। शोभाले आफ्नो क्षमता र योग्यतालाई घरमै बाँधरे नराख्ने अठोट गरिन्।
‘सासु, ससुरा, जेठानीलगायत भएको ठूलो परिवारमा भित्रिँदा सुरुवाती दिनमा त अप्ठेरो लागेको थियो। तर, श्रीमानको प्रोत्साहन र प्रेरणाका कारण काम र पढाइ अगाडि बढाउँदै लगेँ। ससुरा बुबा र श्रीमानले स्थापना गर्नुभएको कान्तिपुर पब्लिकेसन्समा जोडिएर काम पनि सिक्न थालेँ। पढाइ अगाडि बढाउँदै शंकरदेव क्याम्पसबाट एमबिएस पूरा गरेँ।’
शोभाका बुबाले ‘बुझे पनि वा नबुझे पनि पत्रपत्रिका पढ्ने गर्नू’ भन्ने गर्थे। बुबाको त्यो वचनलाई उनी शीरोपर गर्थिन्। र, कालान्तरमा मिडिया क्षेत्रलाई व्यवसाय बनाएको परिवारसँग नै शोभाको जीवन जोडिन पुग्यो।
‘बिहेपछि त्यत्तिकै घर बसेर समय खेर फाल्न हुँदैन भनेर काम सिक्नका लागि कान्तिपुरको मार्केटिङ विभागमा गएर काम गर्न थालेँ। त्यो बेला कान्तिपुरको मार्केटिङ विभाग पुतलीसडकमा थियो,’ शोभा भन्छिन्, ‘सपना देख्नेक्रम जारी थियो, सँगै छोराछोरी हुर्काउने काम पनि थियो। अनि, साथमा आफूलाई प्रमाणित गर्ने काम पनि थियो। श्रीमान विनोदको जीवन नै मिडिया क्षेत्रमा काम रहेकाले मलाई पनि आफूले सकेको गर्नुपर्छ भन्ने मनैदेखि थियो र सकेको गरेँ।’
कान्तिपुरबाट बाहिरिँदा...
आफ्नो परिवारको लगानी र मलजलबाट हुर्काउँदै नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र व्यावसायिक मिडिया हाउस बनाएको कान्तिपुर पब्लिकेसन्समा १६ वर्षपछि यस्तो अवस्था आयो कि शोभाको परिवारले कान्तिपुरबाट बाहिरिनुपर्याे।
शोभाका अनुसार कान्तिपुर छाड्नुभन्दा केही वर्ष अगाडिबाट केही फरक अवस्था सिर्जना भएको थियो। ‘श्रीमान विनोद अफिस जान पनि मन नगर्ने अवस्था बन्यो। कुनै बेला म पनि श्रीमानसँगै कान्तिपुर जान्थेँ। कैलाशजीबाट कान्तिपुर तपाईंहरू नै किन्नुस् भन्ने कुरा आएको थियो। तर, पछि गएर त्यो अवस्था केही नराम्रो भयो र हामीले आफैं बिक्री गरेर कान्तिपुरबाट अलग भयौं। १६ वर्ष मिहिनेत गरेको ठाउँ छाड्दा भावुक भएका थियौं।’
शोभाका अनुसार कान्तिपुरबाट बाहिरिएपछि पनि जानेको काम नै गर्नुपर्छ भन्ने भएपछि नयाँ मिडिया हाउस खोल्नुपर्छ भन्ने भयो र नेपाल रिपब्लिक मिडिया (नागरिक दैनिक, रिपब्लिका अंग्रेजी दैनिकलगायत) स्थापना गरिएको थियो।
‘२०६५ सालमा स्थापना गरको नेपाल रिपब्लिक मिडिया १५ वर्ष कटिसकेको छ। अहिले त पब्लिक लिमिटेड पनि भइसकेको छ। यहाँ त अब सर्वसाधारण नेपालीको पनि लगानी परेको छ,’ शोभा भन्छिन्, ‘हामी रहे पनि नरहे पनि हामीले स्थापना गरेका मिडिया वा कम्पनी रोकिनु हुँदैन र यो जुगौं चलिरहनुपर्छ भन्ने मेरो मान्यता छ।’
कान्तिपुरमा १६ वर्ष बस्दै गर्दा ससुरा बुबा र श्रीमान बढी खटिएको उनी बताउँछिन्। स्नातक अध्ययन क्रममा शोभा कान्तिपुरमा गएर जोडिएकी थिइन्। बिनातलब कान्तिपुरको मार्केटिङ विभागमा काम गरेको अहिले सम्झिँदा उनलाई रमाइलो लाग्छ।
