काठमाडौं। फाइभ–जी प्रयोगमा आएसँगै भारतको मोबाइल इन्टरनेट स्पिडमा व्यापक सुधार आएको छ। ओक्लाका अनुसार फाइभ–जी सेवा सुरुवातसँगै भारतको मोबाइल स्पिड ३.५९ गुणाले बढेको हो।
पछिल्लो तथ्यांकअनुसार भारतले मोबाइल स्पिडमा बेलायत र जापानजस्ता विकसित देशलाई समेत पछाडि पारेको छ।
मोबाइल डाउनलोड स्पिड टेस्ट ग्लोबल इन्डेक्समा जापान, बेलायत र ब्राजिलजस्ता राष्ट्रभन्दा अगाडि अर्थात भारत ४७औं स्थानमा छ। सन् २०२२ सेप्टेम्बरमा भारतको मोबाइल इन्टरनेट स्पिड १३.८७ एमबिपिएस थियो। तर, २०२३ अगस्टमा आइपुग्दा यो बढेर ५०.२१ एमबिपिएस पुगेको छ। ओक्लाका अनुसार यो इन्टरनेट स्पिड सुधारले भारतलाई समग्रमा ७२औं स्थान माथि लगेको छ।
फाइभ–जी प्रयोगले भारतको टेलिकम पूर्वाधारमा लगानी गर्ने अपरेटरका साथमा प्रयोगकर्ताका अनुभवमा समेत व्यापक सुधार ल्याएको छ। रिलायन्स जियो र भारती एयरटेलजस्ता भारतका दूरसञ्चार सेवा कम्पनीले फाइभ–जी ग्राहक संख्यामा उल्लेखनीय वृद्धि गरेका छन्। जियो र एयरटेलले फाइभ–जी लाइसेन्स प्राप्त गरेपछि २०२२ अक्टोबरबाट नै भारतमा फाइभ–जी प्रविधि प्रयोग गर्दै आएका छन्।
नेपालको स्थान कहाँ?
फाइभ–जी प्रयोग गरेर १ सय १९औं स्थानमा रहेको भारत ४७औं स्थानमा पुग्दा नेपालको अवस्था भने निकै तल छ। २०२२ अगस्टमा नेपाल मोबाइल स्पिडको तथ्यांकमा १ सय १९औं स्थानमा थियो। तर, २०२३ अगस्टमा आउँदा नेपाल अझ तल झरेर १ सय ३४औं स्थानमा छ।
२०२२ अगस्टमा नेपालको मोबाइल स्पिड १२.८३ एमबिपिएस थियो भने २०२३ अगस्टमा आउँदा १२.१४ एमबिपिएसमा झरेको छ। तथ्यांकअनुसार मोबाइल स्पिडमा नेपालको स्थान १ सय ३४औं हो।
स्पिड टेस्ट ग्लोबल इन्डेक्सको पहिलो स्थानमा युएई छ। यसको स्पिड २१०.८९ एमबिपिएस छ। त्यस्तै दोस्रो नम्बरमा कतार (१९२.७१ एमबिपिएस), तेस्रो नम्बरमा कुवेत (१५३.८६ एमबिपिएस), चौथो नम्बरमा नर्वे (१३४.४५ एमबिपिएस) र पाँचौंमा डेनमार्क (१२४ एमबिपिएस) छ।
छैठौंमा चीन (१२२.८९ एमबिपिएस), सातौंमा दक्षिण कोरिया (१२०.०८ एमबिपिएस), आठौंमा मकाउ (११२.३३ एमबिपिएस), नवौंमा आइसल्यान्ड (११०.०२ एमबिपिएस) र दसौंमा नेदरल्यान्ड (१०७.४२ एमबिपिएस) छ।
तथ्यांकअनुसार भारतहाराहारी ४५औं स्थानमा रोमानिया (५१.३४ एमबिपिएस), ४६औं स्थानमा स्लोभेनिया (५१.२१ एमबिपिएस), ४८ औं स्थानमा दक्षिण अफ्रिका (४७.४९ एमबिपिएस) र ४९औं स्थानमा भियतनाम (४७.०८ एमबिपिएस) छ। यस्तै ५०औं स्थानमा रहेको ब्राजिलको मोबाइल इन्टरनेट स्पिड ४५.६३ एमबिपिएस छ।
स्पिडटेस्ट ग्लोबल इन्डेक्समा नेपालहाराहारीमा भने बेलारुस, सिरिया, घाना र हैटीजस्ता देश छन्। तथ्यांकअनुसार बेलारुस १३५औं स्थानमा (११.३७ एमबिपिएस), सिरिया १३६औं स्थानमा (११.२६ एमबिपिएस), घाना १३७औं स्थानमा (१०.९६ एमबिपिएस) र १३८औं स्थानमा हैटी (१०.०० एमबिपिएस) छ।
