काठमाडौं । नेपाली र चिनियाँ लगानीमा निर्माणाधीन ७८ मेगावाटको सान्जेन खोला जलविद्युत आयोजनाले आगामी असारदेखि बिजुली उत्पादन गर्ने भएको छ।
चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेडले सन् २०२४ जुलाइसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ। अहिलेसम्म आयोजनाको ५९ प्रतिशत भौतिक प्रगति भएको छ। अझै ४१ प्रतिशत काम सम्पन्न गर्न बाँकी छ।
अहिलेको अवस्था हेर्दा निर्धारित समयमा आयोजना सम्पन्न नहुने सम्भावना बढी छ। चाइना हार्बर इन्जिनियरिङ कम्पनी र वाइड रिसोर्सेस लिमिटेड हङकङको संयुक्त लगानीमा उक्त आयोजना बन्न लागेको हो।
आयोजनामा नेपाली साझेदार विष्णुराज अधिकारी छन्। ९२ प्रतिशत चिनियाँ र ८ प्रतिशत स्वामित्व अधिकारीको छ। सालासुङ्गी पावरमा अध्यक्ष चिनियाँ नागरिक युन लियाङ छन् भने सञ्चालकमा अधिकारी छन्। युनको जलविद्युत क्षेत्रमा तीन दशक बढी अनुभव छ।
आयोजना सालासुङ्गी पावर लिमिटेडमार्फत निर्माण भइरहेका छन्। आयोजनाको लागत बढेर १५ अर्ब ३८ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान छ। यसअघि आयोजनाको कुल लागत १३ अर्ब १९ करोड रुपैयाँ हुने अनुमान थियो।
नेपाली रुपैयाँ अमेरिकी डलरसँग अवमूल्यन भएपछि लागत बढेको कम्पनीले जनाएको छ। आयोजना बनाउन प्रतिमेगावाट लागत १९ करोड ७२ लाख रुपैयाँ पुग्ने देखिएको छ।
आयोजनामा ९ अर्ब २३ करोड ३० लाख रुपैयाँ बैंक ऋण र बाँकी ६ अर्ब १५ करोड ४० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुनेछ। ४ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ संस्थापकले आयोजनामा लगानी गरिसकेका छन्। ६० प्रतिशत बैंक ऋण र ४० प्रतिशत स्वपुँजी हुने गरी लगानी संरचना तयार पारिएको छ। आयोजनामा कूल लगानीको ८० प्रतिशत हिस्सा डलरको छ।
आयोजनाको कुल लागतमध्ये ९२ प्रतिशत हिस्सा चाइना हार्बर र वाइड रिसोर्सेससँग छ । बाँकी ८ प्रतिशत नेपाली साझेदार विष्णु अधिकारीको छ ।
आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंक अगुवाइमा सिटिजन्स बैंक र कुमारी बैंकले ९ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । २०७६ जेठ ३१ मा आयोजना विकासकर्ता सालासुङ्गी र बैंकहरूबीच ऋण लगानी सम्झौता भएको थियो।
सान्जेन खोला नदी प्रवाह (रन अफ द रिभर) मा आधारित आयोजना हो। गत जेठसम्म कम्पनीले कुल लगानीको ३४ प्रतिशत खर्च गरिसकेको छ।
आफैं निर्माण तथा सञ्चालन (बुट) मोडेलमा आयोजना निर्माण भइरहेको छ। आयोजना इन्जिनियरिङ, प्रोक्योरमेन्ट कन्ट्रयाक्ट (इपिसी) मोडेलमा बन्ने छ।
आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले किन्ने गरी खरिद–बिक्री सम्झौता (पिपिए) भएको छ। बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र सुक्खायाममा ८.४० रुपैयाँमा पिपिए भएको छ।
आयोजनाको लोडफ्याक्टर ६२.७१ प्रतिशतमात्र छ। वार्षिक ३ प्रतिशतका दरले ८ वर्षसम्म आयोजनाले मूल्यवृद्धि पाउने छ। आयोजनाबाट उत्पादन हुने बिजुली साढे सात किलोमिटर दुरीमा रहेको चिलिमे हबको १ सय ३२ केभी सबस्टेसनमा जोड्न प्रस्ताव गरिएको छ। आयोजनाले १ सय ३६ वर्गकिलोमिटर क्षेत्रफल ढाक्ने छ।
यसअघि २०२० जुन २२ सम्म बिजुली उत्पादन गर्नुपर्ने थियो। कोरोना महामारीले आयोजनाको काम सुरु नहुँदा २०२२ जुलाई ३१ सम्म पुगेको थियो। विद्युत उत्पादन मिति थप्न कम्पनीले विद्युत प्राधिकरणसँग अनुरोध गरेको छ। विद्युत प्राधिकरणले उत्पादन मिति थप्न भने बाँकी छ।
सालासुङ्गी पावर २००९ मा स्थापना भएको थियो। २०२० मा सालासुङ्गी पब्लिक कम्पनीमा परिणत भएको थियो। आयोजना रसुवा चिलिमेमा रहेको सान्जेन खोलामा छ। सान्जेन खोला आयोजनाको डिजाइन डिस्चार्ज ९.१० क्युमेक प्रतिसेकन्ड रहने र खुदहेड करिब १ हजार मिटर हुनेछ। आयोजना रसुवा आमछोडिङमो गाउँपालिकामा छ।
चाइना हार्बर इन्जिनियरिङ विश्वभरि ९० भन्दा बढी शाखा र प्रतिनिधि कार्यालय छन् भने सयभन्दा बढी देशमा परियोजनाका काम गरिरहेको छ।