काठमाडौं। करिव २ सातदेखि यातायात व्यवसायी र सरकारबीच दिनहुँजसो छलफल चलिरहेको छ। विगतका वर्षमा झै यातायात व्यवसायीले अग्रिम टिकट खुलाउन माग राखिरहेका छन्। सरकार पनि उनीहरुलाई फकाएर अग्रिम टिकट खुलाउने प्रयासमा छ।
घटस्थापना आउन १० दिन मात्र बाकीँ हुदाँ दसैंको अग्रिम टिकट खुल्ने मिति तय हुन सकेको छैन।
बुधबार बसेको ‘पूर्वाधार विकास समिति’ले दसैंमा सार्वजनिक यातायातलाई सरल र व्यवस्थित बनाउन निजी विद्यालय तथा सरकारमातहतका बस प्रयोगमा ल्याउन निर्देशन दिएको छ।
अग्रिम टिकटको विषयमा यस्तो कुरा आउने गरेको यो पटक भने होइन। प्रत्येक वर्ष दसैं अगाडी यातायात व्यवसायी र सरकारबीच यस्ता छलफल भइरहन्छ।
यो पटक व्यवसायीहरुले वैज्ञानिक भाडादर, सडकको अवस्था र केही नीतिगत कुरा उठाइरहेको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरु बताउछन्।
\‘उहाँहरुले उठाउनु भएको केही कुरा ठिक छ। त्यसलाई हामी सम्बोधनको प्रयास पनि गरिरहेका छौं। उहाँहरुसँग अग्रिम टिकटको विषयमा कुरा पनि गरिरहेका छौं। छिटै केही समाधान निस्कन्छ,’ उनले भने।
यातायात व्यवसायीले यो वर्ष मात्र अग्रिम टिकट खुलाउन बार्गेनिङ गरेका होइनन्। प्रत्येक वर्ष दसैंअघि उनीहरुको केही न केही माग हुन्छ।
आफूहरुले बार्गेनिङ गरेको नभई जायज माग राखेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन्।
‘हामीले कुनै बार्गेनिङ गर्न खोजेका होइनौं। चितवनदेखि बुटवल, मुग्लिनदेखि पोखरा, ढल्केबर तथा विभिन्न ग्रामीण क्षेत्रको सडक गाडी चलाउन नसक्ने खालका छन्। ति ठाउँमा यात्रु पुर्याउन जाँदा र आउँदा सडकको समस्याका कारण हुने क्षतिको जिम्मा सरकारले लिने लिखित सम्झैता गर्नुपर्छ,’ उनले भने।
दसैं अगावै भाडा समायोजन गर्नुपर्ने उनी बताउछन्। ‘चैतमै गर्नुपर्ने भाडा समायोजन हुन सकेको छैन। सधै ३५ प्रतिशतको इन्धनलाई हेरेर भाडा तल माथी हुन्छ, ६५ प्रतिशत अरु कम्पोनेन्ट किन हेरिदैन? यातायात व्यवसायीको समस्या सरकारले किन देख्दैन? ,’ उनले प्रश्न गरे।
सरकारले अरु बेलामा व्यवसायीको कुरा मतलब नगरेको कारण दसैंकै मुखमा आफ्ना माग राख्न बाध्य भएको सिटौलाको तर्क छ।
‘हामीलाई हाम्रो समस्या सुनाउनु छ र त्यसको समाधान पनि खोज्नु छ। अरु बेलामा सरकारले हामीलाई भेट्नै खोज्दैन, समस्या नै सुन्दैन त्यस कारण दसैं अगाडि आफ्ना माग राख्नु परेको हो,’उनले क्यापिटल नेपालसँग भने।
महासंघको छलफलपछि कसरी कसरी अघि बढ्ने भन्ने बाटो तय गरिने सिटौलाले बताए। यात्रुलाई दःुख दिने आफुहरुको मनसाय नभई यातायात व्यवसायलाई जोगाउन मात्र खोजेको उनको जिकिर छ।
यसरी अत्यावश्यक समयमा सरकारलाई दुःख दिनु गैरकानुनी कार्य भएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना बताउँछन्।
‘यो समयमा केही दिनमै लाखौं यात्रु राजधानीबाट बाहिरिन्छन्। यस्तो मौका छोपेर सरकारलाई घुँडा टेकाउन खोज्नु भनेको नागरिक प्रतिको अपराध हो,’ उनले भने।
भाडा बढाउन दसैं अगाडि अग्रिम टिकट खोल्न बार्गेनिङ गर्नेलाई कारवाही गर्नुपर्ने उनको तर्क छ। ‘उहाँहरुले प्रत्येक वर्ष यस्तै समयमा सरकारसँग बार्गेनिङ गर्नुहुन्छ। दसैंकै मुखमा किन निहुँ खोज्ने यातायात व्यवसायीलाई कारवाही गरी सरकारको मातहतमा भएका गाडी र विद्यालयका गाडी प्रयोग गरेर भने पनि यात्रुलाई सेवा दिनुपर्छ,’ तिमल्सिनाले भने।
स्कुल, सेना, प्रहरी र निजामती सेवाका सवारी साधनले समस्या हल नहुने विभागका प्रवक्ता पनेरु बताउछन्।
‘पहिलो कुरा त यी गाडीले यात्रु बोक्नै पाउदैनन् र यो स्थायी समाधान होइन। यातायात व्यवसायीको जायज मागलाई पुरा गरेर यात्रुलाई घर जान सहज वातावरण बनाउनु पर्छ,’ उनले भने ‘त्यस्तै यातायात व्यवसायीले पनि तत्काल हल गर्न नसकिने मागका लागि धैर्यता राख्नुपर्छ,।’