नेपालको फाइभ–जी प्रगति शून्य
नेपालमा फाइभ–जीको आन्तरिक परीक्षण सुरु गरेको लामो समय भइसकेको छ। नेपाल टेलिकमले २०७९ माघ २२ बाट काठमाडौंमा फाइभ–जीको आन्तरिक परीक्षण थालेको थियो। जसअनुसार कम्पनीले आफ्नो बबरमहल र सुन्धारास्थित कार्यालयबाट फाइभ–जी नेटवर्कको आन्तरिक परीक्षणको सुरुवात गरेको थियो।
यसको केही समयपछि टेलिकमले पोखरा र वीरगन्जमा पनि फाइभ–जी परीक्षण विस्तार गरेको थियो। तर, यी तीनै स्थानमा फाइभ–जी परीक्षण सुरु गरेको लामो समय भइसके पनि न नागरिकरले यसको अनुभूति गर्न पाएका छन्, न सरकारले व्यावसायिक प्रयोजनका लागि नै अगाडि बढाउन सकेको छ। यसर्थ, यसको विरोध पनि हुँदै आएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले फाइभ–जी परीक्षणका लागि टेलिकमलाई २६०० मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको छ। फाइभ–जी विश्वबजारमा विस्तार भइरहेको पछिल्लो मोबाइल नेटवर्क हो। फाइभ–जीलाई सन् २०१९ बाट प्रयोगमा ल्याइएको थियो। यसमा सामान्यतया २० गिगाबाइट (२० हजार मेगाबाइट) प्रतिसेकेन्डसम्म डेटा सार्ने क्षमता हुन्छ।
यसअघि पहिलो पुस्ताको मोबाइल नेटवर्कमा २ किलोबाइट प्रतिसेकेन्ड डेटा सार्ने क्षमता थियो भने दोस्रो नेटवर्क टु–जीमा ६४ किलोबाइट प्रतिसेकेन्ड डेटा सार्न सक्ने क्षमता थियो। त्यस्तै थ्रि–जी नेटवर्कमा सरदर ३ मेगाबाइट (३ हजार किलोबाइट) प्रतिसेकेन्डसम्म डेटा सार्ने क्षमता थियो भने फोर–जीमा २० मेगाबाइट प्रतिसेकेन्डसम्मको क्षमता छ।
फोर–जी नेटवर्कले उच्च गति चाहिने लाइभ भिडियो स्ट्रिमिङ र अनलाइन गेमिङजस्ता प्रयोजनलाई पनि मोबाइलबाटै सम्भव बनाएको छ। यसमा उपलब्ध डेटा सार्ने क्षमताले तार जोडेरै पु¥याउनुपर्ने केबुल इन्टरनेट र अप्टिकल फाइबरलाई पनि एकखालको विकल्प दिएको छ। तर, फाइभ–जी नेटवर्कका केही पूर्वाधार थ्रि–जी वा फोर–जी नेटवर्कभन्दा फरक हुन्छन्। यसका लागि नजिक–नजिक दुरीमा ‘रिपिटर डिभाइस’ राखिन्छ। यस्ता डिभाइसलाई फाइभ–जी सेल टावर भनिन्छ।
मुख्यतः फाइभ–जी, फोर–जी वा थ्रि–जीजस्ता अघिल्लो पुस्ताको नेटवर्कभन्दा अझ ‘एडभान्स’ र विशिष्ट छ। त्यसैले फाइभ–जीलाई ‘इन्टरनेट अफ थिङ्स’, ‘भर्चुअल रियालिटी’, ‘अग्मेन्टेड रियालिटी’ जस्ता अत्याधुनिक डिजिटल वातावरणको मुख्य पूर्वाधार मानिन्छ।
फाइभ–जी नेटवर्क गतिका हिसाबले उच्च छ भने यसले कम विद्युतीय शक्ति खर्च गर्ने भएकाले मोबाइल डिभाइसको ब्याट्री लामो समय टिकाउ हुने पनि बताइन्छ। यसले ‘क्लाउडबेस’ कम्प्युटर स्रोतहरूको उपयोगलाई प्रोत्साहित गर्ने बताइएको छ। यसमा उद्योग वा कार्यालयहरूको खर्चमा कमी ल्याउने विशेषता उपलब्ध छ।