दसैं सुरु हुने बेलासम्म वर्षा भइरहेको छ। हामीले सडक मर्मत गर्न खोज्दा खोज्दै पानी परेर अवरोध भएको छ। विभिन्न समस्याहरुका बाबजुद भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको तर्फबाट सडक मर्मत तथा पिच गर्ने प्रयत्नहरु भइरहेका छन्।
त्यसैगरी मन्त्रालय र यातायात व्यवस्था विभागको तर्फबाट चाडपर्वको संघारमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउने काम भइरहेको छ। करिब १५ लाख मानिस सडक मार्गबाट काठमाडौं उपत्यका बाहिर जान्छन्। उनीहरुको यात्रालाई सरल, सहज र सुलभ कसरी बनाउन सकिन्छ भनेर हामी छलफल गर्दैछौं।
चाडवाडको समयमा खाद्यान्नमा मिसावट गर्ने, टिकट तथा अन्य सामानमा कालोबजारी गर्ने, मूल्यवृद्धि गर्ने, एउटै सिटमा धेरै टिकट काट्नेलगायत काम भए भने सरकारले नियन्त्रण गर्ने निर्णय सरकारले गरेको छ। त्यही निर्णयअनुसार भौतिक मन्त्रालयले काम अघि बढाएको छ।
दसैं, तिहार, छठ पर्वलाई लक्षित गरेर करिब एक महिना अघिबाटै सम्बन्धित पक्षसँग छलफल सुरु गरेका थियौं। यातायात व्यवसायी साथीहरुका कुरा पनि हामीले सुन्यौं।
म मन्त्री भएको नाताले नियमित रुपमा गर्ने बाहेक चाडपर्व लक्षित गरेर सम्बन्धित निकायले आफ्नो जिम्मेवारीको कामलाई थप प्रभावकारी बनाउन आग्रह गरिसकेको छु। दसैं सुरु हुनुभन्दा पहिला नै सडक मर्मत गर्ने र यातायात व्यवस्था विभागले सम्बन्धित सबै पक्षसँग सल्लाह गरेर अग्रिम टिकट बुकिङ खुलाउने महत्वपूर्ण काम हो।
अग्रिम टिकट बुकिङदेखि अनुगमन प्रणालीलाई व्यवस्थित र यात्रुहरुले कुनै सास्ति भोग्नु नपर्ने गरी सहजरुपमा आफनो घरसम्म पुर्याउने भन्ने विषयमा यातायात व्यवस्था विभागले समन्वय गर्छ।
यातायात व्यवसायी साथीहरुका पनि केही मागहरु छन्। केही दिनअघि मात्रै यातायात विभाग, व्यवसायी र ट्राफिक प्रहरीसँग मन्त्रालयमा छलफल गरी सकेका छौं। कतिपय सडकलाई कच्चि सडक घोषणा गर्नुपर्छ भन्ने सुझाव आएको छ। त्यो तत्काल सम्भव नहोला तर, आवश्यक र सम्भव हुने माग सम्बोधन गर्न मन्त्रालय तयार छ।
यातायात व्यवसायीहरु सकरात्मक नभएसम्म हाम्रो यात्रा सहज हुँदैन। यो विषय पनि हामीले बुझेका छौं। यसो भन्दैमा दसैंमा भाडा बढाउने पक्षमा मन्त्रालय छैन।
अहिले सडक मर्मतका लागि ३ भाग लगाएर काम गर्दैछौं। देशभरीका मुख्य राजमार्ग, वैदेशिक ऋण तथा अनुदान सहयोगमा बनेका सडकहरु र काठमाडौं उपत्यकामा खाल्डाखुल्डी व्यवस्थित गर्ने गरी काम अघि बढाइएको छ।
घटस्थापना अघि यी सबै कुरा व्यवस्थित भइसक्छन्। त्यसैअनुसार डिभिजन कार्यालय र सम्बन्धित निकायलाई निर्देशन गइसकेको छ।
यस्ता तयारी र योजनासहित मन्त्रालय चाडपर्व लक्षित सडक मर्मत र यातायात सञ्चालनमा गम्भिर भएर काम गर्दैछ। बजेट अभावका कारणले भनेको जसरी काम गर्न सजिलो नहुन सक्छ, प्रक्रियागत झमेलाहरु छन्। गत वर्षको भन्दा बजेट घटेर आएकाले काम गर्न समस्या छ।
यद्यपि, त्यसका बाबजुद पनि हामीसँग भएका स्रोत साधन प्रयोग गरेर सडक मर्मत र यातायात सहज तथा सुलभ रुपमा सञ्चालन गर्ने कुरामा सहकार्य र समन्वय गर्न मन्त्रालय गम्भिर छ।
दसैं नजिकिएपछि सडक मर्मत गरेको भन्ने कुरा उपयुक्त होइन। किनकि दसैंभन्दा पहिला वर्खा लाग्छ र चाडवाडमा बढी सवारी चल्ने भएकाले मर्मत गर्नैपर्छ।
त्यसबाहेक विद्यालय तथा सरकार मातहतका सेना, प्रहरी, निजामती कर्मचारी बोक्ने ठूला बसलाई दसैंमा प्रयोगमा ल्याउने विषयमा पनि हामी सकरात्मक छौं। यसका लागि अर्थ र गृह मन्त्रालयसँग छलफल गर्छौं। इन्धन दिएर हुन्छ वा अन्य सहुलियत दिएर कसरी हुन्छ त्यो विषयमा छलफल हुन्छ।
निर्माण व्यवसायीलाई भुक्तानी गर्ने विषय अर्थ मन्त्रालयमा जोडिन्छ। चालू आर्थिक वर्षमा बजेट घटेर आएकाले पुरानो भुक्तानी गर्न सक्ने अवस्था छैन। तर, प्रधानमन्त्रीले व्यवसायीको भुक्तानी छिटोभन्दा छिटो गर्नुस भनेर निर्देशन दिनुभएको छ।
त्यसैले अर्थले विशेष व्यवस्था नगरेसम्म भुक्तानी हुन सक्दैन। अरुको थाहा भएन, भौतिक मन्त्रालयबाट ४ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ।