काठमाडौं। लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरुमध्ये १५.१० प्रतिशतलेमात्रै बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर खर्च व्यवस्थापन गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले उक्त प्रदेशबाट वैदेशिक रोजगारीमा जाने ८४.९० प्रतिशतले ऋण÷सापटी लिएर विदेश गएको देखाएको छ।
केन्द्रीय बैंकको लुम्बिनी प्रदेश कार्यालय सिद्धार्थनगरले गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रका परेको प्रभाव’ अध्ययन प्रतिवेदन उक्त तथ्यांक बाहिर ल्याएको हो।
उक्त प्रदेशबाट वैदेशिक रोजगारीमा गएका श्रमिकहरुमध्ये ९७.६५ प्रतिशतले बंैकिङ प्रणाली प्रयोग गरी विपे्रषण (रेमिट्यान्स) नेपालमा पठाउने गरेको पाइएको छ। २.३५ प्रतिशतले गैर बैंकिङ माध्यमबाट रकम पठाउने गरेको अध्ययनले देखाएको छ।
वैदेशिक रोजगारीमा संलग्न परिवारका सदस्यहरुमध्ये ८६ प्रतिशतले आर्थिक कारोबार गर्न विद्युतीय माध्यम तथा चेकको प्रयोग गरेको र १४ प्रतिशत परिवारले आजको अवस्थासम्म पनि नगद मात्र कारोबार गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
वैदेशिक रोजगारीमा गएपश्चात् संलग्न परिवारका सदस्यहरुको बचत खाता तथा कर्जा खाता सङ्ख्यामा क्रमश : ३९.५८ प्रतिशत तथा १३०.६५ प्रतिशत वृद्धि भएको छ। त्यस्तै, वैदेशिक रोजगारी जानुपूर्व बैंकमा कुनै पनि खाता नरहेको परिवार सङ्ख्या ३७.०८ प्रतिशत रहेकोमा अहिले उल्लेख्य सुधार आई रोजगारीमा गए पश्चात् बैंक तथा वित्तीय संस्थामा खाता नरहेको परिवारको सङ्ख्या घटेर ०.५२ प्रतिशतमा खुम्चिएको छ।
अध्ययनअनुसार वैदेशिक रोजगारीमा गएका मध्ये ६४.४९ प्रतिशतले नयाँ घर निर्माण, तला थप तथा अन्य संरचनागत परिवर्तन गरेका छन्। ३५.५१ प्रतिशतले कुनै पनि संरचनागत परिवर्तन नगरेको पाइएको छ।
राष्ट्र बैंकले नेपालका धेरैजसो उत्पादनशील जनशक्ति वैदेशिक रोजगारीमा आबद्ध भएको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै वैदेशिक रोजगारीबाट आप्रवाह भएको विप्रेषणले लुम्बिनी प्रदेशमा पारेको आर्थिक तथा सामाजिक प्रभावको बारेमा अध्ययन गरी उक्त अध्ययन प्रतिवेदन तयार गरेको हो।
लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही र रोल्पाबाट वैदेशिक रोजगारीमा गएका ३ सय ८३ परिवारहरुको स्थलगत सर्वेक्षण गरिएको थियो। जसको लैङ्गिक हिसावले विश्लेषण गर्दा पुरुष ९४ प्रतिशत तथा महिला ६ प्रतिशत रहेका छन्। वैवाहिक अवस्थाको आधारमा विवाहित ८५.९० र अविवाहित १४.१० प्रतिशत छन्।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपालबाट श्रम स्वीकृति लिनेको सङ्ख्या आर्थिक वर्ष २०७८/७९ को तुलनामा २२.४२ प्रतिशत वृद्धि भई ७ लाख ७१ हजार ३ सय २७ पुगेको छ। लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संङ्ख्या आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा ८.५५ प्रतिशत बढेर १ लाख ३६ हजार ९ सय ८४ पुगेको छ। यो सङ्ख्या श्रम स्वीकृति लिने कुल सङ्ख्याको १७.७६ प्रतिशत हो।
