काठमाडौं। बैंकहरुको नाफा साढे २ अर्ब रुपैयाँ थप हुने भएको छ। नेपाल राष्ट्र बैंकले कर्जामा गर्नुपर्ने नोक्सानी व्यवस्था (प्रोभिजन) ०.०५ प्रतिशत बिन्दु घटाएसँगै बैंकहरुको नाफा थप हुने भएको हो।
केन्द्रीय बैंकले असोज १८ गते बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकिकृत निर्देशन, २०७९ लाई संसोधन गर्दै असल कर्जाको प्रोभिजन १.२५ प्रतिशत कायम गरेको छ।
कोभिडकाल अघिसम्म १ प्रतिशत रहेको असल कर्जा प्रोभिजनलाई राष्ट्र बैंकले कोभिडको समयमा बढाएर १.३० प्रतिशत कायम गरेको थियो। कर्जा प्रवाह गर्ने बित्तिकैको असल ऋणमा १.३० प्रतिशत प्रोभिजन गरेका बैंकहरुले अब १.२५ प्रतिशत मात्रै गरे हुने भएको छ।
राष्ट्र बैंकले बैंकहरुलाई सहजता दिन कोभिड कालमा बढाएको असल कर्जाको प्रोभिजन घटाउँदै लगेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए।
‘कोभिड अघि असल कर्जामा गर्नुपर्ने १ प्रतिशत प्रोभिजनलाई बढाएर राष्ट्र बैंकले १.३० प्रतिशत बनाएको थियो। त्यसलाई घटाउँदै लानुपर्छ भनेर १.२५ प्रतिशत बनाएका छौं,’ प्रवक्ता भट्टले क्यापिटल नेपालसँग भने, ‘प्रोभिजन कम हुने बित्तिकै बैंकहरुको कर्जा दिने क्यापिटल एडुकेसीमा पनि सहज हुन्छ भने नाफा थपिने भएको छ।’
राष्ट्र बैंकले बैंकहरुलाई कर्जा प्रवाहमा सहजता दिँदै वास्तविक क्षेत्रलाई चलायमान बनाउँदै अर्थतन्त्र विकास र विस्तामा सहयोग पुग्ने नीति ल्याएको उनको भनाई छ।
असोज १७ गतेसम्म बैंक तथा वित्त कम्पनीहरुले कूल ४९ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। उक्त समयसम्म १.३० प्रतिशत हुँदा बैंकहरुले ६४ अर्ब १९ करोड रुपैयाँ प्रोभिजन गरेरका थिए।
असोज १८ गतेको कर्जा नोक्सानी सम्बन्धी नयाँ व्यवस्था अर्थात् १.२५ प्रतिशत मात्रै असल कर्जामा प्रोभिजन गर्नु पर्दा कूल ६१ अर्ब ७२ करोड रुपैयाँ प्रोभिजन छुट्याउँदा हुन्छ। नयाँ व्यवस्थाले पुरानो प्रोभिजनबाट २ अर्ब ४६ करोड रुपैयाँ फिर्ता आएर बैंकहरुको नाफा थप हुने भएको हो।
जसमध्ये वाणिज्य बैंकहरुको मात्रै २ अर्ब १८ करोड रुपैयाँ नाफा थप भएको तथ्यांकले देखाउँछ। असोज १७ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ७४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। जसमा १.३० प्रतिशत अर्थात् ५६ अर्ब ८६ करोड रुपैयाँ प्रोभिजन गरेका थिए।
नयाँ व्यवस्थाअनुसार असल कर्जामा १.२५ प्रतिशतमात्रै प्रोभिजन गर्दा ५४ अर्ब ६७ करोड रुपैयाँ छुट्याउँनु पर्ने हुन्छ। राष्ट्र बैंकको नयाँ व्यवस्थाले पुरानो प्रोभिजनबाट २ अर्ब १८ करोड रुपैयाँ फिर्ता भएर नाफामा थप हुने भएको छ।
कर्जा नोक्सानीको व्यवस्था
बैंक तथा वित्तीय संस्थाहरुले प्रवाहित कर्जालाई वर्गिकरण गरी सोहीअनुसार कर्जा नोक्सानी राख्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो। जसअनुसार अब बैंकहरुले असल कर्जामा १.२५ प्रतिशत, शुक्ष्म निगरानीमा ५ प्रतिशत, कमसल कर्जामा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराब कर्जामा शत प्रतिशत प्रोभिजन गर्नुपर्छ।
बैंकले कर्जा प्रवाह गर्ने बित्तिकै त्यसलाई असल कर्जामा वर्गिकरण गरेर १.२५ प्रतिशत प्रोभिजन गर्नुपर्छ। कर्जा प्रवाह गरेको ३ महिनासम्म साँवा सुक्ष्म निगरानीमा राखेर ५ प्रतिशत प्रोभिजन गर्नुपर्छ। ३ देखि ६ महिनासम्म साँवा ब्याज भुक्तानी नहुँदा कमसल कर्जामा वर्गिकरण गरी २५ प्रतिशत प्रोभिजन गर्नुपर्छ।
यस्तै, ६ महिनादेखि १२ महिनासम्म साँवा ब्याज भुक्तानी नभएमा शंकास्पद कर्जामा वर्गिकरण गरी ५० प्रतिशत प्रोभिजन गर्नुपर्छ भने एक वर्षमाथि साँवा ब्याज भुक्तानी नभएको कर्जामा शत प्रतिशत प्रोभिजन गरी कर्जा असुली प्रकृयामा बैंक जान्छन्।
राष्ट्र बैंकको नीतिले कुन बैंकको नाफा कति थप?
