काठमाडौं। उड्दा उड्दै जहाजमा प्राविधिक समस्या देखिएपछि साउदी अरबको दमाममा नपुगी फर्किएको नेपाल वायुसेवा निगमको जहाज इन्जिनियरको ‘स्वार्थ’ मा जबर्जस्ती उडाइएको खुलासा भएको छ।
निगमको ‘आरए४१२’ उडानमार्फत दमाम गइरहेका बेला बीच बाटो (पाकिस्तान) पुगेका बेला प्राविधिक समस्या देखिएपछि काठमाडौंमै बिहीबार बिहान ४ः५१ बजे अवतरण गराइएको थियो। उक्त जहाज बुधबार राति १२ः४५ बजे दमाम उडेको थियो।
जहाजमा प्राविधिक समस्या आएको त्यही पहिलोपटक भने होइन। दुई दिन अघिदेखि नै पटक–पटक समस्या आए पनि प्राविधिकले सामान्य जाँच गर्दै उडान गर्दै आएका थिए।
खासगरी मंगलबार काठमाडौंबाट नयाँदिल्ली उडान क्रममै उक्त जहाजमा प्राविधिक समस्या देखिएको थियो।
केही समय दिल्लीमा मर्मतपछि काठमाडौं बेससम्म पुगेर पुनः मर्मत गर्ने गरी दिल्ली विमानस्थलबाट त्यहाँका इन्जिनियरले प्रमाणित गरेर पठाएका थिए। बेस पुगेर मर्मत गर्न मिल्ने खालका समस्या भएका जहाजलाई प्रायः इन्जिनियरले सामान्य मर्मत गरी गन्तव्यसम्म पठाउने गरेका छन्।
तर, काठमाडौं आएपछि पनि जहाज पूर्णरूपमा मर्मत नगरी सोही दिन भारतकै बैंगलोरमा उडान गरेका थिए। बैंगलोर उडानमा पनि प्राविधिक समस्या देखिएपछि झन्डै तीन घन्टा जहाज त्यहीँको विमानस्थलमा ‘ग्राउन्डेड’ गरिएको थियो।
निगम स्रोतका अनुसार मंगलबार उक्त जहाज बैंगलोरबाट साँझ ६ बजेर ४१ मिनेटमा उडेको थियो भने राति ९ बजेर २६ मिनेटमा मात्र फर्किएको थियो।
तीन घन्टासम्म मर्मत गरी उडान गरेको उक्त जहाजमा उड्दाउड्दै समस्या आएपछि ‘लो अल्टिच्युड (२७ हजार फिट उचाइ) मा उडान गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको थियो।
एउटै जहाजमा पटक–पटक समस्या देखिँदा पनि व्यवस्थापनले मर्मतसम्भारमा ध्यान दिनुभन्दा उडानमै जोड दिइरहेका थिए। व्यवस्थापनले मात्र होइन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले समेत जहाज मर्मतभन्दा उडानका लागि दबाब दिने गरेका छन्।
इन्जिनियर मनोजकुमार शाहको चाहनामा उडान
जहाजमा पटक–पटक समस्या आएको जानकारी पाइलटले इन्जिनियरलाई दिइरहेका थिए। तर, इन्जिनियर विभागले भने सामान्य मर्मतकै आधारमा उडान प्रमाणित गर्दै आएको थियो। बिहीबार फर्किएको जहाज प्राविधिक समस्या आइरहेको जानकारी आए पनि इन्जिनियर मनोजकुमार साहको चाहनामा जबर्जस्ती दमाम उडान गरिएको थियो।
अन्य गन्तव्यमा निगमको जहाज हेर्ने इन्जिनियर रहे पनि दमाममा भने काठमाडौंबाटै लैजाने गरेका थिए। निगमले आफ्ना इन्जिनियरलाई दमाम लैजाँदा उल्टै भत्तासमेत पाउने गरेका छन्। पालो–पालो दमाम जाँदै आएका इन्जिनियरमध्ये बुधबार साहको पालो थियो।
साहले जहाजमा समस्या आएको देखिए पनि आफ्नो पालो रहेकै कारण उडान गर्न व्यवस्थापनलाई दबाब दिएका थिए। त्यतिमात्र नभई, साहले पर्यटनमन्त्री किराँतीलाई समेत जहाज उडानका लागि दबाब दिएका थिए। मन्त्री किराँतीसामु जहाजमा कुनै समस्या नभएको जानकारी गराउँदै उडान गराएका थिए। साह मन्त्रीनिकट नेकपा (माओवादी) केन्द्र नजिक छन्।
यससम्बन्धमा जानकारी लिन निगमका प्रवक्ता रमेश पौडेल र सूचना अधिकारी अर्चना खड्कालाई सम्पर्क गर्दा उनीहरूको फोन उठेन।
निगममा पर्यटनमन्त्रीको ठाडो हस्तक्षेप
निगममा पछिल्लो समय पर्यटनमन्त्री किराँतीले ठाडो हस्तक्षेप गर्दै आएका छन्। पाइलटको उडान, इन्जिनियरका काम कारबाहीदेखि तालिममा पर्यटनमन्त्रीले तोक आदेश दिँदै आएका छन्।
मन्त्रीको तोक आदेशका भरमा अहिले तालिम तथा उडानमा सहभागी हुने गरेको निगमका एक उच्च अधिकारीले जानकारी दिए। जसका कारण पाइलट र इन्जिनियर निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीभन्दा मन्त्रीलाई खुसी बनाउन लागिपरेका छन्।