अध्ययनअनुसार वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको शैक्षिक अवस्था हेर्दा आधारभूत, माध्यमिक, स्नातक र स्नातकोत्तर वा सो भन्दा माथि अध्ययन गरेका व्यक्तिहरु क्रमशः ४०.७३, ४३.०८, १३.३२ र २.८७ प्रतिशत रहेको देखिन्छ। वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकहरुमध्ये सबैभन्दा बढी यूएईमा २४.२८ प्रतिशत र सबैभन्दा कम ओमन तथा बहराइनमा १.८३ प्रतिशत वैदेशिक रोजगारीका लागि गएका छन्।
अध्ययनमा समेटिएका परिवारहरुमध्ये वैदेशिक रोजगारीअन्तर्गत ५ वर्षभन्दा कम अवधि काम गर्ने ३६.८२ प्रतिशत र ५ वर्षभन्दा बढी काम गर्ने ६३.१८ प्रतिशत छन्। वैदेशिक रोजगारीमा जानुपर्ने कारणहरुमध्ये पारिवारिक आर्थिक अवस्था सुधार्न जाने सबैभन्दा बढी अर्थात ४१.८० प्रतिशत छन्।
अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्नमध्ये सीपमूलक तालिम नलिई जाने ७६ प्रतिशत रहेका छन्। तालिम लिएर जाने २४.० प्रतिशत छन्। त्यस्तै वैदेशिक रोजगारीमा जानुपूर्व स्वदेशमा कुनै पेशामा आबद्ध र आबद्ध नरहेका व्यक्तिहरु क्रमशः ४० र ६०.० प्रतिशत छन्।
अध्ययनअनुसार वैदेशिक रोजगारीबाट वार्षिक ५ लाखसम्म, ५ देखि १० लाखसम्म र १० लाख भन्दा माथि आय—आर्जन गर्नेहरु क्रमशः ४२.३०, ३९.६९ र १८.०१ प्रतिशत छन्।
वैदेशिक रोजगारीमा जाँदा १ लाखसम्म, १ लाखदेखि २ लाखसम्म, २ लाखदेखि ३ लाखसम्म,.३ लाखदेखि ४ लाखसम्म र ४ लाख रुपैयाँभन्दा माथि खर्च गरेर जानेहरु क्रमशः २२.५०, ४२, १४.९, ४.७० र १५.९० प्रतिशत रहेको अध्ययनले देखाएको छ।
अध्ययनमा समेटिएका नमूना परिवारहरुले वैदेशिक रोजगारीबाट आर्जन गरेको रकममध्ये दैनिक उपभोग, शिक्षा/स्वास्थ्य, ऋण तिर्न र मनोरञ्जन तथा अन्यमा क्रमशः ५८.७८, २२.४८, १०.०७ र ८.६७ प्रतिशत खर्च गरेको देखिन्छ।
अध्ययनमा समेटिएका नमूना परिवारहरुमध्ये ९६.६१ प्रतिशत परिवारको दैनिक उपभोग खर्च वैदेशिक रोजगारीमा जानुपूर्वको तुलनामा बढेको छ। त्यस्तै, ९६.०८ प्रतिशत परिवारको चाडपर्व/मनोरञ्जन/सामाजिक खर्चसमेत बढेको पाईएको छ। लगानीको अवस्था हेर्दा व्यापार व्यवसाय, घर÷घडेरी र गरगहनामा क्रमशः ६८.२१, ६५.८० र ६३.१९ प्रतिशत परिवारको लगानी विस्तार भएको पाईएको छ।
अध्ययनमा समेटिएका वैदेशिक रोजगारीमा संलग्न परिवारहरुमध्ये ८८.२५ प्रतिशत परिवारले बचत रकम बढेको बताएका छन्। उक्त परिवारमध्ये १३.०५ प्रतिशतले खेतीयोग्य जमिन बढेको, ५१.४४ प्रतिशतले खेतीयोग्य जमिन यथावत रहेको तथा ३५.५१ प्रतिशतले खेतीयोग्य जमिन घटेको बताएका छन्।
वैदेशिक रोजगारीमा गएका श्रमिकहरुमध्ये ९७.६५ प्रतिशतले बंैकिङ माध्यमको प्रयोग गरी विपे्रषण रकम नेपालमा पठाउने गरेको पाइयो भने २.३५ प्रतिशतले गैर बंैकिङ्ग माध्यमबाट रकम पठाउने गरेको यस अध्ययनले देखाएको छ।