राष्ट्र बैंकले असोज १८ गते गरेको असल कर्जामा प्रोभिजनको नयाँ व्यवस्थाले वाणिज्य बैंकहरुको ४ करोड रुपैयाँदेखि साढे १८ करोड रुपैयाँसम्म बचत हुने देखिन्छ। गत साउनमा प्रवाहित कर्जाका तथ्यांकअनुसार असल कर्जाको नयाँ व्यवस्थाले सबैभन्दा बढी ग्लोबल आइएमई बैंकलाई फाइदा पुगेको छ।
राष्ट्र बैंकद्वारा सार्वजनिक गत साउन मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा उक्त अवधिमा प्रवाहित कर्जामा गरिएको १.३ प्रतिशत प्रोभिजन फिर्ता हुँदा ग्लोबल आइएमईको मात्रै १८ करोड ६३ लाख रुपैयाँ नाफा थप हुन्छ।
ग्लोबलले साउन मसान्तसम्म ३ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरी १.३ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड रुपैयाँ प्रोभिजन गरेको थियो। नयाँ व्यवस्थाअनुसार असल कर्जामा १.२५ प्रतिशत पोभिजन गर्दा ग्लोबलको १८ करोड ६३ लाख रुपैयाँ प्रोभिजनमा राखिएको पैसा फिर्ता हुने भएको हो।
यसैगरी उक्त अवधिमा नबिल बैंकले ३ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गर्दा असल कर्जामा गर्नुपर्ने प्रोभिजन ४ अर्ब ४६ करोड रुपैयाँ थियो। नयाँ व्यवस्थाअनुसार बैंकको प्रोभिजन ४ अर्ब २९ करोड रुपैयाँ गर्नु पर्दा १७ करोड १६ लाख रुपैयाँ फिर्ता हुन्छ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साउनमा ३ खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो। जसमा १.३ प्रतिशतले गर्दा ४ अर्ब १३ करोड रुपैयाँ प्रोभिजन भएको थियो। अब प्रोभिजन १.२५ प्रतिशत हुँदा ३ अर्ब ९७ करोड हुन्छ भने १५ करोड ९१ लाख रुपैयाँ फिर्ता हुन्छ।
यस्तै, साउनमा प्रवाहित कर्जामा १.३ प्रतिशत प्रोभिजन अब १.२५ प्रतिशत हुँदा कुमारी बैंकको १४ करोड ५६ लाख, एनआइसी एसियाको १३ करोड ४३ लाख, लक्ष्मी सनराइजको १२ करोड ६५ लाख, हिमालयन बैंकको १२ करोड ३२ लाख र राष्ट्रिय वाणिज्यको १२ करोड ४ लाख रुपैयाँ बचत हुन्छ।
साथै, प्रभु बैंकको ११ करोड ९९ लाख, एनएमबी बैंकको ९ करोड ६९ लाख, सिद्धार्थ बैंकको ९ करोड ५२ लाख, नेपाल बैंकको ९ करोड २६ लाख, कृषि विकास बैंकको ९ करोड ७ लाख, एभरेस्ट बैंकको ८ करोड ३२ लाख, प्राइम बैंकको ८ करोड २७ लाख, सानिमा बैंकको ७ करोड ५१ लाख, सिटिजन्स बैंकको ७ करोड १५ लाख, माछापुच्छ्रे बैंकको ६ करोड ४९ लाख, नेपाल एसबीआई बैंकको ६ करोड २१ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ४ करोड ४६ लाख रुपैयाँ प्रोभिजन बचत हुने देखिन्छ।