काठमाडौं। नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रक्रियाबारे बोलाइएको बैठक विषय प्रवेश नै नगरी समाप्त भएको छ। नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने विषयमा छलफल गर्न आज मंगलबार ११ बजे संघीय संसदको अर्थ समितिको बैठक बोलाइएको थियो।
तर, उक्त बैठक विषय प्रवेश नै नगरी समाप्त भएको अर्थ समिति सभापति सन्तोष चालिसेले बताए। ‘आजको बैठकको अजेन्डामा स्टक एक्सचेन्जलाई लाइसेन्स विषय पनि थियो। तर, समय अभावका कारण उक्त विषयमा प्रवेश नै नगरी बैठक समाप्त भयो,’ चालिसेले क्यापिटल नेपालसँग भने, ‘छलफलका लागि दुईजना सचिव आउनुभएको थियो। आज संसदको पनि कार्यक्रम जुधेको हुँदा समितिको छलफल लामो समय चलाउन सकिएन।’
बैठकमा देशको आर्थिक अवस्था, बजार अवस्था र अर्थ मन्त्रालयको काम र योजनाबारे छलफल भएको उनले जानकारी दिए। अर्थ समितिको अर्को बैठक आज प्रवेश हुन नसकेका विषयमा छलफल हुने गरी पुनः बोलाइने उनले बताए।
नेपाल धितोपत्र बोर्ड (सेबाेन) ले खुलाएको स्टक एक्सचेन्ज लाइसेन्स प्रक्रिया गत वैशाख २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो निर्देशनमा रोकिएको थियो। प्रधानमन्त्री दाहालले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया हाललाई स्थगित गर्न निर्देशन दिँदै थप अध्ययन तथा छलफलपछि निर्णय गर्न सेबाेनलाई निर्देशन दिएका थिए।
नयाँ स्टक एक्सचेन्ज पुरानो र सरकारी एक्सचेन्ज विस्थापित गर्ने गरी ल्याइएको नीति गलत भन्दै संसदमा विरोध उठेपछि थप छलफलपछि मात्रै निर्णय गर्ने प्रधानमन्त्रीको निर्देशन थियो। सोही निर्देशनबमोजिम पहिलाेपटक नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रियाबारे अर्थ समितिले पहिलोपटक छलफल गर्न खोजेको थियो।
‘आज प्रारम्भिक छलफल सुरु गर्न लागेका थियौं, तर समय अभावका कारण विषय प्रवेश गर्न नसकिएको हो। अर्को बैठकमा यो विषयमा व्यवापक छलफल हुन्छ,’ उनले भने।
सेबाेनले खुलाएको नयाँ स्टक एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज गरी तीन कम्पनीको आवेदन परेकाे थियाे।