हामीले असोज ३ बाट द्रुत बस (बिआरटी) सेवा पूर्णरूपमा लागू गरेको होइन, यो द्रुत बसको सानो स्वरूपमात्रै हो। पूर्णरूपमा बिआरटी चलाउन छुट्टै डेडिकेटेड सडक लेन हुनुपर्छ, बसहरू पनि त्यस्तै सेवा सुविधायुक्त हुनुपर्छ।
तर, हामीसँग अहिले त्यस्तो व्यवस्था गर्न सम्भव नभएपछि भएकै सडकलाई रातो रङ लगाएर तथा चलिरहेकै सबैलाई ट्रायलका रूपमा द्रुत बस बनाएर चलाएका छौं।
रोड छुट्ट्याएरमात्रै हुँदैन, त्यसका लागि ट्राफिक व्यवस्थापन पनि पर्याप्त हुनुपर्छ। बिआरटीको अर्को विशेषता भनेको निजी सवारीसाधनभन्दा सुविधाजनक र छोटो समयमा गन्तव्यमा पुर्याउने सार्वजनिक सवारीसाधन हो। बिआरटी सञ्चालन गरेपछि निजी सवारीसाधन प्रयोग घट्दै जाओस् भन्ने उद्देश्य राखेका छौं।
बिआरटीले यातायातको दिगो विकासमा टेवा पुर्याओस् भन्ने अर्को लक्ष्य हो। बाटो, सडक चौडा गरेरमात्रै यातायातको दिगो विकासमा टेवा पुग्दैन।
उदाहरणका लागि कोटेश्वर–सूर्यविनायकको बाटो बनाउँदा सुरुमा सवारीसाधन थोरै थिए, बाटो खुला भयो। तर, अहिले सवारी संख्या बढेर त्यही बाटो जाम हुन थाल्यो। त्यसकारण यातायात क्षेत्रको दिगो विकासका लागि सार्वजनिक सवारीसाधनलाई नै बढी महत्व दिनुपर्छ। अर्थात, हरेक मान्छेले चढ्नलाई मन गर्ने, रहर गर्ने सेवा सार्वजनिक यातायातले दिन सक्नुपर्छ।
अहिलेको समस्या भनेको हामीसँग बिआरटीका लागि डेडिकेटेड सडक नहुनु र ट्राफिक व्यवस्थापन विद्युतीय नभएर मान्छेले गर्नुपर्ने अवस्था हो। तर, विदेशमा सफल र राम्रो भएको बिआरटी सेवा नेपालमा सञ्चालन गर्नु नराम्रो होइन।
अहिलेको अवस्थामा एउटा लेन बिआरटीका लागि छुट्ट्याइएको छ र अन्य सवारीलाई बाँकी लेनमा चल्न दिँदा कतै खाली कतै बढी जाम देखिन्छ। तर, त्यो बिआरटीका लागि छुट्ट्याइएको लेनमा अरूलाई चल्न दियो भने द्रुत बस सञ्चालनको उद्देश्य पूरा हुँदैन। बिआरटीको मुख्य उद्देश्य साना तथा निजी सवारीलाई डिस्करेज गरेर सार्वजनिक सवारीलाई बढी प्राथमिकता दिने हो।
यसो भन्दैमा बिआरटी भनिएको सेवा सतप्रतिशत राम्रो, सुधार गर्नै नपर्ने भन्ने होइन। बिआरटी सञ्चालनका लागि गठन भएको समितिले अझै सुझाव दिँदै गएपछि सुधार हुन्छ।
अहिलेको अवस्थामा एउटा लेन बिआरटीका लागि छुट्ट्याइएको छ र अन्य सवारीलाई बाँकी लेनमा चल्न दिँदा कतै खाली कतै बढी जाम देखिन्छ। तर, त्यो बिआरटीका लागि छुट्ट्याइएको लेनमा अरूलाई चल्न दियो भने द्रुत बस सञ्चालनको उद्देश्य पूरा हुँदैन। बिआरटीको मुख्य उद्देश्य साना तथा निजी सवारीलाई डिस्करेज गरेर सार्वजनिक सवारीलाई बढी प्राथमिकता दिने हो।
कतै जाम कतै खुला सडक भन्दै विरोध गर्ने होइन, सुधार गर्न सुझाव दिएर अघि बढ्नुपर्छ। ट्राफिक जाम बढ्यो भन्दैमा अब निजी सवारीलाई प्राथमिकता दिएर बिआरटीको उद्देश्यबाट ब्याक हुन मिल्दैन।
सडक बनाउँदा नै छुट्टै लेनको व्यवस्था गरेको भए इन्जिनियरिङ दृष्टिकोणले छुट्टै व्यवस्था हुन्थ्यो र कतै खुला कतै जामको समस्या हुँदैन थियो। अर्को समस्या भनेको सूचना प्रवाह प्रभावकारी भएको छैन। नयाँ कन्सेप्ट भएकाले सर्वसाधारणलाई यो बसले गन्तव्यमा छिट्टै पुर्याउँछ भन्ने थाहा छैन, सँगै अरू सवारी चलाउनेलाई पनि द्रुत बसको उद्देश्य, महत्व थाहा नहुँदा रातो रङको लेनमा पनि गइरहेका छन्।
