जनकपुरधाम। धनुषा जनकपुरधाम उपमहानगरपालिका-९ रामानन्द चोकस्थित रामबाबु रायको ‘जनकपुर बिग मार्ट’ मा गएराति भीषण आगलागी भयो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राति सवा १ बजे बिजुली सर्ट भएर लागेको आगो सात घन्टापछि बिहान करिब ७ः१५ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो। आगलागी भएको करिब आधा घन्टामै बारुणयन्त्र घटनास्थल पुगे पनि मार्टमा कपडा धेरै भएकाले नियन्त्रणमा लिन कठिन भएको थियो।
सञ्चालक रायले मार्टको सम्पूर्ण सामान जलेर नष्ट भएको र तीनतले घरमा समेत क्षति पुगेकाले १० करोडभन्दा बढीको सम्पत्ति क्षति भएको जानकारी दिए उनले मार्टको दोस्रो तलामा परिवारसहित बसोबास रहेकामा वैकल्पिक बाटोका कारण भागेर ज्यान जोगाउन सकिएको बताए।
‘क्षणमै जल्यो सम्पत्ति’
सर्लाही मलङ्गवा नगरपालिका-११ स्थायी घर भएका राय २५ वर्षदेखि व्यापार गरिरहेका छन्। सुरुमा उनले काठमाडौंमा घरघर गएर सामान बेच्ने काम गरे र पछि अरूकै पसलमा बजार व्यवस्थापक भएर काम गरेका थिए।
त्यसपछि आफ्नै व्यापार सुरु गरेका थिए। ‘म शून्य लगानीबाट उठेको मान्छे हो। सुरुमा काठमाडौंका घरघर गएर सामान बेचेँ। त्यसपछि काठमाडौं बाहिर जिल्ला–जिल्ला गएँ। त्यसबाट केही पैसा आर्जन गरेपछि सानो पसल, होलसेल, रिटेल र डिपार्टमेन्ट स्टोरसम्म पुगेँ,’ रायले भने, ‘तर, २५ वर्षसम्म गरेको मिहिनेत र लगानी एकै रातमा सखाप भयो। झोला बोकेर घरबाट निस्केको थिएँ, अहिले फेरि झोलामात्रै बोकेर सडकमा आइपुगेँ।’
व्यापारमा संलग्न भएको २५ वर्षमध्ये करिब १५/१६ वर्ष उनले काठमाडौं न्युरोडस्थित रञ्जना हाउस र महाबौद्धबाट व्यापार गरेका थिए। तर, २०७२ सालको भूकम्पपछि व्यापारमा मन्दी भएपछि जनकपुर झरेका रायले रामानन्द चोक नजिकै कपडा व्यापार थालेका थिए।
छोटो समयमा व्यापार राम्रो हुँदै गएपछि आफ्ना सबै व्यापार बन्द गरेर रायले सबै लगानी डिपार्टमेन्ट स्टोरसमेत रहेको घरमा खन्याएका थिए।
‘म एकैपटक ठूलो लगानी गरेर आएको होइन। स–सानो व्यापारबाट ठूलो, त्यसैबाट कमाएको पैसाले ‘लज’ चलाइरहेको थिएँ तर भूकम्पपछि कारोबारमा गिरावट आएर जनकपुर आएँ। यहाँ आएपछि अरू सबै व्यापार छाडेँ। भएको सम्पत्ति बेचेर करिब ३ करोडमा यही घर र व्यापारमा लगानी गरेँ, तर एकरातमा सबै सखाप भयो,’ रायले भने।
रायले यही व्यापार बढाउन काठमाडौं थानकोटमा रहेको चार आना जग्गा, लज र अरू सबै जायजेथा बेच्नुका साथै सिद्धार्थ बैंक जनकपुरबाट ३ करोड ६५ लाख रुपैयाँ ऋण लिएको बताए।
‘पीडामाथि पीडा’
रायलाई व्यापारमा हिम्मत गर्न सघाउने श्रीमती हुन्, उनले बाहिर र श्रीमतीले पसल सम्हालिरहेका थिए। ‘घरबार राम्रै चलिरहेको थियो, श्रीमतीले यो सबै हिम्मत दिएकी हुन् तर डेढ वर्षअघि अचानक श्रीमतीको दुईवटै किड्नी फेल भयो। त्यसपछि हाम्रा दुःखका दिन सुरु भए,’ रायले पीडा सुनाए, ‘आठ दिनअघि मात्रै श्रीमतीको उपचार भएको थियो। अब त केही सहज होला भनेको फेरि यो बज्रपात आइलाग्यो।’
जनकपुरमा केही वर्षदेखि सबै क्षेत्रको व्यापारमा मन्दी छ। त्यसको असर रायले पनि भोगे। सडक विस्तार, आन्दोलन, कोरोना र आर्थिक मन्दीले समस्या भोगेका उनी दसैं आएपछि केही राहत होला भन्ने आशामा थिए। दसैं लक्ष्य गरी केही दिनअघि मात्रै मार्टमा नयाँ सामान थपेका थिए।
‘समस्या थियो, तर पनि हिम्मत हारेको थिइनँ। राम्रा दिन आउने आशामा बसिरहेको थिएँ। दसैं–तिहारले केही राहत होला भनेर ऋण गरेर सामान थपेँ, तर अब त उठ्नै नसक्ने गरी सम्पत्ति र सबै सपना खरानी भए,’ आँसु पुछ्दै रायले भने, ‘भगवान, पीडामाथि पीडा किन दिएको? अब के गरेर खानु? कसरी ऋण तिर्न? कुनै विकल्प रहेन मसँग।’
सबैभन्दा दुःखको कुरा, रायले बैंकबाट ऋण लिँदा गरिने बिमाबाहेक सामानको बिमा गरेका छैनन्।
‘जायजेथा बेचेर लगानी बढाएँ। २५ वर्ष पसिना बगाएँ काठमाडौंबाट भूकम्पले विस्थापित गर्यो, फेरि उठ्न खोज्दै थिएँ,’ उनले निराश हुँदै भने, ‘जनकपुरले त उठिबास नै लगायो, अब कहाँ जाने, कसरी उठ्ने?’ रासस