काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकले पनि ललितपुरको इमाडोलमा रहेको कोहिनुर हिल्स हाउजिङ लिलाम गर्न प्रक्रिया अघि बढाएको छ। बैंकले ऋणी कोहिनुरका सञ्चालक सुधीर बस्नेतलाई ३५ दिनभित्र ऋण तिर्न समय दिएको छ।
उक्त समयभित्र पनि ऋण चुक्ता नगरे कोहिनुरको नाममा मालपोत कार्यालय ललितपुरमा दर्ता श्रेस्ता रहेको इमाडोलको १८ रोपनी १९ आना जग्गा र सोमा बनेको भवन पनि लिलामी गर्ने बैंकले जनाएको छ।
बैंकले सो सम्पत्तिको न्यूनतम् मूल्य ८४ करोड ६५ लाख रुपैयाँ तोकेको छ। लिखित तथा मौखिक गरी पटक पटक ताकेता गर्दा ऋणीले कर्जा चुक्त नगरेपछि धितो लिलामीको प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ।
यस्तै ऋण नतिरेपछि गत भदौ १४ गते कर्मचारी सञ्चय कोषले ललितपुर इमाडोलस्थित कोहिनुरको धितो लिलामी प्रक्रिया अघि बढाइसकेको छ।
कोषले इमाडोलमा कोषको नाममा दृष्टिबन्धक रहेको १० रोपनी ९ आना २ दाम र त्यसमा निर्माणाधीन आवासीय भवन लिलामी अघि बढाएको हो। जग्गा तथा निर्माणाधीन भवन खरिदका लागि कोषले ३५ दिनभित्र बोलपत्र पेस गर्न भनेको समय सकिन लागेको छ।
केही टावर नबिल र केही टावर तथा जग्गा राष्ट्रिय वाणिज्य बैंकको नाममा छ। ऋण सेटलमेन्ट गर्न दुई बैंक र कोष सँगसँगै आउनुपर्ने अवस्था छ। वाणिज्य बैंकले पहिलो पटक कोहिनुरको लिलाम प्रक्रिया अघि बढाएको हो।
यद्यपि सञ्चय कोषले पटक पटक लिलाम सूचना प्रकाशित गरिसकेको छ। २०७९ फागुनमा सञ्चालक बस्नेत ऋण तिर्ने भन्दै सञ्चय कोष पुगेका थिए। ऋण नतिरी बसेका बस्नेतले लिलामी प्रक्रिया अघि बढेपछि सञ्चय कोष पुगेर तत्काल केही रकम बुझाएर बाँकी ‘सेटलमेन्ट’ गर्ने भनेका थिए।
सञ्चय कोषले उनीसँग ऋण तिर्ने योजना मागेको थियो। ऋण तिर्ने प्रस्ताव लिएर आउने बताएका बस्नेत अहिलेसम्म सम्पर्कमा नआएपछि कोषले सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको हो।
कोहिनुर हिल्सको साँवा र ब्याजसमेत गरी कोषलाई तिर्नुपर्ने ऋण कूल ऋण १ अर्ब रुपैयाँ पुगेको छ। कोहिनुरले २३ करोड ७० लाख रुपैयाँमात्र ऋण लिएको हो। उसको साँवा र ब्याजसमेत गरी १ अर्ब रुपैयाँ पुगेको हो।
बस्नेतले हाउजिङ परियोजना सम्पन्न गर्न सञ्चय कोषबाट १ अर्ब १५ करोड रुपैयाँ थप ऋण स्वीकृत गरेका थिए। त्यही बीचमा अन्य बैंकले ऋण नतिरेको भन्दै उनलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको थियो। त्यसपछि बस्नेतले कोषबाट बाँकी ऋण पाएनन्।
कोषबाट प्रस्ताव गरेको ऋण पाएपछि सबै हाउजिङ परियोजना सम्पन्न गर्ने उनको योजना त्यही कारण पूरा भएन। बैंकहरूको कालोसूचीमा परेपछि सञ्चय कोषले ऋण नदिँदा बस्नेत वित्तीय संकटमा परेका थिए। त्यसपछि बस्नेतले अघि बढाएका सबै बिजनेस चौपट हुन पुग्यो।
यता बस्नेतले सञ्चालन गरेको ओरेन्टल कोअपरेटिभ लिमिटेड लामो समयदेखि बन्द छ। ओरेन्टलमा बचतकर्ताले अझैसम्म पैसा फिर्ता पाएका छैनन्। सहकारी विभागले २०७४ कात्तिक २० मा ओरेन्टललाई समस्याग्रस्त घोषणा गरेको थियो। बस्नेतले अग्नि यातायात पनि सञ्चालन गरेका थिए। त्यो पनि पछि बन्द हुन पुग्यो।
कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, कन्जुमर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र भेगास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओरेन्टलकै छाताबाट सञ्चालनमा रहेको छानबिनका क्रममा पुष्टि भएको छ।