काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाल नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध खनिएका छन्। संसदको विशेष समयमा बोल्दै सांसद ढकालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतका कुरा सुन्न छाडेको बताएका छन्।
उनले राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डलाई राज्यको नियन्त्रणमा ल्याउन माग गरेका छन्। राष्ट्र बैंकको गलत नीतिका कारण पुँजीबजारका लगानीकर्ताले महिनामै खर्बौं रकम गुमाइरहेको उनले बताए।
‘अर्थमन्त्रीले चलाउन नसक्ने, गभर्नरले नटेर्ने, कसले चलाउने हो हो गभर्नर? गज्जब छ यो १ कसले हो नियामक निकाय चलाउने, अर्थ मन्त्रालयले हो कि राष्ट्र बैंकले हो? उनले प्रश्न गरे।
मुलुक आर्थिक मन्दीमा गइरहेको जानकारी हुँदा पनि अर्थमन्त्री र गभर्नर सुतेर बसेको आरोप ढकालले लगाए। ‘मुलुक आर्थिक मन्दिमा जाँदैछ भनेर सुझाव अर्थ मन्त्रालयमा दिँदा सुनुवाइ नगरेको उनको भनाई छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सेयर बजारको १२ करोडको क्यापको विषयमा पूर्वअर्थमन्त्रीहरू लाइन लागेर यो मुद्दा उठाइरहेको आरोप सांसद ढकालले लगाए।
उनले धितोपत्र बोर्ड, राष्ट्र बैंक लगायतका अर्थतन्त्रका नियामक निकायमा प्रदूषित राजनीतिबाट नियुक्ति लिएकाहरूले अर्थतन्त्र कमजोर पारिरहेको बताए। ती निकायमा नियुक्ति लिनेहरूले जसले नियुक्त गरेको हो उनीहरूकै पक्षमा निर्णय लिएर मुलुकको अर्थतन्त्रमा आँच पुर्याइरहेको आरोप सांसद ढकालले लगाए।
राष्ट्र बैंकको गलत नीतिका कारण राज्यलाई एक महिनामा ३ अर्ब २५ करोड रुपैयाँ राजस्व बुझाएको धितोपत्र बजार आज लगानीकर्ताले खर्बौं रकम गुमाइरहेको उनले बताए। बजार ध्वस्त हुँदा अर्थमन्त्री र नियामकलाई चासो नभएको तर, नेटवर्थ ऋणात्मक भएका कम्पनीलाई धमाधम प्राथमकि सेयर (आइपिओ) निकाल्न दिएको उनको जिकिर थियो।