काठमाडौं। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडा शाखा प्रमुख निराजन देवकोटालाई बैंक व्यवस्थापनले ‘टर्चर’ दिएर आत्महत्या गराउनसम्म ‘बाध्य बनाएको’ भन्दै विभिन्न बैंकमा कार्यरत बैंकरहरूले सामाजिक सञ्जाल फेसबुकमा कालो तस्बिर राखेर विरोध जनाएका छन्।
कामकाजी कर्मचारीलाई मानसिक तनाव दिएको भन्दै बैंकरहरूले सांकेतिक विरोध गर्न थालेका छन्। देवकोटालाई उनका ‘लाइन म्यानेजर’ र ऋण विभाग प्रमुखले विभिन्न बहानामा मानसिक तनाव दिएकै कारण असोज १५ गते देवकोटाले त्रिशूलीमा हाम फालेको उनका सहकर्मीहरूले बताएका छन्।
इन्भेस्टमेन्ट मेगा बैंकका कर्मचारीसँगै एनएमबी बैंक, एनआइसी एसिया बैंक, कामना सेवा विकास बैंक, महालक्ष्मी विकास बैंकलगायत कर्मचारीले असोज १६ देखि नै आफ्नो फेसबुक प्रोफाइल कालो बनाउँदै सांकेतिक विरोध सुरु गरेका हुन्।
जसमा इन्भेस्टमेन्ट बैंक कर्मचारी युनियन अध्यक्ष शिवहरि भण्डारीलगायत सम्पूर्ण बैंक कर्मचारीले आफ्नो फेसबुक प्रोफाइल कालो बनाएका छन्।
अन्य बैंकका तल्लो तहदेखि उच्च व्यवस्थापनका कर्मचारीले समेत व्यवस्थापनको अनावश्यक टर्चर बन्द गरियोस् भन्दै फेसबुक प्रोफाइल कालो बनाएका छन्।
के भएको थियो?
बैंकिङ क्षेत्रमा १८ वर्ष बिताइसकेका निराजन देवकोटाको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा काम गरेको ७ वर्ष भइसकेको थियो।
उनी तत्कालीन मेगा बैंक हेटौंडा पारिजात पथमा शाखा प्रमुख थिए। उक्त समय बैंक शाखामध्ये उत्कृष्ट शाखा अवार्ड पाएको शाखाका प्रमुख थिए देवकोटा।
दुई बैंक मर्जपछि देवकोटालाई वैकल्पिक अर्थात अर्को व्यवस्था नहुन्जेलसम्मका लागि भनेर शाखा प्रमुखको जिम्मेवारी दिइएको थियो। उक्त शाखा प्रमुख मानवी बोसको अनुपस्थितिमा मात्रै शाखा प्रमुखको जिम्मेवारी पाउने गरी देवकोटालाई जिम्मेवारी दिइएको थियो।
हेटौंडा स्थायी घर भएका सम्पन्न परिवारका तथा राजनीतिक पहुँच राम्रो भएका देवकोटाले बैंक व्यवस्थापनले गरेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै बैंकबाट बाहिरिने निर्णय गरेका थिए।
देवकोटाका बुबा नारायणप्रसाद देवकोटा राष्ट्रिय सहकारी दुग्ध विकास संघका अध्यक्ष र सहकारी अभियन्ता प्रमुख हुन्। हेटांैडाका व्यावसायिक घरानामध्येका एक भनिएका देवकोटाका भाइ अस्टे«लिया बस्छन्।
उनले बैंकको जागिर छाड्न भाइसँगै २÷४ महिना अस्ट्रेलिया घुमेर आउने योजना बनाएका थिए। देवकोटाले गत भदौ ३ गते नै जागिरबाट राजीनामा दिएका थिए। बैंक कर्मचारी नियमावलीअनुसार उनको राजीनामा असोज ३ गतेसम्म स्वीकृत भइसक्नुपर्ने थियो।
‘असोज ४ गते नै स्वीकृत हुनुपर्ने राजीनामा व्यवस्थापनले हुन्छ÷हुन्छ भन्दै झुलाइरहेको थियो,’ देवकोटानिकट एक सहकर्मीले क्यापिटल नेपालसँग भने, ‘यस्तो निर्णय गर्ने मान्छे त होइन, तर पछिल्लो समय व्यवस्थापनले जसरी अनुसन्धान ग¥यो, त्यसले मलाई धेरै मानसिक तनाब भएको छ भनेर भेट हुँदा भन्ने गर्नुहुन्थ्यो।’
देवकोटा शाखा प्रमुख हुँदा ‘घुस लिएर कर्जा प्रवाह गरेको’ शंकामा बैंक व्यवस्थापनले अनुसन्धान गरिरहेको थियो। सोही कारण उनको राजीनामा स्वीकृत नगरी व्यवस्थापनले उनलाई टर्चर दिँदै आएको ती सहकर्मीले बताए।
‘राजीनामा स्वीकृतका लागि उनलाई अन्तर्वार्तामा बोलाएर बुझबुझारथसमेत गरिसकेपछि पनि राजीनामा स्वीकृत नभएको जानकारी असोज १२÷१३ गतेतिर पठायो,’ ती सहकर्मीले भने, ‘कारण बुझ्न हेड अफिस आएर फर्किने क्रममा उनले त्रिशूलीमा हाम फालेको थाहा पायौं। यसरी आत्महत्या गर्न दुरुत्साहन गराउने व्यवस्थापनप्रति हामी सबै बैंकर विरोधमा छौं।’
बैंक व्यवस्थापनले देवकोटाले दिएको कर्जा लिने ग्राहकसँग समेत कर्जा पास गर्दा घुस लिए÷नलिएको बारे अनुसन्धान तथा सोधपुछ गरेपछि उनलाई थप मानसिक तनाव हुँदै आएको थियो।
हेटौंडाका स्थानीय बैंकका ग्राहकले आफ्नै गाउँले रहेका शाखा प्रमुखबारे अनुसन्धान हुँदा उनको इज्जतमा प्रश्न उठ्न थालेपछि उनी मानसिक रोगको शिकार बन्दै गएको सम्बद्ध स्रोतको भनाइ छ।
देवकोटानिकट स्रोतका अनुसार उनले ‘सुसाइड नोट’ समेत लेखेका छन्। जसमा उनले ‘आफू बैंक व्यवस्थापनले दिएको टर्चरले मानसिक रोगको शिकार बन्दै गएको र आत्महत्याको सोचाइ आउन थालेको’ उल्लेख गरेको स्रोतको भनाइ छ।