काठमाडौं । पछिल्लो एक सातामा साढे १३ल हजार श्रमिक सामाजिक सुरक्षा योजनामा सामेल भएका छन् । बुधबारसम्म १ लाख २९ हजार २४५ श्रमिक सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् ।
अघिल्लो बुधबारसम्म एक लाख १५ हजार ६०६ श्रमिक सहभागी भएका थिए । श्रमिकको सूचीकरण बढेसँगै सोही अवधिमा झण्डै एक हजार २०० प्रतिष्ठानले पनि आफूलाई कोषमा सूचीकृत गराएका छन् । बुधबारसम्म कोषमा ११ हजार ७२९ रोजगारदाता सूचीकृत भएका छन् ।
सबैभन्दा बढी प्रदेश नं ३ बाट ९३ हजार ४८७ र सबैभन्दा कम कर्णाली प्रदेशबाट १५७ श्रमिक योजनामा सहभागी भएका छन् । प्रदेश नं १ मा २१ हजार २६९, प्रदेश नं २ मा सात हजार १७७, गण्डकी प्रदेशमा तीन हजार ९९०, प्रदेश नं ५ मा दुई हजार ७०३ र सुदूरपश्चिम प्रदेशमा ४३५ श्रमिक सूचीकृत भएका छन् ।
कर्णाली प्रदेशमा श्रमिकको सूचीकरण अत्यन्त कम देखिएको छ । सो प्रदेशबाट ११८ रोजगारदाता सूचीरण हुँदा झण्डै सोही सङ्ख्यामा मात्र श्रमिक सूचिकृत भएका छन् । सबैभन्दा बढी प्रदेश नं ३ बाट सात हजार ८१५ रोजगारदाता कोषमा सूचीकृत भएका छन् । यस्तै प्रदेश नं १ बाट एक हजार ८४०, प्रदेश नं ५ बाट ८३४, गण्डकी प्रदेशका ५४०, प्रदेश नं २ का ४६० र सुदूरपश्चिम प्रदेशका १२२ रोजगारदाता सूचीकृत भएका छन् ।
बुधबारसम्म २४ करोड २९ लाख ६० हजार ३८५ रुपैयाँ ४५ पैसा योगदान रकम सङ्कलन भएको छ । सूचीकरणमा ६९ जिल्ला समेटिएका छन् । कोषबाट दुई श्रमिकका परिवारले आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत आर्थिक सहायता लिन थालेका छन् । कोषले सूचीकरणका लागि यही मङ्सिर १४ गतेसम्म समयसीमा तोेकेको थियो । रासस