बेइजिङ,एएफपी। चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनी, एभरब्राइट ग्रुपका पूर्वप्रमुखलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको’ भन्दै सत्तारुढ कम्युनिस्ट पार्टी (सीपीसी) बाट सार्वजनिक पदमा रहन अयोग्य हुनेगरी बर्खास्त गरिएको छ।
यसअघि एभरब्राइटको पार्टी सचिव र अध्यक्षका रूपमा काम गरेका ली सियाओपेङलाई अनुशासनको छानबिनपछि सजाय सुनाइएको हो।
समाचार एजेन्सी सिन्ह्वाका अनुसार लीले उपहार र पैसा लिएको, आचरण सुधार गर्ने पार्टीको नीतिको अवज्ञा गरेको र उनको मुद्दाको अनुसन्धानमा बाधा पुर्याउने प्रयास गरेका थिए।
सिन्ह्वाले भनेको छ, “लीले पदाधिकारीको छनोट र नियुक्तिमा अरूका लागि फाइदा मागेका थिए। आफ्नो शक्तिको फाइदा उठाउँदै आफ्ना नातेदारलाई उनीहरूको व्यवसाय सञ्चालन गतिविधिमा नाफा सुरक्षित गरेका थिए।”
एक अर्थशास्त्रीको रूपमा प्रशिक्षित, लीले आफ्नो कामको अधिकांश समय वित्त उद्योगमा बिताएका छन्।
मार्च २०२२ मा चाइना एभरब्राइटको अध्यक्षपदबाट सेवानिवृत्त हुनुअघि उनले धेरै प्रमुख चिनियाँ बैंकहरूमा नेतृत्वदायी पदहरूमा सेवा गरेका थिए।
राष्ट्रपति सी चिनफिङले कथित भ्रष्टाचारविरुद्ध आक्रामक कारबाहीको नेतृत्व गरिरहेका छन्।
चीनको केन्द्रीय अनुशासन अनुगमन आयोग (सीसीडीआई) ले मार्चमा चाइना एभरब्राइट ग्रुप र देशको वित्तीय क्षेत्रका अन्य प्रमुख खेलाडीसहित ३० वटा सरकारी स्वामित्वका उद्यमहरूलाई लक्षित गरी ‘अनुगमन यात्रा’सुरु गर्ने बताएको थियो।
गत महिना चाइना लाइफ इन्स्योरेन्सका पूर्वअध्यक्ष तथा सीसीपी प्रमुख वाङ बिनलाई घुस लिएको र विदेशमा बचत लुकाएको आरोपमा ‘दुई वर्षको जेल सजायसहित मृत्युदण्ड’ दिइएको थियो।
उनको सजाय ‘आजीवन कारावासमा परिवर्तन’ हुनसक्ने बताइएको छ ।