काठमाडौं। ललितपुर एकान्तकुनास्थित ‘सेकेन्ड ह्यान्ड’ (एकपटक प्रयोग भइसकेको) सवारीसाधन खरिद–बिक्री गर्ने आर मोटर्समा करिब ६ महिनाअघि एउटा चर्चित विद्युतीय गाडी (इभी) बिक्रीका लागि आयो।
नयाँमा करिब ४५ लाख रुपैयाँ पर्ने उक्त गाडीलाई आर मोटर्स सञ्चालक सुसन केसीले २४ लाखमा किने।
यसअघि इभी खरिद–बिक्री नगरेका केसीले यो गाडीमा राम्रो मुनाफा लिने सोच बनाएका थिए। तर, उनको सोचविपरीत उक्त गाडी किन्ने ग्राहक नै पाएनन्। करिब चार÷पाँच महिनापछि उनले त्यो गाडी खासै नाफा नलिई बेचे।
‘ग्राहकले इभी किन्दा सेकेन्ड ह्यान्डभन्दा आइसिई इन्जिन नै खोज्ने रहेछन्। गाडीको इन्जिनजस्तो ब्याट्री चेक गर्न नसकिने हुनाले हामीलाई पनि इभीभन्दा आइसिई इन्जिनका गाडी किन्दा नै सहज हुन्छ,’ केसीले क्यापिटल नेपालसँग भने।
सेकेन्ड ह्यान्ड गाडी किन्न आउनेले आइसिई इन्जिनकै गाडी खोज्ने गरेको काठमाडौं बालाजु चमतीस्थित धनेश्वर आटोमोबाइल एन्ड रिकन्डिसन सञ्चालक पुजन थापा बताउँछन्।
‘अहिलेसम्म त मेरोमा एकजना पनि इभी किन्न आएका छैनन्। कहिलेकाहीँ सामाजिक सञ्जालमा इभीको ब्याट्री सकिएर अर्को गाडीले ‘टो’ गरेर चार्जिङ स्टेसन लगेको भिडियोले ग्राहकमाझ नराम्रो सन्देश दिएको हुन सक्छ,’ उनले भने।
रिकन्डिसन बजारमा हालसम्म इभीले प्रवेश पाउन नसकेको बिआर अटो पोखराका सञ्चालक राजनराज गिरीले बताए।
‘अहिलेको अवस्थामा त रिकन्डिसन बजारमा इभीको खासै अस्तित्व छैन, तर सधैं यस्तै अवस्था हुन्छ भन्न सकिँदैन,’ उनले भने।
इभीका लागि अहिले परीक्षणकालीन समय भएकाले आगामी केही वर्षमा यसको नतिजा आउने उनको तर्क छ।
‘नेपालमा इभी राम्रोसँग व्यापार हुन थालेको चार÷पाँच वर्षमात्र भयो। सुरुमा इभी किनेकाले पनि बल्ल गाडी फेर्ने बेला हुन लाग्यो,’ गिरीले भने, ‘रिकन्डिसन बजारमा इभीको अवस्था बुझ्न अझै दुई÷चार वर्ष कुर्नैपर्छ।’
अहिलेसम्म इन्जिनमा जस्तो ब्याट्रीको अवस्था बुझ्ने कुनै आधार नभएकाले पनि ग्राहक सेकेन्ड ह्यान्ड इभीमा विश्वस्त हुन नसकेको उनको तर्क छ।
त्यसैगरी इभी खरिद गर्न २० प्रतिशतमात्र ‘डाउन पेमेन्ट’ गर्नुपर्ने भएकाले ग्राहक सेकेन्ड ह्यान्डभन्दा नयाँ खरिद गर्न इच्छुक देखिएको उनले बताए।
इभीको रिकन्डिसन बजारका लागि अझै केही समय पर्खिनुको विकल्प नभएको दिगो इलेक्ट्रिक भेइकलका अध्यक्ष राजन आयमाझी बताउँछन्।
‘पहिलो कुरा त नयाँ इभी किन्दा ग्राहकले ८० प्रतिशत फाइनान्सिङ सुविधा पाउँछन्, तर रिकन्डिसनमा फाइनान्सिङको समस्या छ,’ रायमाझीले भने, ‘त्यस्तै, रिकन्डिसन व्यवसायीमा इभी किन्ने कन्फिडेन्ट (आत्मविश्वास) अभाव छ। उहाँहरूलाई पनि बेच्न सक्छु कि सक्दिन भन्ने दोधार कायमै छ।’
त्यस्तै कुनै पनि चिजको रिकन्डिसन बजार बन्न निश्चित समय लाग्ने रायमाझीको तर्क छ। ‘टोयोटाको रि–सेल भ्यालु निकै राम्रो छ। यो बन्न टोयोटाले दशकौं ग्राहकलाई सेवा दियो। इभीमा यो समय आउन बाँकी नै छ,’ उनले भने, ‘त्यस्तै इभी सजिलै परीक्षण गर्न नसकिने भएकाले पनि तत्काल रिकन्डिसन बजारमा फस्टाउन नसकेको हो।’
आयात भने उत्साहजनक
रिकन्डिसन बजारमा इभीको स्थिति राम्रो नदेखिए पनि नयाँ गाडी आयात भने सन्तोषजनक छ। चालू आर्थिक वर्ष २०८०÷८१ साउन र भदौमा २ अर्ब ४३ करोड १५ लाख ९५ हजार रुपैयाँबराबर २ सय २५ थान विद्युतीय जिप, कार र भ्यान आयात भएको छ।
त्यस्तै गत आर्थिक वर्ष सोही अवधिमा १ अर्ब १९ करोड ४३ लाख ५९ हजार रुपैयाँको १ सय ३८ थानमात्र विद्युतीय जिप, कार र भ्यान आयात भएको थियो।