काठमाडौं। नेपाल राष्ट्र बैंकको नयाँ नीतिले सेयर बजारमा सकारात्मक प्रभाव पार्न सकेन। शुक्रबार राष्ट्र बैंकले जारी गरेको सेयर धितो कर्जाको संशोधित नीतिलाई बजारले स्वागत गर्न नसक्दा आइतबार नेप्सेमा भारी गिरावट आएको छ।
आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेप्से ३५.६७ अंकले घटेर १ हजार ९ सय २१.२४ बिन्दुमा बन्द भएको हो। उक्त दिन कारोबारमा आएका २ सय ८९ कम्पनीका ५८ लाख १५ हजार १ सय ८९ कित्ता सेयर ५९ हजार १ सय ७१ पटक खरिद–बिक्री हुँदा कुल १ अर्ब ८० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ।
कारोबार रकमका आधारमा भने उक्त दिन शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ। कम्पनीको १ लाख २८ हजार ६ सय ९१ कित्ता सेयर ७ सय ३३ पटक किनबेच हुँदा कुल ६ करोड ७३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको हो।
यस्तै आइतबार हिमालयन लघुवित्तका लगानीकर्ता र गरिमा डिबेन्चर २०८० का लगानीकर्ताले सबैभन्दा धेरै गुमाए। उक्त दिन हिमालयन लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर ६ सय ८० रुपैयाँ ४० पैसा र गरिमा डिबेन्चर २०८० को सेयर मूल्य १० प्रतिशतले घटेर ८ सय ६४ रुपैयाँ ४० पैसा कायम भएको छ।
भारी गिरावट भएको आइतबारको सेयर बजारमा बाराही हाइड्रो पब्लिक कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य ९.५० प्रतिशतले वृद्धि भएर ५ सय ५१ रुपैयाँ कायम भएको छ।
चौतर्फी मागपछि राष्ट्र बैंकले यसअघि १२ करोड रुपैयाँको सेयर धितो कर्जा सीमालाई शुक्रबार व्यक्तिगतमा १५ करोड र संस्थागतमा २० करोड रुपैयाँ कायम गरेको थियो।
केन्द्रीय बैंकले पुँजीबजारका लगानीकर्तालाई सहयोग गर्ने नीति लिएको भन्दै आइतबारको बजार बढ्ने अपेक्षा थियो। तर, राष्ट्र बैंकले लगानीकर्ताको आवश्यकताभन्दा आफ्नो दायित्वमा झारा टार्ने काम गर्दा बजारमा नकारात्मक प्रभाव परेको सेयर लगानीकर्ता महासंघ अध्यक्ष छोटेलाल रौनियार बताउँछन्।
‘राष्ट्र बैंकले संशोधन गरेको सेयर धितो कर्जाको सीमाले कुनै पनि लगानीकर्तालाई केही प्रभाव नपार्ने हुँदा लगानीकर्ता निराश भएका हुन्, जसले गर्दा बजार घट्यो,’ उनले भने, ‘संशोधित सेयर धितो कर्जा नीति हात्तीको मुखमा जिराजस्तै हो, पुँजीबजारलाई राष्ट्र बैंकले सहयोग गर्न चाहेको ब्याजदर घटाउने नीति लिँदै सेयर कर्जामा व्यक्तिगत सीमा २० करोडसम्म बनाउनुपर्थ्यो, अन्यथा यस्तो सीमा हटाउँदा नै ठिक हुन्छ।’