काठमाडौं। माछापुच्छ्रे बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइरालालाई तलब भत्तावापत पौने २ करोड रुपैयाँ खर्च गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७९/८० मा सिइओ कोइरालालाई १ करोड ७९ लाख ६८ हजार रुपैयाँ पारिश्रमिक, भत्ता तथा अन्य सुविधावापत भुक्तानी गरेको हो। अघिल्लो आर्थिक वर्ष बैंकले कोइरालालाई उक्त शीर्षकमा १ करोड ५४ लाख ८१ हजार रुपैयाँ भुक्तानी गरेको थियो।
गत आर्थिक वर्ष सञ्चालक समितिको १८ वटा बैठक बसेको थियो। बैंकमा ७ सञ्चालक छन्। जसमा सञ्चालक बन्दना कार्की १७ वटा बैठकमा उपस्थित भएकी थिइन् भने बाँकी सबै सञ्चालक १८ वटै बैठकमा सहभागी भएका थिए।
यस्तै बैंकले गत आर्थिक वर्षमा नायब प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा प्रबन्धकहरूलाई पारिश्रमिक, भत्ता तथा अन्य सुविधावापत १९ करोड ८४ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरेको छ। बैंकले अघिल्लो वर्ष उक्त शीर्षकमा नायब प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक तथा प्रबन्धकहरूलाई १९ करोड ७९ लाख ६३ हजार रुपैयाँ भुक्तानी गरेको थियो।
गत आर्थिक वर्ष बैंकले कर्मचारीको तलब भत्तामा बोनसबाहेक १ अर्ब ८६ करोड ११ लाख रुपैयाँ, कार्यालय सञ्चालनमा १ अर्ब २१ कराेड ७६ लाख रुपैयाँ गरी कुल ३ अर्ब ७ करोड ८७ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ।
अघिल्लो आवमा बैंकले कर्मचारीको तलब भत्तामा बोनसबाहेक १ अर्ब ६५ करोड ४१ लाख, कार्यालय सञ्चालनमा १ अर्ब ४७ करोड २८ लाख गरी कुल ३ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ व्यवस्थापनमा खर्च गरेको थियो। अघिल्लो वर्षभन्दा बैंकले गत वर्ष व्यवस्थापन खर्च ३१ करोड ७८ लाख रुपैयाँले घटाएको हो।
बैंकले सञ्चालक समितिको बैठकमा भाग लिएवापत अध्यक्षलाई प्रतिबैठक १८ हजार रुपैयाँ र सञ्चालकलाई १५ हजार रुपैयाँ भत्ता उपलब्ध गराएको छ। बैंकले सञ्चालकहरूलाई बैठक भत्तावापत कुल १७ लाख ७८ हजार रुपैयाँ खर्च गरेको छ।
जसमध्ये बैंक अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले २ लाख ९७ हजार, सञ्चालक रोशन केसी, जयमुकुन्द खनाल, विश्वप्रकाश गौतम, हरिभक्त सिक्देल र मुकुन्द महतले २ लाख ४७ हजार ५ सय रुपैयाँका दरले बैठक भत्ता बुझ्दा सञ्चालक बन्दना कार्कीले २ लाख २३ हजार ५ सय रुपैयाँ बैठक भत्ता लिएकी छिन्।
यसबाहेक बैंकले सञ्चालक र सिइओलाई प्रतिमहिना पत्रपत्रिका, मोबाइल तथा इन्टरनेट खर्चवापत १५ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था छ। साथै, ५० लाख रुपैयाँबराबरको सामूहिक दुर्घटना बिमा गराएको छ। बैंकको कामको सिलसिलामा भ्रमण गर्नुपर्दा लाग्ने खर्च, दैनिक भ्रमण भत्ता आदि बैंकको नियमावलीअनुसार दिने गरेको छ।
२०७६/७७ मा बैंकका सिइओले तलब भत्ता तथा अन्य सुविधावापत २ करोड २३ लाख रुपैयाँ बुझेका छन्। यो तलब सुविधा २०७६ फागुन ३० सम्म तत्कालीन सिइओ सुमन शर्मा र २०७७ वैशाख १ देखि सन्तोष कोइरालाले प्राप्त गरेका हुन्।