काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पानी यो वर्ष हिउँदमा ढिलो गरी काठमाडौं आउने भएको छ। साउन अन्तिम साता र असोजमा आएको बाढीले आयोजनामा क्षति गरेपछि पानी ल्याउने समय लम्बिएको हो।
गत वर्ष मेलम्ची पानी मंसिर २३ बाट वितरण सुरु भएको थियो। यो वर्ष समय लम्बिएर पुस पहिलो साता पुग्ने सम्भावना छ। गत वर्ष चुनावका कारण पनि पानी आपूर्तिमा ढिलाइ हुन गएको थियो।
पुनः मर्मत सुरु गर्ने निर्णयमा भएको ढिलाइले कहिलेसम्म काठमाडौंमा पानी आउँछ भन्ने अहिले नै थाहा नहुने आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।
उनका अनुसार साउन अन्तिम साता र असोज लागेपछि परेको पानीले आयोजनाको मुख्य सुरुङको पाइपलाइनमा गेग्रान पसेको अनुमान प्राविधिकले गरेका छन्। यद्यपि, पहुँचमार्ग निर्माणलगायत कुनै पनि काम नहुँदा क्षतिको यकिन विवरण आयोजनासँग छैन।
असोजको दोस्रो सातासम्म लगातार पानी परेको र २० दिन पहिला निर्देशक कमलराज श्रेष्ठको सरुवा भएपछि आयोजना मर्मतमा थप ढिलाइ भएको हो।
‘अझै एक साता मौसमको अवस्था हेरेपछि मात्रै मर्मतको काम गर्न सकिन्छ होला, तर आयोजना निर्देशक नहुँदा गेग्रान सफा गर्ने विषयमा निर्णय हुन सकेको छैन,’ सूचना अधिकारी पन्तले क्यापिटल नेपालसँग भने।
२०७८ असार १ र साउन १६ गते मेलम्ची खोलामा गएको भीषण बाढीले आयोजनाको हेडवर्क्ससँगै अन्य संरचनामा क्षति पुगेको थियो। त्यसयता हरेक वर्ष बर्खामा बन्द गरेर हिउँद लागेपछि मात्र काठमाडौंमा पानी ल्याउने गरिएको छ।
मर्मत कम हुँदा धेरै समय पानी बन्द गर्नुपरेको भन्दै आयोजनाले जेठ अन्तिममा खानेपानी आयोजना स्थलमा थप सुरक्षाको काम गरेको थियो।
सुरक्षाको कामपछि असोज लागेसँगै पुनः पानी काठमाडौं पठाउन सकिने सम्भावना रहेको प्राविधिकले बताएका थिए। तर, आयोजना स्थलमा सोचेभन्दा बढी क्षति र बर्खाले गर्दा फेरि मर्मत गरेर पानी सञ्चालन गर्ने समय अनिश्चित बनेको हो।
‘गत जेठमा हामीले आयोजनास्थललाई सुरक्षित बनाउन केही काम गरेका थियौं। जसले गर्दा बर्खा सकिनासाथ काठमाडौंमा पानी पठाउन सकिन्छ भन्ने थियो,’ सूचना अधिकारी पन्त भन्छन्, ‘तर, सोचेको जस्तो भएन। गेट नम्बर १ देखि ९ सम्म गेग्रान पसेको भन्ने अनुमान गरेका छौं। हेडवर्क्समा पुगेर सबै सफा नगरेसम्म पानी काठमाडौं पठाउने अवस्था भएन, त्यसैले गत वर्षभन्दा लम्बिन सक्छ।’
गत असार ७ बाट मेलम्ची पानी काठमाडौं ल्याउन बन्द गरिएको छ। विगतका वर्ष जेठ तेस्रो साताबाट कात्तिकसम्म पानी बन्द हुन्थ्यो। तर, यो वर्ष असार पहिलो सातासम्म काठमाडौंमा पानी आए पनि हिउँदमा भने कहिले ल्याउन सकिन्छ भन्ने विषय निश्चित छैन।
पानी पर्न छाड्यो भने असोज अन्तिमबाट पहुँचमार्ग मर्मत गर्न सकिन्छ। तर, त्यसका लागि निर्णय गर्नुपर्ने आयोजना निर्देशकको सरुवा २० दिन पहिला नै भइसकेको छ। सूचना अधिकारी पन्तका अनुसार खानेपानी मन्त्रालयमार्फत आयोजना निर्देशकसहितको बैठक बसेर अस्थायी मर्मतको निर्णय गरेपछि काम गर्न बाटो खुल्ने छ।
‘हरेक वर्ष मर्मत हुने र फेरि बाढी जाने क्रम निरन्तर भएकाले अस्थायी मर्मतको निर्णय उच्चस्तरबाटै हुन जरुरी छ,’ उनले भने। २०७८ को बाढीले आयोजनाको हेडवर्क्समा क्षति पुगेको थियो।
मेलम्ची खानेपानी आयोजना स्थलको भौगर्भिक अध्ययन गरेको एसियाली विकास बैंक (एडिबी) टोलीले हेडवर्क्स करिब एक किलोमिटर सार्नुपर्ने जनाएको छ।
एडिबीले गरेको अध्ययन प्रतिवेदन खानेपानी मन्त्रालयमा गत अगस्टमा बुझाएको छ। यस विषयमा छलफल चलिरहेको मन्त्रालयको भनाइ छ।