काठमाडौं। नेपाल इन्भेष्मेन्ट मेगा बैंक( एनआइएमबी) व्यवस्थापनको विरोधमा कर्मचारी युनियन उत्रिएका छन्। त्रिशुली नदीमा हाम फालेर विगत ३ दिनदेखि बेपत्ता भएका हेटौडा शाखा प्रमुख निराजन देवकोटाको बारेमा व्यवस्थापनले नियतवस विषयलाई विषयान्तर गर्न खोजेको भन्दै कर्मचारी युनियनले पेश विज्ञप्ती जारी गरेको हो।
व्यवस्थापनको ‘टर्चर’ थेग्न नसकेपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका शाखा प्रमुखद्वारा आत्महत्या
तत्कालिन मेगा बैंक नेपालको हेटौडा शाखामा सहायक प्रवन्धकका रुपमा क्रियाशील देवकोटा मर्ज भएसँगै एनआइएमबी हेटौडाकै कान्तिपथमा क्रियाशील थिए। एनआइएमबी केन्द्रिय कार्यालयले बोलाएको स्थीतिमा हेटौडाबाट फर्पिङ हुदै बल्खु आइपुगेका देवकोटा त्यहिबाट फर्किएर धादिङस्थित घाटबेसी पुलबाट त्रिशुलीमा हाम फालेका थिए।
‘यस्तो दुःखद घडीमा न्युनतम् मानविय संवेदना समेतलाई ख्याल नगरी बैंकका प्रमुख सूचना अधिकारीलाई हवाला दिँदै विभिन्न सन्चार माध्यममा आएका निराधार समाचारप्रति यस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ‘,युनियनले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
बैंकका एक कर्मचारीको जीवनसंग गाँसिएको अत्यन्तै संवेदनशील विषयलाई विषयान्तर गर्न कसैको व्यक्तिगत चरित्रमाथि दाग लाग्ने खालका समाचार आईरहेको र व्यवस्थापन पक्षले हालसम्म यस सम्बन्धमा कुनै खण्डन नगर्दा कतै नियतवस विषयलाई विषयान्तर गर्न खोजिएको पो हो की भन्ने आशंका पैदा भएको विज्ञप्तीमा उल्लेख छ। कर्मचारी युनियनले बैंक व्यवस्थापनलाई गम्भिर भएर प्रस्तुत हुन समेत आग्रह गरेका छन्।
‘टर्चर’ पछि इन्भेस्टमेन्ट मेगा बैंकबाट राजीनामा दिए, स्वीकृत नहुँदा त्रिशूलीमा हाम फाले देवकोटा
कर्मचारी युनियनले सहकर्मीको खोजिमा आफु पनि लागेको र बैंक व्यवस्थापनले तुरुन्त खोजी गरि तत्काल यथार्थता पत्ता लगाई जानकारी गराउन समेत आग्रह गरेको छ। युनियनले देवकोटाको राजिनामा सो पश्चात् बैंक व्यवस्थापन पक्षबाट समय–समयमा भएका भनिएका विभिन्न चरणका अनुसन्धान, निजलाई बैंकको सेवाबाट अवकाश दिने प्रक्रिया लगायतमा भएका कानुनी आधारहरु र सो विषयका सन्दर्भमा व्यवस्थापन पक्षबाट भएका व्यवहार साथै अनुसन्धानका नाममा बैंकका तर्फबाट विभिन्न व्यक्तिहरुबाट संकलन गरेको भनिएको कथित आरोप पत्र लगायत सबै प्रक्रियामा ध्यानाकर्षण उल्लेख गरेको छ।
घटना पुनः दोहोरिन नदिन हाल कर्मचारीहरुलाई अनुसन्धानको नाममा कानुनी व्यवस्था तथा दायरालाई समेत वेवास्ता गरी गर्ने गरिएको कथित अनुसन्धान तुरुन्त बन्द गर्न युनियनले माग राखेको छ। साथै सो सम्बन्धमा कहिं कतै अनुसन्धान आवश्यक भएको खण्डमा नियम बमोजीम समिति गठन गरी कर्मचारी सेवा विनियमावलीको अधिनमा रहेर मात्र गर्न÷गराउन युनियनले अनुरोध गरेको छ।