वैदेशिक रोजगारीमा संलग्न परिवारका सदस्यहरुमध्ये ८६ प्रतिशतले आर्थिक कारोवार गर्न विद्युतीय माध्यम तथा चेकको प्रयोग गर्ने गरेको पाइएको छ भने, १४.० प्रतिशत परिवारले आजको अवस्थासम्म पनि नगद मात्र प्रयोग गरेको पाइएको छ।
वैदेशिक रोजगारीमा गए पश्चात् संलग्न परिवारका सदस्यहरुको बचत खाता तथा कर्जा खाता सङ्ख्यामा क्रमश : ३९.५८ र १३०.६५ प्रतिशत वृद्धि भएको देखिएको छ। त्यस्तै, वैदेशिक रोजगारी जानुपूर्व बैंकमा कुनै पनि खाता नरहेको परिवार सङ्ख्या ३७.०८ प्रतिशत रहेकोमा सो सङ्ख्यामा उल्लेख्य सुधार आई रोजगारीमा गए पश्चात बैंक तथा वित्तीय संस्थामा कुनै पनि खाता नरहेको परिवारको सङ्ख्या घटेर ०.५२ प्रतिशतमा खुम्चिएको अध्ययनले देखाएको छ।
वैदेशिक रोजगारीमा गए पश्चात आधुनिक सञ्चार माध्यममा पहँुच भएको परिवारको सङ्ख्यामा उल्लेख्य सुधार आई ९८.९६ प्रतिशत पुगेको छ। बाँकी १.०४ प्रतिशत परिवारले पनि सामान्य सञ्चार माध्यमको प्रयोग गरेका छन्। त्यसैगरी, वैदेशिक रोजगारीमा जानुपूर्व गुणस्तरीय खानेपानीको प्रयोग गर्ने परिवार ५६.९२ प्रतिशत रहेकोमा सोमा वृद्धि भई ७९.६३ प्रतिशत पुगेको छ भने बाँकी २०.३७ प्रतिशत परिवार अझै पनि परम्परागत खानेपानीको प्रयोगमा निर्भर रहेकोअध्ययनले देखाएको छ।
अध्ययनमा समेटिएका परिवारहरुमध्ये वैदेशिक रोजगारीमा गएका सदस्यहरुको बालबच्चाको स्याहार—सुसार ८२.२४ प्रतिशत परिवारमा आमा÷बुवा, एकाघर परिवारका सदस्य लगायत आफन्तहरुले गर्ने गरेका छन् भने नगन्यरुपमा अर्थात ०.५२ प्रतिशत बोर्डस÷होस्टेलमासमेत राख्ने गरेको देखिन्छ। त्यसैगरी नमूना सर्वेक्षणमा छनौट भएका सदस्यहरु मध्ये १७.२४ प्रतिशत अविवाहित एवम् बालबच्चा नभएका देखिन्छन्।
वैदेशिक रोजगारीमा रहेका शत्प्रतिशत परिवारका सदस्यको निजी तथा सरकारीस्तरका स्वास्थ्य सेवा÷सुविधाहरुमा पहुँच रहेको देखिन्छ। ४८ प्रतिशत घर परिवार स्वास्थ्य बिमामा आबद्ध भएको देखिन्छ। जिल्लागत रुपमा वैदेशिक रोजगारीमा गएका परिवारको स्वास्थ्य बिमामा आबद्धता गुल्मीमा सबैभन्दा धेरै ६९.२३ र रोल्पामा सबैभन्दा कम २१.०५ प्रतिशत रहेको अध्ययनबाट देखिन्छ ।
अध्ययनमा समेटिएका नमूनाहरुमध्ये ३७.९६ प्रतिशत परिवारको वैदेशिक रोजगारीमा गए पश्चात् सम्बन्ध सुधार भएको देखिन्छ। ५४.२८ प्रतिशत परिवारको सम्बन्ध यथावत छ भने ७.७६ प्रतिशत परिवारको सम्बन्ध कमजोर तथा बिग्रिएको देखिन्छ।
वैदेशिक रोजगारीमा जानुपूर्व लघुवित्त, सहकारी तथा अन्य संघ संस्थाहरुमा पारिवारिक सदस्यहरुको आबद्धता ३७.३४ प्रतिशत रहेकोमा सोमा वृद्धि भई ६४.२३ प्रतिशत पुगेको छ।
वैदेशिक रोजगारीमा संलग्न व्यक्ति र परिवारका सदस्यहरु मध्ये ५५.३५ प्रतिशतले सार्वजनिक सवारीसाधन मात्र प्रयोग गर्ने गरेको देखिन्छ भने बाँकी ४४.६५ प्रतिशतले सार्वजनिक र निजी दुवै प्रकारका सवारी साधन प्रयोग गर्ने गर्दै आएका छन्।