काठमाडौं। भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सडक मर्मत तीन चरणमा भइरहेको बताएका छन्। मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै चाडवाड लक्षित गरेर तीन चरणमा सडक मर्मत सुरु भएको बताएका हुन्।
सडक मर्मत र खाल्डाखुल्डी मर्मतबारे ठूला राजमार्ग, विदेशी सहयोगमा निर्माण गरिएका र काठमाडौं उपत्यकामा खाल्डाखुल्डी व्यवस्थित गर्नलाई मर्मत भइरहेको उनले जानकारी दिए।
यद्यपि, वर्खाले सडक मर्मतमा समस्या भैरहेको उनको भनाइ छ।
त्यस्तै यातायात सेवा सहज बनाउन यातायात कार्यालयलाई निर्देशन दिएको मन्त्री ज्वालाले बताए। तर, कतिपय कुरा बजेट अभावले र प्रक्रियाका झन्झटले भने जस्तो हुन नसकेको पनि मन्त्रीको भनाइ छ।
दसैंका लागि अग्रिम बुकिङ खुला गर्ने काम सबैभन्दा महत्त्वपूर्ण रहेको र यातायात व्यवसायीका कुरा पनि सम्बोधन गर्नुपर्ने चुनौती रहेको मन्त्री ज्वालाले बताए। सार्वजनिक सवारी साधन चाडपर्वमा कसरी सहज सञ्चालन गर्ने र भाडदर नियन्त्रण, अनुगमन व्यवस्थित गर्न सकिन्छ भन्नेमा सरकार केन्द्रीत रहेको उनले सुनाए।
मंगलबारको मन्त्रिपरिषदको निर्णयअनुसार मुल्यवृदी नियन्त्रण, कालोबजारी, भाडा बढी लिएमा कारबाही गर्ने मन्त्री ज्वालाले बताए।
यातायात व्यवसायीका आवश्यक र केही महत्त्वपूर्ण माग सम्बोधन गर्ने मन्त्रीले बताए। उनले व्यवसायिहरूका आवश्यक माग सम्बोधन हुने बताए।