काठमाडौं। अटोमोवाइल कम्पनीहरुका लागि यो गाडी बेच्ने सिजन हो। अधिकांश नेपालीले गाडी किन्न चाडपर्व नै कुर्ने भएकाले पनि यो समयमा सबैजसो ब्राण्डले ग्राहक तान्न अनेक प्रयत्न गर्छन्।
सवारी साधन ब्राण्डहरुले विभिन्न अफर ल्याउने हुँदा ग्राहक पनि गाडी किन्न दसैं, तिहार,छठ पर्व र नयाँ वर्ष नै पर्खेर बस्ने गरेको व्यवसायीहरु बताउछन्।
यो सिजनमा अटोमोवाइल क्षेत्रमा केही फरक परिदृष्य देखियो। गत भदौमा सम्पन्न नाडा अटो शोमा अधिकांशको रोजाइमा विद्युतीय सवारी साधन पर्यो।
यो परिदृष्यलाई मध्यनजर गर्दै आयातकर्ता कम्पनीहरुले पनि विद्युतीय सवारी साधनलाईसमेत हुनेगरी विभिन्न योजना ल्याएका छन्। हामी यहाँ दसैं, तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विभिन्न ब्राण्डले ल्याएका अफरहरुको बारेमा चर्चा गर्दैछौं।
एमजी
विद्युतीय सवारी साधन बजारमा पछिल्लो समय आक्रमक बनेको एमजीले चाडपर्व लक्षित योजना ल्याएको छ। एमजीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले ‘एमजी ड्राइभ्स फेस्टिभ भाइब्स’ सार्वजनिक गरेको छ।
यो योजना एमजीका विद्युतीय सवारी साधनका हकमा ‘जेडएस इभी’मा मात्र लागु हुने कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले २ लाख रुपैयाँसम्मको नगद फाइदा पाउन सक्नेछन्।
सो अवधिमा एमजी जेडएस खरिद गर्ने ग्राहकहरूले निःशुल्क स्पेयर टायर, ७ किलोवाटको एसी चार्जर पनि निःशुल्क पाउनेछन्। कम्पनीले एक वर्ष गाडीको बिमा पनि गरिदिने भएको छ। यो योजना मंसिर ४ गतेसम्म लागू हुने एमजीले जनाएको छ।
हुन्डाई
हुन्डाईका लागि नेपालको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विगतका वर्षमाझै ‘हुन्डाई फेस्टिभ डिलाईट’ योजना ल्याएको छ।
नेपाली बजारमा हुन्डाईका लोकप्रिय विद्युतीय गाडी कोना र आयोनिकमा पनि यो योजना लागु हुनेछ। यस योजनाअन्तरर्गत ग्राहकले ६ लाख रुपैयाँसम्म छुट, स्क्र्याच कार्डमार्फत १ लाखसम्म छुट, १ वर्षको बिमा र रोडट्याक्स छुट र बम्पर उपहारमा हुन्डाईको एक्सटर गाडी जित्न सक्नेछन्।
जिडब्लुएम
नेपालमा जिडब्लुएमको आधिकारिक वितरक भिजी इम्पेक्स प्रालिले चाडपर्व विशेष ‘जिडब्लुएम डिलाईटफुल अफर’ सार्वजनिक गरेको छ। यस योजनामा ग्राहकले ७ लाख रुपैयाँ सम्मको सहुलियत पाउनेछन्।
कम्पनीले एक्सचेन्ज बोनस, हरेक टेस्ट ड्राइभका साथ विशेष उपहारहरू, निःशुल्क सामानहरू, आकर्षक नगद छुटका साथै सजिलो वित्तीय सुविधाहरू दिनेछ।
टाटा
पछिल्लो समय नेपालमा टाटाको विद्युतीय गाडीले फड्को मारेको छ। गत भदौमा सम्पन्न नाडा अटो शोमा टियागो इभी सार्वजनिक भएपछि यसले थप उचाई लिएको हो। टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले चाडपर्वलाई लक्षित गर्दै ग्राहकलाई सहुलियत दिने तयारी गरेको छ।
कम्पनीले टियागो इभीमा निश्चित अवधिका लागि इन्टडक्टरी मूल्यमै ग्राहकलाई उपलब्ध गराउने भएको छ। त्यस्तै टियागो इभी र नेक्सन इभी खरिद गर्दा आकर्षक उपहारको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ।
निटा
निटाका लागि नेपालको आधिकारिक वितरक सिजी मोटर्सले ‘निटा डिक्की फुल अफर’ ल्याएको छ। यस योजनाअन्तरर्गत नेटाको गाडी खरिद गर्दा ग्राहकले सिजीको ४३ इन्चको ४के स्मार्ट टिभी, ब्ल्याक एन्ड डेकरको भ्याकुम क्लिनर, १४०० वाटको प्रेसर वासर, सिजीको रातो भ्याक्युम कप र सिजीको ५०० मिलिलिटरको भ्याकुम फ्ल्याक्स बोतल प्राप्त गर्नेछन्।
त्यस्तै, ग्राहकले ६.६ किलोवाट आवरको चार्जर, टायर सेट पनि निःशुल्क प्राप्त गर्नेछन् भने एक वर्षको लागि निःशुल्क बिमा र सडक करको सुविधा पाउनेछन्।
वुलिङ
वुलिङका लागि नेपालको आधिकारिक वितरक बज्र ग्रुपअन्तर्गतको इभी नेपाल मोटर्सले दसैं तिहारको अवसरमा ‘उलिङको कार उपहारको बहार’ योजना ल्याएको छ।
यस योजनाअन्तरर्गत ग्राहकले सजिलो एक्सचेन्ज सर्भिस, ४ वर्षको निःशुल्क सर्भिसिङ, निःशुल्क एशसोरिज र बम्पर उपहारमा लेभ्निङ स्कुटर प्राप्त गर्न सक्नेछन्।