काठमाडौं। अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका सेयरधनीहरुबाट हकप्रदबापत ७८ प्रतिशत रकम संकलन भएको छ।
दोलखामा सञ्चालित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीहरुलाई १ः१ अनुपातमा १ सय रूपैयाँ अंकित दरको हकप्रद सेयर निष्कासन गरिरहेको छ।
कम्पनीका संस्थापकहरु नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले आफ्नो सेयर अनुपातमा हकप्रद सेयर बापतको रकम सतप्रतिशत चुक्ता गरिसकेका छन्। संस्थापकहरुले ५ अर्ब ४० करोड ९ लाख रुपैयाँ चुक्ता गरेका हुन्।
कम्पनीको ४९ प्रतिशत साधारण शेयरमध्ये सर्वसाधारणहरुबाट ५ अर्ब १९ करोड ९१ लाख रुपैयाँ चुक्ता हुनुपर्ने छ। मंगलबारसम्म सर्वसाधारण सेयरधनीबाट २ अर्ब ८३ करोड अर्थात ५५ प्रतिशत रकम सङ्कलन भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहनप्रसाद गौतमले बताए। गौतमले भने,‘संस्थापकबाट सतप्रतिशत र सर्वसाधारणबाट ५५ प्रतिशत गरी हालसम्म ७८ प्रतिशत रकम संकलन भइरहेको छ। सेयर भर्ने स्थानहरुमा व्यापक भीडभाड देखिएको छ, बाँकी ६ दिनमा अपेक्षाकृत रुपमै सबै रकम संकलन हुने देखिएको छ।’
हकप्रद सेयर भर्ने अन्तिम दिन आगामी २२ असोज सोमबारसम्म रहेको छ।
१० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक सेयर छ। सेयर स्वामित्वअनुसार, प्राधिकरणले ४ अर्ब ३४ करोड १९ लाख, नेपाल टेलिकमले ६३ करोड ५४ लाख र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानले २१ करोड १८ लाख, २१ करोड १८ लाख रुपैयाँ हकप्रद सेयर बापतको रकम चुक्ता गरिसकेका छन्।
कम्पनीको ४९ प्रतिशत साधारण सेयरमध्ये कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मचारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर छ।
यसअनुसार कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले १ अर्ब ८२ करोड ९९ लाख ५२ हजार, सर्वसाधारणले १ अर्ब ५८ करोड ८५ लाख, दोलखाबासीले १ अर्ब ५ करोड ९० लाख, कम्पनी र प्राधिकरणका कर्मचारीहरुले ४० करोड ६६ लाख ५६ हजार र आयोजनामा कर्जा प्रवाह गर्ने संस्थाका कर्मचारीहरुले ३० करोड ४९ लाख ९२ हजार रुपैयाँ हकप्रद सेयरबापत चुक्ता गर्नुपर्ने छ। हकप्रद सेयरबापतको रकम संकलनपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ।