काठमाडौं। नबिल बैकको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन्। नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई २०८० असोज २१ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि सिइओ नियुक्त गरेको हो।
दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंकको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत रहेका थिए। २०६२ सालदेखि नेपाल बैकबाट बैंकिङ करियर सुरु गरेका देवकोटाले १५ वर्षसम्म नेपाल बंगलादेश बैंकमा काम गरेका थिए।
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरे पश्चात् उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए। व्यवसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था(आइक्यान) का पूर्वपार्षद तथा नेपाल लेखामान बोर्डका पूर्वसदस्यसमेत हुन्।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बैंक, आइएमई जनरल इन्स्योरेन्सलगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन्।
वित्तीय क्षेत्र र पुँजी बजारमा विशेष दखल राख्ने उनको नेतृत्वमा नबिल सेक्यूरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ।
देशकै अग्रणी नबिल बैकले पुँजी बजारको विकास तथा व्यावसायिकतामा योगदान पुर्याउन नबिल सेक्यूरिटिजको स्थापना गरेको हो। नबिलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर) कारोबार गर्न अनुमति प्राप्त वित्तीय संस्था हो।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५२ करोड रुपैयाँ छ। संस्थाले स्टक डिलर, मार्जिन कर्जा सेवा, पूर्णकालीन धितोपत्र दलाल सेवा, लगानी व्यवस्थापन, प्रत्याभूति सेवा, लगानी परामर्श सेवा लगायतका सेवाहरू प्रदान गरेको छ।
नबिल सेक्यूरिटिजले नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट धितोपत्र दलाल सेवा (धितोपत्र ब्रोकर नम्बर) ७७ को अनुमति प्राप्त गरी आफ्नो सेवा सुचारु गरिरहेको छ।