काठमाडौं। नेपाल वायुसेवा निगम (नेवानि) ले आफ्ना इन्जिनियरहरूलाई ‘बाइपाइस’ गरी ‘आउटसोर्सिङ’ मार्फत इन्जिनियर लिएर डेढ वर्षदेखि ट्विनअटर जहाज मर्मत गर्दै आएको छ।
तालिम प्राप्त इन्जिनियरहरूले डेढ वर्षअघि नै अवकाश प्राप्त गरेपछि नेवानिले रिक्त स्थानमा नयाँलाई तालिम नदिई आउटसोर्सिङमार्फत केही इन्जिनियर प्रयोग गर्दै आएको छ।
नेवानिसँग अहिले आन्तरिक उडान गर्न दुईथान ट्विनअटर सञ्चालनमा छ। ती जहाज हरेक उडानअघि र उडानपछि अनिवार्य परीक्षण (जाँच) गर्नुपर्छ। त्यसका लागि अहिले नेवानिले आउटसोर्सिङमार्फत काम गराउँदै आएको छ। जसका लागि उसले इन्जिनियरहरूलाई वार्षिक १ करोड रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ।
आउटसोर्सिङमार्फत काम लगाउँदै आएको नेवानि व्यवस्थापनले आफ्ना इन्जिनियरलाई भने ट्विनअटर जहाजका लागि तालिम दिनसमेत आनाकानी गर्दै आएको छ।
सामान्यतया एउटा जहाज मर्मत गर्न तीनजना इन्जिनियर चाहिन्छ। एउटै प्रकृतिको जहाज हेर्ने इन्जिनियरले अर्को प्रकृतिको जहाज मर्मत गर्न मिल्दैन। जसका कारण जहाजको प्रकृतिअनुसार इन्जिनियरहरू फरक–फरक राख्नुपर्ने हुन्छ।
३ लाखमै सकिन्छ तालिम
अहिले नेवानिमा १५ इन्जिनियर खाली बसिरहेका छन्। ती इन्जिनियरलाई तालिम दिन प्रतिव्यक्ति ३ लाख रुपैयाँमात्र खर्च गरे पुग्छ। यसरी १५ जनालाई ४५ लाख रुपैयाँ लगानी गरे आफ्नै उत्पादन तयार हुने भए पनि व्यवस्थापनले बेवास्ता गर्दै आएको छ। ती इन्जिनियर तालिम लिएको तीनदेखि ६ महिनामा प्रमाणिकरण (सर्टिफाइड) भइसक्छन्।
नेवानि इन्जिनियरिङ विभागले अत्यावश्यक तालिमभित्र ट्विनअटरका लागि इन्जिनियर चाहिने भनेर व्यवस्थापनलाई डेढ वर्षदेखि नै तारन्तार लिखित माग गर्दै आएको छ।
तर, व्यवस्थापनले बेवास्ता गर्दै आउटसोर्सिङमार्फत काम गराइरहेको छ। पछिल्लो समय फेरि विभागले तालिम तयारी गरेको थियो। खासगरी दुईवटै जहाज सञ्चालनमा आउन थालेपछि तालिमका लागि तयारी गरे पनि अन्तिम चरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र एयरलाइन्स व्यवस्थापनले रोकेको छ।
एक महिनाअघि नै तालिम लिन विदेशी संस्थासँग सम्झौतासमेत गरिसकेको अवस्थामा मन्त्रालयका केही अधिकारीले आफूनिकट इन्जिनियर नपर्ने भएपछि तालिम रोक्दै आएको सम्बद्ध स्रोतको दाबी छ।
स्रोतका अनुसार नेवानि व्यवस्थापनले हरेक विषय निर्णय गर्दा मन्त्रालयसँग स्वीकृति लिने गरेका कारण इन्जिनियर तालिम प्रभावित बनेको हो। पर्यटनमन्त्री सुदन किराँतीको हवाला दिँदै मन्त्रालयबाटै केही व्यक्तिले आफूनिकट (माओवादी) इन्जिनियर छुटेको भन्दै पटक–पटक तालिम रोक्दै आएका छन्।
जसका कारण नेवानिमा भएका इन्जिनियरलाई त्यत्तिकै तलब दिनुपरेको छ भने आउटसोर्सिङमार्फत आएकालाई करोडौं रुपैयाँ खचिर्नुपरेको छ। यसबारे नेवानि प्रवक्ता रमेश पौडेलसँग सम्पर्क गर्दा उनी सम्पर्कमै आउन चाहेनन्।