काठमाडौं। दसैंअघि नै ५ वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने भएका छन्। स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, नेपाल इनफ्रास्ट्रक्चर बैंक (निफ्रा) र नेपाल एसबीआइ बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दसैंअघि लाभांश घोषणा गर्न आवश्यक प्रकृया सुरु गरेका हुन्।
सेयरधनीलाई दसैंअघि नै प्रतिफल घोषणा गर्न बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरणको अन्तिम लेखा परीक्षण गराइ नेपाल राष्ट्र बैंकमा वित्तीय विवरणमा प्रारम्भिक स्वीकृति (प्रिलिमनरी अप्रुभल ) का लागि पुगेका छन्। यी बैंकहरुको वित्तीय विवरणमा दसैं बिदाअघि नै प्रिलिमनरी अप्रुभल दिने राष्ट्र बैंकको वाणिज्य बैंक सुपरिवेक्षणका एक अधिकारीले बताए।
‘यि ५ वाणिज्य बैंकले दसैंअघि नै प्रिलिमनरी अप्रुभल पाउँछन्, लाभांश घोषणा दसैंअघि नै गर्न पाउँने भए पनि साधारणसभा अन्तिम स्वीकृति पाएको २१ दिन पछिमात्रै गर्नु पाउने भएकाले तिहारपछि नै हुन सक्छ’ राष्ट्र बैंक स्रोतले क्यापिटल नेपालसँग भन्यो।
राष्ट्र बैंकले यी बैंकहरुले पेश गरेको वित्तीय विवरणमा विस्तृत मुल्यांकन गर्दै गत वर्ष यी बैंकहरुले छुट्याउनु पर्ने कर्जा नोक्सानी, साधारण जगेडा कोष, कर्मचारीको तालिम, सामाजिक उत्तरदायित्व कोषमा छुट्याउनु पर्ने पैसालगायत थप गर्नुपर्ने ठाँउमा थप्न लगाएर प्रारम्भिक स्वीकृति दिने स्रोतको भनाइ छ।
५ वाणिज्य बैंकले आफ्नो क्षमताअनुसार लाभांश वितरण गर्न राष्ट्र बैंक सूपरिवेक्षण विभागमा वित्तीय विवरण पेश गरेका हुन्। विभागले बैंकको वित्तीय विवरण प्रिलिमिनरी अप्रुभल पाएपछि सोहीअनुसार बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई दिने लाभांश घोषणा गर्नेछ।
घोषित लाभांश राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएपछि मात्र साधारणसभाको मिति तय गरी लगानीकर्तालाई वितरण हुन्छ। राष्ट्र बैंकबाट पारित भएको वित्तीय विवरणको क्षमताअनुसार नै लाभांश घोषणा गर्ने/नगर्ने भन्ने सम्बन्धित बैंकमा नै भर पर्छ। क्षमताअनुसार लाभांश वितरण नगरेर केही बैंकहरुले रिजर्भमा समेत वितरणयोग्य नाफाको पैसा राख्छन्।
यसअघि राष्ट्र बैंकबाट वित्तीय विवरणमा प्रारम्भिक र अन्तिम स्वीकृत पाएर ६ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरि सेयरधनीलाई वितरणको प्रकृयामा छन्। लाभाश घोषणा गरी राष्ट्र बैंकको अन्तिम स्वीकृति पाएर साधारणसभा बोलाएका बैंकहरुमा एभरेष्ट, सानिमा, सिटिजन्स र एनआइसी एसिया बैंक हुन् भने माछापुच्छ्रे बैंकले साधारणसभा सम्पन्न गरी सेयरधनीमा लाभांश वितरणसमेत गरिसकेको छ।
दसैंअघि लाभांश घोषणा गर्ने बैंकहरुको क्षमता कति?
राष्ट्र बैंकमा गत आर्थिक वर्षको वित्तीय विवरण पेश गर्ने बैंकहरु स्ट्याण्डर्ड चार्टर्ड, एनएमबी, सिद्धार्थ नेपाल इनफ्रास्ट्रक्चर र नेपाल एसबीआईले सेयरधनीलाई ४.८८ प्रतिशतदेखि २९ प्रतिशतसम्म लाभांश वितरण क्षमता राख्छन्। जसमध्ये सबैभन्दा धेरै स्ट्याण्र्डर्ड चार्टर्डको हुँदा सबैभन्दा थोरै निफ्राको ४.८८ प्रतिशतमात्र छ।
स्ट्याण्डर्ड चार्डर्ट बैंक: बैंकले गत आर्थिक वर्षमा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ हो। जसअनुसार बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २८.९९ प्रतिशत लाभांश बाढ्ने क्षमता राख्छ।
नेपाल एसबिआइ बैंकः बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४१ करोड १० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। हाल बैंकको कायम चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख रुपैयाँ हो। जसअनुसार बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३.५९ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।
एनएमबी बैंकः बैंकले गत आर्थिक वर्षमा १ अर्ब ५५ करोड ५० लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। ऋहिले बैंकको कायम चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ छ। जसअनुसार बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ८.४४ प्रतिशत लाभांश दिने क्षमता राख्छ।
सिद्धार्थ बैंकः बैंकले गत आर्थिक वर्षमा ७९ करोड ५७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। बैंकको कायम चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ हो। जसअनुसार बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५.६५ प्रतिशत लाभांश बाढ्ने क्षमता राख्छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकः बैंकले गत आवमा १ अर्ब ५ करोड ४९ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ। बैंकको कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ हो। जसअनुसार बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४.८८ प्रतिशत लाभांश बाँड्ने क्षमता राख्छ।