काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) र आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमईपे) बीच रणनीतिक साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौता अनुरूप आईएमई डिजिटल सोलुसन अबको २ वर्षको लागि क्यानले देशभित्र आयोजना गर्ने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलहरूको टिकेटिङ्ग पार्टनरका रूपमा रहने छ।
सम्झौता लागु भएसँगै आउँदो २ वर्षको समय अवधिमा नेपाल क्रिकेट संघले नेपालमा आयोजना गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय खेलहरूको फिजिकल र अनलाईन टिकेटको बिक्रीको जिम्मेवारी पनि आईएमई पेले पाएको छ। बिहीबार एक समारोहका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। पत्रमा संघको तर्फबाट सचिव पारस खड्का र आईएमई डिजिटलका तर्फबाट आईएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले हस्ताक्षर गरेका छन्।
नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाएको सफलता र ख्यातिलाई संस्थागत गर्दै सिङ्गो नेपाली क्रिकेटको विकास र विस्तारका लागि सम्पूर्ण क्षेत्रको संयुक्त पहलको आवश्यकता रहेको छ। सोही आवश्यकता महसुस गरी यो समझदारी भएको हो। संघका सचिव खड्काले, आईएमई पे सँगको यो साझेदारीले नेपाली क्रिकेटको बहुआयामिक विकासमा सहयोग पुग्ने बताए।
नेपाली क्रिकेटको स्तर वृद्धि र दिगो विकासका लागी आउँदो दिनहरूमा हामीले अन्तर्राष्ट्रिय टोलीहरूसँग धेरै भन्दा धेरै खेलहरू खेल्नु पर्ने अवस्था रहेको उनले बताए। आईएमई पे जस्तो संस्थाले नेपाली क्रिकेटमा लगानी गर्ने निर्णय गर्नु हामी सबैका लागि खुसीको खबर भएको उनको प्रतिक्रिया छ।
यस्तै, नेपाली क्रिकेटको विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको आईएमईपेका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताएका छन्। नेपाली क्रिकेटको विकासमा क्यानसँग सहकार्य गर्ने मौका दिएकोमा क्यानलाई सिइओ रेग्मीले धन्यवाद दिए।
यसैगरी आइएमई ग्रुपले क्रिकेटर करन केसी र सोमपाल कामीलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। आइएमईले खेलाडीको मनोबल बढाउन प्रतिबद्ध रहेको भन्दै नयाँ ब्राण्ड एम्बेसडरहरुमार्फत आइएमई ग्रुपको साख बढाउन सहयोग पुग्ने विश्वास लिइएको बताएको छ।