काठमाडौं। हेटौंडा उपमहानगरपालिका–२ चौकीटोलका नारायणप्रसाद देवकोटाका ३८ वर्षीय छोरा निराजन देवकोटा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा काम गर्थे। उनले तत्कालीन मेगा बैंकमा ७ वर्ष र प्रभु बैंकलगायत वित्तीय संस्थामा गरी करिब १८ वर्ष बैंकिङ क्षेत्रमा बिताएका थिए।
उनै ३८ वर्षीय देवकोटाले असोज १५ साँझ साढे ६ बजे धादिङ घाटबेसीस्थित पुलबाट त्रिशूली नदीमा हाम फालेको प्रहरीले जनाएको छ। धादिङ प्रहरीका अनुसार उनको खोजी कार्य जारी छ। अहिलेसम्म उनलाई भेट्टाउन सकिएको छैन। उनले चढ्ने मोटरसाइकल पुलमै रोकिएको अवस्थामा थियो।
देवकोटाका बुबा नारायणप्रसाद राष्ट्रिय सहकारी दुग्ध विकास संघका अध्यक्ष र सहकारी अभियन्ता हुन्। हेटौंडाका व्यावसायिक घरनामध्ये एक मानिएका देवकोटाका भाइ अस्ट्रेलिया बस्छन्। देवकोटाका लागि बैंकको जागिर आम्दानीको प्रमुख स्रोत नभएर ‘प्रोफाइल मेन्टेन’ गर्ने माध्यममात्रै रहेको उनीनिकटहरू बताउँछन्।
बैंकबाट पनि आकर्षक तलब बुझ्ने देवकोटाको हेटौडामा आफ्नै लगानीमा दुई होटल सञ्चालनमा छन्। जसको व्यापार अन्य स्थानीय होटलका तुलनामा दोब्बरजस्तै छ।
देवकोटालाई परिवारिक आवश्यकता होस् वा अन्य विलासिताको आवश्यकता पूरा गर्न वैकल्पिक माध्यम वा गैरकानुनी तरिकाले आम्दानी संकलन गर्नुपर्ने अवस्था नरहेको उनकै सहकर्मीहरू बताउँछन्।
‘उहाँको बुबाले मुख्यमन्त्री वा सोसरह सरकारी सेवा सुविधा उपयोग गरेर हिँडिरहनुभएको छ भने उनकै पनि राम्रो चलेका दुइटा होटल छन्,’ देवकोटाका एक सहकर्मीले क्यापिटल नेपालसँग भने, ‘बैंकको तलबभन्दा धेरै आम्दानी बाहिरबाटै हुँदा उहाँले कर्जा पास गर्दा घुस लिएर आफ्नो आवश्यकता टार्नुपर्ने कुनै कारण छैन।’
उनले मेगा बैंकमा अधिकृत तहबाट जागिर सुरु गरी सहायक प्रबन्धक तहसम्म पुगेका थिए। तत्कालीन मेगा बैंक हेटौडा पारिजातपथ शाखामा चार वर्ष प्रमुखको जिम्मेवारी सम्हालेका देवकोटा पछिल्लो समय जिम्मेवारीविहीन जस्तै थिए।
त्यसबेला मेगा बैंकका शाखामध्ये उत्कृष्ट शाखा र उत्कृष्ट कर्मचारीको पुरस्कार पाएका शाखा प्रमुख देवकोटाले एक महिनाअघि जागिरबाट राजीनामा दिएर स्वीकृतिको पर्खाइमा थिए।
तत्कालीन टुरिज्म डेभलमेन्ट बैंकले सञ्चालन गरेको पारिजातपथ शाखा मेगाले प्राप्ति गरेपछि देवकोटा त्यहाँको प्रमुख थिए। उक्त शाखा मेगा बैंककै अर्को शाखा कान्तिराजपथसँग मर्ज भएपछि देवकोटाको शाखा प्रमुखको जिम्मेवारी खोसियो।
उनलाई वैकल्किप अर्थात अर्को नहुँदासम्मका लागिमात्रै शाखा प्रमुखको जिम्मेवारी बैंक व्यवस्थापनले दिएको थियो। उक्त शाखाका प्रमुख मानवी बोसको अनुपस्थितिमा मात्रै शाखा प्रमुखको जिम्मेवारी पाउने गरी देवकोटालाई उक्त शाखामा राखिएको थियो।
अधिकांश बैंक तथा वित्तीय संस्थामा सिइओ, विभागीय प्रमुख, शाखा प्रमुखमार्फत पास भएका फाइलको अडिट गर्ने चलन छ। सोही क्रममा देवकोटा शाखा प्रमुख हुँदा उनले दिएको कर्जाको फाइल अडिट हुँदा बैंक व्यवस्थापनले अनावश्यक दुःख दिने काम गरिरहेको थियो।
