काठमाडौं। नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा सीमा बढाएर अधिकतम २० करोड रुपैयाँ बनाएको छ।
केन्द्रीय बैंकले बिहीबार एक निर्देशन जारी गरी यसअघिको १२ करोड रुपैयाँ सीमा बढाएर २० करोड रुपैयाँ पुर्याएको हो।
केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७९ संशोधन गर्दै व्यक्तिगत तथा संस्थागत दुवैको सीमा बढाएको छ। कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा १२ करोड बढाएर १५ करोड रुपैयाँ कायम गरिएको छ। संस्थागतलाई २० करोड रुपैयाँ पुर्याइएको छ
कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा (सिङ्गल अब्लिगर लिमिट) १५ करोड र लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको निर्देशनमा उल्लेख छ।
नयाँ व्यवस्थाअनुसार सेयर धितो राखेर व्यक्तिगत सेयर कारोबार गर्ने लगानीकर्ताले समग्र बैंकिङ प्रणालीबाट १५ करोड रुपैयाँसम्म कर्जा लिन पाउने भएका छन्।
यस्तै संस्थागत लगानीकर्ताले अधिकतम २० करोड रुपैयाँसम्म पाउने छन्। यसअघि व्यक्तिगत र संस्थागतलाई १२ करोड रुपैयाँको सीमा थियो।
सेयर बजार निरन्तर घट्दै गएपछि केन्द्रीय बैंकलाई सेयरधितो कर्जा सीमा पुनरावलोकन गर्नुपर्ने दबाब सिर्जना भएको थियो।
दुई साताअघि मात्र गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालबीच सेयर धितो कर्जा सीमाबारे छलफल भएको थियो।
यस्तै अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि सेयर धितो कर्जाको सीमा बढाएर १८ करोड रुपैयाँ पुर्याउनुपर्ने बताएका थिए।