काठमाडौं। आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव आन्तरिक पर्यटनमा देखिएको छ। खासगरी दसैं, तिहार र छठ अवसर पारेर आन्तरिक गन्तव्य घुमघाममा धेरै नेपाली निस्किने गरेका थिए।
जसका कारण पर्यटन गन्तव्यका होटल तथा रिसोर्टमा अग्रिम बुकिङ उच्च हुन्थ्यो। तर, दसैं बिदा सुरु हुन दुई साता बाँकी हुँदा प्रमुख पर्यटन गन्तव्य चितवन सौराहा, काभ्रे धुलिखेल, कास्की पोखराको लेकसाइड र भक्तपुर नगरकोटमा रहेका होटलमा बुकिङ निराशाजनक रहेको व्यवसायीको भनाइ छ।
क्षेत्रीय होटल संघ काभ्रे अध्यक्ष प्रेमकण्ठ माकाजु श्रेष्ठले विगत वर्षको तुलनामा यसपालि सिजनमा होटल तथा रिसोर्टमा बुकिङ न्यून रहेको बताए। ‘चाडबाड सुरु हुँदा आन्तरिक पर्यटक नै घुमघामका लागि धेरै आउने गरेका थिए,’ अध्यक्ष श्रेष्ठले भने, ‘योपटक सायद मन्दीको असर हुनुपर्छ, इन्क्वायरी नै कम आइरहेको छ।’
हुन त चाडबाडमात्र होइन, अन्य बेला पनि पर्यटक आउने क्रम घट्दै गएको उनले बताए। पछिल्लो समय होटल तथा रिसोर्टमा लगानी विस्तार धेरै भए पनि अपेक्षाअनुसार पर्यटक नआउँदा समस्या पर्दै गएको अध्यक्ष श्रेष्ठको भनाइ छ।
जंगल सफारी लज सौराहाका सञ्चालक सुमन घिमिरेका अनुसार विगत वर्षभन्दा यो वर्ष बुकिङ निराशाजनक छ।
संख्यात्मक हिसाबले विदेशी पर्यटक नेपाल आउने क्रम बढे पनि हिमाली क्षेत्रमा मात्र चहलपहल बढेको घिमिरेले बताए।
बसाइँ अवधि पनि पर्यटकको घट्दै गएको र हिमाल आरोहणपछि सिधै विदेश जाने ‘ट्रेन्ड’ बढेकाले अन्य गन्तव्यमा आन्तरिककै भर हुने गरेकोमा योपटक बुकिङ कम भएको उनले बताए।
विगत वर्षमा दसैं, तिहारको लामो बिदामा घुम्न आन्तरिक पर्यटक धेरै आउने गरेको र अग्रिम बुकिङ गर्ने भए पनि अहिले भने सुनसान भइरहेको उनको भनाइ छ।
आर्थिक मन्दीका कारण सर्वसाधारणमा खर्च गर्न सक्ने क्षमता नै कम भएकाले घुम्न निस्किनेको संख्या पनि कम भएको हुन सक्ने घिमिरेको अनुमान छ।
सौराहामात्र होइन, पोखराका होटलहरूमा समेत बुकिङ राम्रो नरहेको क्षेत्रीय होटल संघ पोखराका पूर्वअध्यक्ष विकल तुलाचन बताउँछन्। अन्नपूर्ण क्षेत्रमा जाने पर्यटकका कारण केही मात्रामा चहपहल भए पनि चाडबाड वा अन्य समयमा बुकिङ कम भइरहेको उनले बताए।
होटल नानस भैरहवाका सञ्चालक सिपी श्रेष्ठले सीमित होटल तथा रिसोर्टमा चहलपहल भए पनि ७० प्रतिशतमा खाली रहेको बताए।
‘चाडबाडले व्यापारमा उत्साह होला भन्ने अपेक्षा थियो,’ सञ्चालक श्रेष्ठले भने, ‘अहिलेसम्मको बुकिङले त्यो उत्साह निराशामा बदलेको छ।’
होटल, रिसोर्टमा मात्र होइन, जिपलाइनमा समेत ग्राहक घटेका छन्। धुलिखेल जिपलाइनका सञ्चालक केदार थापाका अनुसार विगत वर्षका तुलनामा ५० प्रतिशत नै ग्राहक घटेका छन्।
सायद, आर्थिक मन्दीका कारण आम्दानी खुम्चिएकाले घुमघाममा निस्किनेको संख्यामा कमी आएको र त्यसैको प्रभाव जिपलाइन क्षेत्रमा पनि परिरहेको उनको अनुमान छ।
अहिले धेरै युवा रोजगारीका लागि विदेश गएकाले पनि एडभेन्चर टुरिज्ममा रमाउनेको संख्या घटेको हुन सक्ने सञ्चालक थापाको भनाइ छ।