हेटौंडाका स्थानीय धनाढ्य तथा राजनीतिक पहुँच भएका देवकोटाले आफूलाई बैंक व्यवस्थापनले गरेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै बैंकबाट बाहिरिने निर्णय गरेका थिए।
उनले बैंकको जागिर छाडेर भाइसँगै २/४ महिना अस्ट्रेलिया घुमेर आउने योजना बनाएका थिए। देवकोटाले गत भदौ ३ गते नै जागिरबाट राजीनामा दिएका थिए। बैंक कर्मचारी नियमावलीअनुसार उनको राजीनामा असोज ३ सम्म स्वीकृत भइसक्नुपर्ने थियो। तर, बैंकले उनको राजीनामा स्वीकृत नगरी अनुसन्धानका नाममा अनावश्यक दुःख दिँदै काठमाडौं बोलाएर पटक÷पटक सोधपुछ गरिरह्यो।
‘असोज ४ गते नै स्वीकृत हुनुपर्ने राजीनामा व्यवस्थापनले हुन्छ÷हुन्छ भन्दै झुलाइरहेको थियो। यस्तो निर्णय गर्ने मान्छे त होइन, तर पछिल्लो समय म्यानेजमेन्टले जसरी अनुसन्धान गर्यो, त्यसले मलाई धेरै मानसिक तनाव भएको छ भनेर भेट हुँदा भन्ने गर्नुहुन्थ्यो,’ उनका अर्का एक सहकर्मीले क्यापिटल नेपालसँग भने।
बैंक स्रोतका अनुसार बैंकले देवकोटा शाखा प्रमुख हुँदा दिएको कर्जाको केही फाइलमा घुस लिएको शंका गर्दै अनुसन्धान गरिरहेको थियो। अडिटमा देवकोटामार्फत प्रवाहित कर्जाको फाइलमा खासै समस्या देखिएको छैन। तर, उनी कार्यरत शाखा मर्ज भएपछि बैंक उच्च व्यवस्थापनले उनलाई कयौंपटक फोनमार्फत, कतिपटक हेटौंडामा भएको मान्छेलाई काठमाडौं नै बोलाएर छोधपुछ गरेको छ। कतव्र्यनिष्ठ भएर दिएको जिम्मेवारी समयमै पूरा गर्ने बानी परेका देवकोटा जिम्मेवारविहीन भएर कार्यलयको कुर्सीमै रुङनुपर्दा थप तनावमा थिए।
व्यवस्थापनले दिएको मानसिकसँगै अन्य प्रकारको तनाज थेग्न नसकेर उनले राजीनामा दिएको अर्का सहकर्मी बताउँछन्। तर, बैंक व्यवस्थापनले उनलाई दुःख दिएर अन्य कर्मचारी तर्साउने मनासय बनाएको भएर उनको राजीनामा स्वीकृत नगरेको स्रोतको दाबी छ।
‘खासमा व्यवस्थापनले नाङ्लो ठटाएर हात्ती तर्साउन खोजेको थियोे, देवकोटाजीलाई दिएको दुुःख देखेर डरले अन्य कर्मचारीले जागिर छाडुन् भन्ने आशय व्यवस्थापनको हो,’ स्रोत भन्छ, ‘असोज ४ गते नै स्वीकृत हुनुपर्ने राजीनामा व्यवस्थापनले हुन्छ÷हुन्छ भन्दै झुलाइरहेको थियो।’
देवकोटाले काठमाडौं आउँदा आफ्ना सहकर्मीहरूसँग राजीनामा स्वीकृत भएपछि अस्ट्रेलिया जाने, २÷४ महिना रिफ्रेस भएर आएपछि पारिवारिक व्यवसाय सम्हाल्ने योजना सुनाएका थिए।
बैंक व्यवस्थापनले उनको राजीनामा स्वीकृत गर्न असोज दोस्रो साता अन्तिम अन्तर्वार्ता र बुझबुझारथ पनि गराएको थियो। तर, राजीनामा स्वीकृत नगरी हेटौंडाका स्थानीय र वर्षौं घरपायक जागिर खाएका देवकोटालाई केन्द्रीय कार्यालयमा सरुवा गरिदियो।
उनलाई काठमाडौं केन्द्रीय कार्यलयको जोखिम व्यवस्थापन विभागमा सरुवा गरिएको थियो। राजीनामा स्वीकृतिका लागि उनलाई अन्तर्वार्तामा बोलाएर बुझबुझारथसमेत गरिसकेपछि पनि बैंकले अनौपचारिक राजीनामा स्वीकृत नभएको जानकारी असोज १० बिहान पठाएको थियो।
