काठमाडौं। काठमाडौंमा शुक्रबार र शनिबार आयोजना भएको ‘स्टार्टअप एन्ड आइडिया फेस्ट तथा स्टिम क्याम्प’ सम्पन्न भएको छ।
असोज १९ र २० मा थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा सञ्चालन भएको दुई दिने फेस्ट अवलोकनकर्ताको उत्साहजनक सहभागीतासहित सम्पन्न भएको हो।
लिभिङ विथ आइसिटीको मुख्य आयोजनामा भएको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इनोभेसन सहभागी थिए।
फेस्ट बिहान ११ देखि साँझ ५ बजेसम्म चलेको थियो। फेस्टमा नेपाली युवाले तयार पारेका एआई, ब्लकचेन, मेसिन लर्निङ, इभी, सफ्टवेयर तथा हार्डवेयर सोलुसनलगायत स्टार्टअप इनोभेसन र आइडिया राखिएका थिए।
देशभरिका नयाँ स्टार्टअप, इनोभेसन १२ हजारभन्दा बढीले अवलोकन गरेका थिए। आइसिटी अवार्ड २०२३ को प्रि–इभेन्ट क्याम्पेनका रूपमा भएको फेस्टमा द स्क्वाड अफ चेन्जमेकर्सको सहकार्य थियो।
फेस्टमा नयाँ आइडिया, इनोभेसन तथा प्रडक्ट प्रदर्शनी, आइडिया पिचिङ, एस्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानी अवसर तथा गेम आकर्षण थिए।
फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आइसिटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, १३ विद्यार्थी इनोभेसन र १४ प्रडक्टले समेत आफ्ना आइडिया र प्रडक्ट प्रदर्शनीमा राखेका थिए।
फेस्टमा स्क्वाड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रिडी प्रिन्टिङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्ट पनि प्रर्दशनीमा राखेको थियो।
आइसिटी अवार्डको आठौं संस्करणमा यसपालि विभिन्न १३ विधामा ५ सय बढीको आवेदन प्राप्त भएको थियो। हाल आइसिटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया जारी छ।
यसपालि आइसिटी अवार्डको ग्रान्ड फिनालेमा सातै प्रदेशका उत्कृष्ट एक–एक स्टार्टअपलाई ‘प्रोभिन्सियल रिकग्निसन आइसिटी अवार्ड’ प्रदान गरिने छ। ग्रान्ड फिनाले आगामी पुस ६ मा काठमाडौंमा हुनेछ।