‘यसरी केही न केही गर्नुपर्छ भन्ने मान्यता मेरो थियो। अहिले नागरिक पनि १६ वर्ष भएको छ। मैले मिडियालाई पेसाभन्दा पनि एउटा सेवा र संस्कार गर्ने प्लेटफर्म मान्छु,’ शोभा थप्छिन्, ‘यसर्थ, विभिन्न ठाउँमा राम्रो अवसर हुँदाहुँदै मेरा सन्तानले यहीँ आएर काम गरे। छोरी समृद्धिले पनि यसमा भूमिका खेलिन्। मिडिया क्षेत्रलाई मैले एकदमै सकारात्मक लिन्छु। यो देशको चौथो अंग हो। सारालाई सत्य, तथ्य र सही सूचना सम्प्रेषण गर्ने बलियो माध्यम हो। यही क्षेत्रले मलाई सामाजिक सेवाका काम गर्न अझ सहज भएको छ।’
पछिल्लोपटक बोर्ड बैठकमा मिडियाको वर्तमान अवस्था राम्रो नभएको भए पनि पब्लिक मिडियाको मानिस भएपछि यसको बेग्लै ‘भ्यालु’ मिल्ने काम भएको शोभाको अनुभव छ। हालै राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक भेट गर्न निमन्त्रणा दिनु पब्लिक मिडियाको महत्वका रूपमा उनले लिएकी छिन्।
सामाजिक कामतिर
नेपाल रिपब्लिक मिडिया सुरु गरेपछि १२ वर्षअघि महिला उद्यमी छाया शर्माले महिला उद्यमी महासंघमा आउन आग्रह गरको शोभा बताउँछिन्।
‘तर, त्यहाँ भिज्न केही समय लाग्यो। त्यहाँ बस्दै गर्दा उद्यमी हुनुपर्छ र आफूमात्रै उद्यमी नभएर अरूलाई पनि उद्यमी बनाउनुपर्छ भन्ने मान्यता मेरो थियो,’ शोभा भन्छिन्।
शोभाका अनुसार महिला उद्यमी महासंघमा गएपछि त्यहाँ महिलाका विषयहरू जान्ने मौका मिल्यो। उनीहरू ‘खोलाको छेउको घाँसलाई पानीले हाने जसरी हानिएका’ मानिस थियौं भनेर सुनाउँथे।
‘त्यसपछि मैले लेख्न पनि सुरु गरेँ। महिला दिदीबहिनी र बालबालिकाका विषय उठाउन थालेँ। महिलालाई उद्यमी कसरी बनाउने, महिला सशक्तिकरण कसरी गर्ने भन्नेमा काम गर्न थालेँ,’ उनी भन्छिन्।
महिलालाई उद्यमी बनाएपछि उनीहरूले बनाएका सामग्री बिक्री गराउने, अन्तर्राष्ट्रियस्तरमा बिक्री हुने बनाउन उनी लागिपरिन्। सबै कुरा सिकाउने र सिक्ने गर्न थालिन्।
‘महासंघ भनेको काम गर्न सहज बनाउनेमात्रै हो। यसो गर्दा गर्दै भएकालाई थप बनाउँदै जाने र अरू थप्दै जाने क्रममा छौं। अहिले हामी ६१ जिल्ला र सातवटै प्रदेश पुगेका छौं। यो च्याप्टरले पनि इकाइ च्याप्टर खोलेको छ। कुना–कुना र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म गर्ने काममा हामी लागेका छौं,’ शोभा उत्साही हुँदै भन्छिन्, ‘हामीसँग पैसा नभएका कारण विभिन्न दातासँग सहयोग माग्यौं। उद्यमी बन्न आवश्यक थुप्रै कुरा पनि हामीले अगाडि बढाउन आवश्यक छ। अन्तर्राष्ट्रियस्तरमा लैजान अन्तर्राष्ट्रिय महिला उद्यमी मेला वर्षमा एकपटक गर्ने गरेका छौं। यसमा हामीले नेपालभरिका महिलाले बनाएका सामान प्रदर्शन र बिक्री–वितरण गर्छौं।’
सानो छँदा यही गर्छु वा यही बन्छु भन्ने नभए पनि सपना देख्न भने नछाडेको शोभा खुसीसाथ बताउँछिन्। ‘तर, मबाट समाजले केही पाओस् अनि म कसैलाई केही सिकाउन र केही दिन सक्ने व्यक्ति बनुँ भन्ने मेरो चाहना थियो,’ शोभा निष्फिक्री सुनिन्छिन्, ‘अहिले पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्छु। तर, अरूलाई सिकाउँछु। गल्ती गरेर लुकाउने काम पनि गर्नु हुँदैन।’