उनी सोही दिन काठमाडौं आएर ११ गते हेटांैडा फर्किएका थिए। केन्द्रीय कार्यलयमा आफ्नो राजीनामा स्वीकृत नहुनको लिखित कारण माग गर्दा व्यवस्थापनले नदिएर सरुवाको निर्देशन कार्यान्यवनको मनस्थिति बनाउन भनेर पठाएको थियो।
‘उहाँको राजीनामा के कारणले स्वीकृत गरिएन, त्यो इमेलमार्फत औपचारिकरूपमा अफिसले पठाउनुपर्ने हो। तर, मोबाइलमा एसएमएस पठाएर राजीनामा स्वीकृत नभएको जानकारी गराएर हेड अफिस बोलाएर रिस्क डिर्पाटमेन्टमा सरुवा आउनु भनियो,’ देवकोटाका एक सहकर्मीले भने, ‘इज्जत प्रतिष्ठामा रहेको व्यक्तिलाई अनेकौं झुटा लान्छना लगाउँदा उसको आत्मसम्मानमा ठेस पुग्दाको परिणाम हो उनले त्रिशूलीमा हाम फाल्नु। यसरी आत्महत्यासम्म गर्न दुरुत्साहन गराउने व्यवस्थापनप्रति हामी सबै बैंकर विरोधमा छौं।’
बैंक व्यवस्थापनले उनलाई असोज १५ गते आफ्नो शाखाका कर्जा म्यानेजरलाई लिएर काठमाडौं हेड अफिस आउन निर्देशन दिएको थियो। देवकोटा हेटौडाबाट काठमाडौंसम्म लोन म्यानेजरसँग आएका थिए। हेटौडाबाट दक्षिणकालीको बाटो हुँदै काठमाडौं बल्खुमा आइपुगेपछि देवकोटाले ‘१० मिनेट अर्को साथीलाई भेटेर आउँछु, तपाईं जाँदै गर्नू भनेर’ लोन म्यानेजरलाई पठाए। लोन म्यानेजर बैंक सिइओ ज्योति पाण्डेलाई भेट्न लाजिम्पाट पुगे। तर, एक घन्टासम्म देवकोटा नआएपछि फोन गर्दा उठेन। त्यसको केही समय पछि देवकोटाको फोन स्वीच अफ भएको थियो।
‘एक/डेढ घन्टापछि उहाँको फोन अफ भएको हो। साँझ त त्यो खबर आयो। काठमाडौं आएर सिइओसँग भेट्नु र थप तनाव थेग्नुभन्दा यस्तो कदम चाल्नु नै ठिक ठानेर फर्किनुभएको रहेछ,’ ती सहकर्मीले भने।
हेटौंडाका स्थानीय बैंकका ग्राहकले आफ्नै गाउँले रहेका शाखा प्रमुखबारे अनुसन्धान हुँदा उनको इज्जतमा प्रश्न उठ्न थालेपछि उनी मानसिक रोगको शिकार बन्दै गएको स्रोतको भनाइ छ। कर्जाको ग्राहकमात्रै नभएर बैंकले अनुसन्धान भन्दै देवकोटाको पारिवारिक सम्बन्ध भएका व्यक्ति र छिमेकीसँग पनि सोधपुछ गरेको स्रोतको भनाइ छ।
देवकोटानिकट स्रोतका अनुसार उनले ‘सुसाइड नोट’ समेत लेखेका छन्। उनले घरमै एउटा डायरीमा ‘आफूलाई भइरहेको समस्याबारे र बैंक व्यवस्थापनले दिएको टर्चरले मानसिक रोगको शिकार बन्दै गएको हुँदा आत्महत्याको सोचाइ आउन थालेको’ लेखेको स्रोतको भनाइ छ।
‘देवकोटाजीलाई मेगा मर्जरले नै आत्महत्यासम्म पुर्याएको हो। उहाँले गल्ती नै गर्नुभएको थियो भने पनि बैंकिङ कसुर ऐनअन्तर्गत रहेर कानुनी व्यवस्थाअनुसार कारबाही गर्ने ठाँउ थियो,’ ती सहकर्मीले भने, ‘तर, यसरी कुनै कारण नदेखाइ राजीनामा अस्वीकार गरेर मानसिक तनाव दिने काम गर्नु हुँदैन थियो। मेगाबाट आएका ९० प्रतिशत कर्मचारीलाई अहिले व्यवस्थापनले मानसिक तनाव दिइरहेको छ।’
तत्कालीन मेगा बैंक हेटौंडा शाखाबाट प्रवाहित कर्जाका विषयमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक केन्द्रीय कार्यलयबाट पटक÷पटक अनुसन्धानको ‘टर्चर’ थेग्न नसकेपछि देवकोटाले चौथोपटक स्पष्टीकरण दिएर फर्किने क्रममा त्रिशूलीमा हाम फालेका थिए।