काठमाडौं। व्यवसायीक घराना वैद्यज अर्गनाइजेशन अफ इण्डष्ट्रिज एण्ड ट्रेडिङ हाउसेज (भोइथ)ले स्थापनाको ५६ वर्षपछि दुई पाङग्रे सवारी साधानको व्यापार सुरु गरेको छ।
विश्वको अटो बजारनै विद्युतीय सवारी साधनतर्फ मोडिरहेको बेला बैद्यज अर्गनाइजेसनले बैद्यज इनर्जीमार्फत भारतीय प्रसिद्ध ब्राण्ड ‘एथर’ स्कुटर भित्र्याएको हो।
भोइथले भारतको अग्रणी स्मार्ट इलेक्ट्रिक स्कुटर निर्माता एथर इनर्जीसँग रणनीतिक ग्राउण्डब्रेकिङ सहकार्य सुरु गरेको हो। तिहार अघिबाट बिक्री सुरु गर्ने उद्धेश्यका साथ अर्गनाइजेशनका तेस्रो पुस्ता सूर्यान्श वैद्यले बैद्यज इनर्जी लिड गरिरहेका छन्। सूर्यान्श सुरज बैद्यका छोरा हुन्।
भोइथ अर्गनाइजेशनले सुरुवाती चरणमा फ्लागशिप मोडेल ४५० एक्स नेपालमा ल्याउने छ। यो ब्राण्ड नेपाली बजारको लागि प्रिमियम हो। एथरसँग ३४० एस मोडलको स्कुटर पनि छ। तर,नेपालमा पछिल्लो समय प्रिमियम खालका स्कुटरहरुको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै सुरुवाती चरणमा ४५० एक्स ल्याउन लागेको बैद्यज इनर्जीका प्रमुख कार्यकारी अधिकृत(सिइओ) सूर्यान्शले जानकारी दिए।
बजारको मागअनुसार ३४० एस मोडलको पनि स्कुटर ल्याउने चाहना रहेको उनले बताए। नेपालको सडक सुहाउदो ब्राण्ड ४५० एक्स नै रहेकोले धेरै नेपालीहरुको मन जित्नेमा आफुहरु ढुक्क रहेको उनको भनाइ छ। भारतमा महंगा इलेक्ट्रिक स्कुटरभित्र पर्ने एथरको नेपाली बजारमा मूल्य कति रहने टुंगो अहिलेसम्म लागि नसकेको उनले बताए। भन्सार शुल्कको कारण त्यहाँभन्दा महंगो हुने भए पनि अहिले नै कतिसम्ममा बिक्री गर्ने भन्ने निर्धारण हुन नसकेको सिईओ बैंद्यको भनाई छ।
’हामी विश्वास गर्छौ कि गतिशीलताले सांसारिक जीवनलाई पार गर्नुपर्छ, यो मानिसको जीवनमा आनन्द र रोमाञ्चकता ल्याउने अनुभव हुनुपर्छ,’ सिईओ बैंद्यले भने, ‘एथर इनर्जीसँगको सहकार्यबाट अत्याधुनिक विद्युतीय सवारी प्रविधिको साथमा विशेषज्ञतासँग ‘फ्यूजन’ गर्दै गतिशीलताको क्षेत्रमा पूर्ण रूपमा नयाँ स्तरको उत्साहको लागि चरण सेट गर्नेछ।’
एथरका चिफ बिजनेस अफिसर रवनीत फोकेलाले भारतमा अग्रणी रहेको स्कुटरलाई नेपाली बजारमा पठाउन पाउँदा निकै खुसी लागेको बताए। ‘अन्तर्राष्ट्रिय बजारहरूमा हाम्रो व्यापारको पदचिह्न विस्तार गर्न हामी साँच्चै उत्साहित छौं, चिफ बिजनेस अफिसर रवनीतले भने ‘नेपाल हाम्रो अन्तर्राष्ट्रिय जाने यात्राको पहिलो पाइला हो।‘
नेपाली बजारमा प्रवेश गर्दा वैद्यज समूहसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताउदै अटोमोटिभ रिटेल क्षेत्रमा सो ग्रुपको व्यापक अनुभव र स्थापित विशेषज्ञताले ग्राहकहरूका लागि असाधारण अनुभव सिर्जना गर्ने विश्वास लिएको बताए।
कम्पनीले नेपालमा एथर स्पेस, रिटेल आउटलेट, नेपालभर द्रुत चार्जिङ नेटवर्क, एथर ग्रिडहरू स्थापना गर्ने गरी सम्झौता गरेको छ। स्कुटरका ग्राहकलाई लक्षित गरी त्यसका लागि आवश्यक पूर्वधारहरुहरु बनाउनसमेत ध्यान केन्द्रित गर्ने जनाएको छ।
बैद्यज अर्गनाइजेशनले सधैं गुणस्तरीय उत्पादन ल्याउने र उपभोक्तालाई अलग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। त्यहि लक्ष्य अनुसार कम्पनीले नेपालमा विश्वकै सफल कार ब्राण्ड टोयोटाका उत्पादन विगत ५६ वर्षदेखि बिक्री गर्दै आएको उनले बताए।
यस्तो छ स्कुटरको विशेषता
एथरले आफ्ना उत्पादन विश्व बजारमा लाने रणनीति बनाएअनुसार आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स‘ नेपालमा सार्वजनिक गर्नेछ। कम्पनीले नेपालमा एथर स्पेस निर्माण गर्ने जनाएको छ। जहाँ नयाँ अनुभव प्रदान गर्न सक्ने किसिमका रिटेल आउटलेट र फास्ट चार्जिङ नेटवर्क पनि निर्माण हुनेछन।
एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ। जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन। ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्ने जनाएको छ।
एथर ‘४५० एक्स‘ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो। यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन। यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ।
भारतीय बजारमा निकै सफल हुँदै गएको ‘४५० एक्स’लाई सिंगल चार्जमा १ सय ४६ किलोमिटरसम्म गुडाउन सकिने छ।
सुरुवाती चरणमा काठमाडौं, भुक्तपुर, ललितपुर, पोखरा, चितवन, बुटवल, र इटहरीमा स्कुटरको आउटलेट खुल्ने छ। भोइथ अन्र्तगत युनाइटेड ट्रेडर्सले जापानीज ब्राण्ड टोयटा गाडी बिक्री गर्दै आएको छ।
सोही ग्रुपले ३० वर्षअघि जापानीज ब्राण्ड कावासाकी मोटर साइकल बिक्री गरेको थियो। पछि भारतमा बजाज मोटरसाइकल र कावासाकीको जोइन्ट भेन्चरमा कावासाकी बजाज उत्पादन सुरु भएपछि नेपालमा निर्यात बन्द भएको थियो। भोइथ ग्रुप सुरजका बुवा विजयगजानन्दले सन् १९६७ मा स्थापना गरेका हुन्।