यसलाई क्रमिकरूपमा सुधार गर्दै परिष्कृत गरेर जाने हो, पछाडि फर्किएर योजना फेल गराउन मिल्दैन, हामी त्यो पक्षमा छैनौं। दिगो यातायात सञ्चालन गर्न सार्वजनिक सवारीलाई बढी महत्व दिनुपर्छ, यसको विकल्प छैन।
तत्काल सुधार गर्नुपर्ने कुरा भनेको जनतालाई सूचना दिनुपर्यो, चोकहरूमा बस क्रस गराउन समस्या देखिएको छ। त्यसलाई व्यवस्थित गर्ने, बिआरटीको छुट्टै डेडिकेटेड लेन नभएकाले सम्झौता गरेरै अघि बढ्नुपर्ने हुन्छ। छुट्टै लेन अर्थात सामान्य सडकभन्दा अग्लो वा बार लगाएको भए रातो रङ प्रयोग गर्नुपर्दैन थियो।
अहिलेको सडकमा नयाँ लेन थप्न स्पेस छैन, सुरुमै डिजाइन गर्दा द्रुत बस चलाउने भनेर गरेको भए लेनको व्यवस्था गर्न सकिन्थ्यो। द्रुत बसको योजना सडक निर्माण क्रममा आएको भए वा पछि हामीले सडकबाट थप सेवा दिनुपर्छ भन्ने सोचेर निर्माण गरेको भए अहिले सजिलो हुन्थ्यो।
अहिलेको सडकमा नयाँ लेन थप्न स्पेस छैन, सुरुमै डिजाइन गर्दा द्रुत बस चलाउने भनेर गरेको भए लेनको व्यवस्था गर्न सकिन्थ्यो। द्रुत बसको योजना सडक निर्माण क्रममा आएको भए वा पछि हामीले सडकबाट थप सेवा दिनुपर्छ भन्ने सोचेर निर्माण गरेको भए अहिले सजिलो हुन्थ्यो।
तत्काल सडकको लेन थप्न सम्भव छैन। तर, भविष्यमा विकल्प नखोजिएला भन्न पनि सकिँदैन। यद्यपि, अहिले भने भएकै सडकबाट सेवा दिनुपर्ने बाध्यता छ।
अब सडकको लेनतिर भन्दा पनि ट्राफिक व्यवस्थापन र सचेतना फैलाउने विषयमा ध्यान दिनुपर्छ। सर्वसाधारणले विरोध गर्दैछन्, त्यसलाई बुझाएर जानुपर्छ, नयाँ कुरा स्वीकार्न सजिलो हुँदैन। किनकि, अहिलेसम्म जुन सडकमा पनि सवारी चलाएको, हिँडेको बानी छ, त्यसलाई परिवर्तन गराउन चुनौती हुन्छ।
ललितपुरको साइकल लेन हेरेर पनि द्रुत बस सेवा असफल हुन्छ भनिएको छ। त्यसको पनि मुख्य समस्या छुट्टै व्यवस्थित लेन बनाउन नसक्नु नै हो। साइकल चलाउने ठाउँमा बस कुदाएको हुन्छ, त्यो असुरक्षित भयो।
द्रुत बसका सन्दर्भमा सडक निर्माण गर्दा नै लेन छुट्ट्याउन ख्याल गर्नुपथ्र्यो। त्यो बेला बिआरटीको कन्सेप्ट नै आएन, अहिले बनिसकेको सडकमा सेवा दिन सजिलो पक्कै हुँदैन। तर, सजिलो छैन भन्दैमा यातायात क्षेत्रमा भित्र्याइएको नयाँ कन्सेप्टलाई छाड्नु हुँदैन, समस्यासँग जुध्दै अघि बढ्नुपर्छ।
सडक बनाउँदा पहिलो प्रथमिकता पैदल यात्री, दोस्रो साइकल, तेस्रोमा सार्वजनिक सवारी र अन्त्यमा निजीलाई दिनुपर्नेमा हामीले उल्टो गर्दैछौं। निजी सवारीसाधन नेपालमा पहिलो प्राथमिकतामा देखिन्छन्।
इन्जिनियरिङ हिसाबमा भन्ने हो भने सहर बनाउँदा सवारीसाधन प्रयोग नगरी एउटै क्षेत्रमा हरेक सेवा सुविधा दिन सक्ने बनाउनुपथ्र्यो।
विद्यालय, अस्पताल, कार्यालय नजिकै बनाउनुपर्ने हो। यदि टाढा छ र सवारी चढ्नुपर्छ भने पनि निजी सवारी खरिद गर्ने होइन, एसीसहितको सेवा भएको बिआरटी प्रयोग गर्ने खालको सुविधा दिनुपर्ने हो।