मिडियालाई सरकारले पनि चल्न सहयोग गर्नुपर्ने शोभा बताउँछिन्। देश बनाउन मिडियाको ठूलो हात हुने र नेपालमा जुन कुसिमको परिवर्तन आयो यसमा मिडियाको ठूलो भूमिका रहेको उनको भनाइ छ।
नेपाल रिपब्लिक मिडियाका निर्देशक शोभा हाल महिला उद्यमी महासंघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय कार्यकारिणी समिति सदस्य हुन्। त्यस्तै नेपाल-फिलिपिन्स चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको निवर्तमान अध्यक्ष पनि हुन्।
‘नेपालमा महिला विभिन्न कारण उद्यमबाट माथि आउन नसकेको अवस्था छ। यसको मुख्य कारण भनेको शिक्षाको कमी हो। काठमाडौं, विराटनगर र वीरगन्जजस्ता सहरका महिलाले उद्यम बढाउन भूमिका खेल्नुपर्छ,’ शोभा भन्छिन्, ‘महिलालाई शिक्षा प्रदान गरेमात्र उनीहरूले आफ्ना कुरा बुझ्छन्। हिजोसम्म समय, शिक्षा, लगानी र वातावरण अभावका कारण महिला उद्यमी माथि आउन सकेका थिएनन्, अहिले समय फेरिएको छ।’
शोभालाई कतिले विनोदको श्रीमतीका रूपमा चिने पनि उनको आफ्नै पहिचान छ। उनले दुईवटा पुस्तक पनि लेखिसकेकी छिन्। ‘मेरो श्रीमान विनोद एकदमै शान्त, सहयोगी र परिवारका सदस्य अगाडि बढाउनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ। मानिस दौडियो भने र आफ्नो लक्ष्य र उद्देश्य स्पष्ट भयो भने सफल हुन्छ,’ उनी भन्छिन्, ‘अहिले हजुरआमा भएको छु। माया गर्ने मानिस बढेका छन्। मैले मेरो हजुरआमा बुढी देखेँ, तर म हजुरआमा हुँदा भने भर्खरको छु। अर्थात, मानिस ३० वर्षकै हुँदा पनि उसले काम गर्दैन वा केही गर्दैन भने ऊ बुढो हो। तर, केही गर्छ र गर्न सक्छ भने ऊ बुढो होइन। यस हिसाबमा म अहिले पनि काम गरिरहेकी छु। म दोडिन सक्छु। जीवनमा मानिस हौसला हुने, ऊर्जा दिने हुनुपर्छ। यस्तो भएन भने मानिस बिरामी हुन्छ।’
मानिसले कहिल्यै पनि नकरात्मक सोच्न नहुने र सधैं आफ्नो मिसनमा अगाडि बढे त्यसबाट सफलता प्राप्त हुने शोभाको अनुभव छ। ‘बाटोमा हिँड्दा सपना देख्थेँ, अहिले यो अवस्थामा आइपुग्दा पनि सपना देख्न छाडेको छैन। तर, अहिले अरूलाई सपना देखाउँछु। अझै मैले गरेको पुगेको छैन। यो क्षेत्रमा गरौं, त्यो क्षेत्रमा गरौं भनेर अझै पनि लाग्छ,’ उनी भन्छिन्, ‘दुई वर्ष अगाडि युथ कन्फ्रेन्स गरेँ। नेपालमा उद्यमशीलताका विषय कम छन्। नेपालको शिक्षालयले जुन किसिमको उद्यमशीलता सिकाउँथे, आज त्यो अवस्था हाम्रो मुलुकमा छैन। यस्ता उद्यमशीलताका विषय हामीले आफ्ना बालबालिकालाई सिकाउनुपर्छ।’
आफू जहाँ गए पनि केही सिक्नुपर्छ र सिक्ने काममा पछाडि नपर्ने शोभा बताउँछिन्। ‘छोरी समृद्धिलाई मैले समाजमा के छ? जीवन के हो? यो गर वा नगर भनेर सिकाएकी छु। जीवन भनेको संघर्ष हो,’ शोभा थप्छिन्, ‘यदि अगाडि बढ्ने हो भने यो निरन्तर अगाडि बढ्छ। आफ्ना इच्छा–आकांक्षा लिएर अगाडि बढ्नुपर्छ। दिनमा सपना देख्नुपर्छ र जिन्दगीमा संघर्ष गर्नुपर्छ। जिन्दगी भनेको नै यही हो।’