काठमाडौं । चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। आयात प्रतिबन्ध हट्नु, पर्यटन क्षेत्र पुनरुत्थानतर्फ जानु तथा मौद्रिक नीति बिस्तारै खुकुलो बन्दै गएकाले चालू आर्थिक वर्ष सन्तोषजनक आर्थिक वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको हो।
विकास साझेदार एसियाली विकास बैंक (एडिबी) ले नेपालको आर्थिक वृद्धिमा सुधार आई ४.३ प्रतिशत पुग्ने प्रक्षेपण सार्वजनिक गरिसकेको छ।
चालू आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण बजेटमा गरिएको छ। गत आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि १.९ प्रतिशतमात्रै भएको थियो।
चालू आर्थिक वर्ष कृषि तथा उद्योग क्षेत्रको वृद्धि सामान्यमात्रै भए पनि सेवा क्षेत्रको वृद्धि सन्तोषजनक हुने प्रक्षेपण छ। कृषि क्षेत्रको वृद्धि २.१ प्रतिशत र उद्योगको वृद्धि दर ३.२ प्रतिशत हुने प्रक्षेपण छ। त्यस्तै सेवा क्षेत्रको वृद्धि दर ५.१ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकको छ।
नेपालमा लम्पी स्किन महामारीले पारेको प्रभावमा ध्यान दिएर आर्थिक वृद्धिको प्रक्षेपण सार्वजनिक गरिएको विश्व बैंकका अर्थशास्त्री नयनकृष्ण जोशीले जानकारी दिए।
तर, नेपालमा मनसुनका कारण कृषि उत्पादन घट्न सक्ने, वस्तुको मूल्यवृद्धि उच्च हुन सक्ने तथा भारतले केही सामानमा निर्यात प्रतिबन्ध गरेकाले त्यसको असर आर्थिक वृद्धिमा देखिन सक्ने जोखिम पनि विश्व बैंकले औंल्याएको छ।
मंगलबार सार्वजनिक विश्व बैंकको अर्धवार्षिक प्रतिवेदन 'नेपाल डेभलपमेन्ट अपडेट' अनुसार आगामी आर्थिक वर्ष २०८१/८२ मा भने आर्थिक वृद्धि ५ प्रतिशत हुनेछ।
चालू आर्थिक वर्ष मूल्यवृद्धि भने राष्ट बैंकले तोकेको लक्ष्यभन्दा बढी हुने प्रक्षेपण विश्व बैंककाे छ। राष्ट बैंकले चालू आर्थिक वर्ष ६.५ प्रतिशतमा मूल्यवृद्धि कायम रहने लक्ष्य निर्धारण गरेको छ। तर, यो साढे ७ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण छ। गत आर्थिक वर्ष मूल्यवृद्धि ७.८ प्रतिशत रहेको थियो।
गत आर्थिक वर्ष उत्पादनशील र निर्माण क्षेत्र संकुचन भएको थियो। त्यस्तै सेवा क्षेत्रतर्फ पनि थाेक र खुद्रा क्षेत्र पनि संकुचन भएको थियो।
दक्षिण एसियाको आर्थिक वृद्धि ५.८ प्रतिशत
मंगलबार नै सार्वजनिक भएको दक्षिण एसिया विकास अपडेटले यस क्षेत्रको आर्थिक वृद्धि ५.८ प्रतिशत हुने प्रक्षेपण गरेको छ। 'यो कुनै पनि विकासशील क्षेत्रको तुलनामा उच्च हो, तर यस क्षेत्रको महामारीपूर्वको अवस्था र विकासका आवश्यकता पूरा गर्ने आवश्यकताभन्दा कम हो,' विश्व बैंककका दक्षिण एसिया हेर्ने प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओह्रसोर्जले भनिन्, ‘दक्षिण एसियाका सबै देशमा आर्थिक सुस्तता देखिएको छ। सबै देशको आर्थिक वृद्धि खुम्चिएको छ।’
दक्षिण एसियामा सबैभन्दा उच्च आर्थिक वृद्धि भारतको ६.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ। त्यस्तै बंगलादेश ५.६, माल्दिभ्स ५.२ प्रतिशत र भुटानको ४ प्रतिशत हुने अनुमान छ । सबैभन्दा कम श्रीलंका र पाकिस्तानको १.७ प्रतिशतमात्रै आर्थिक वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।
दक्षिण एसियाले सामना गरिरहेको प्राकृतिक विपत्तिका कारण यस्तो भएको उनको भनाइ छ। त्यस्तै चीनको वृद्धि अत्यन्तै कमजोर देखिएको छ। यसले पनि दक्षिण एसियाको आर्थिक वृद्धिमा प्रभाव परेको उनको भनाइ छ।
दक्षिण एसिया अहिले उच्च ऋण र कम राजस्व समस्यामा रहेको उनले जनाइन्। ‘दक्षिण एसियाली देशकाे कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ऋणको अनुपात ८६ प्रतिशत छ। भुटानबाहेक कुनै पनि देशको राजस्व जिडिपी अनुपात सन्तोषजनक छैन,’ विश्व बैंकले भनेको छ।
दक्षिण एसियाका सबै देशका सरकार आन्तरिक ऋणमा धेरै भर परेको पनि विश्व बैंकले जनाएकाे छ।
‘आन्तरिक ऋणमा ब्याजदर उच्च हुन्छ। ऋण लिएको कम समयमै भुक्तानी गर्नुपर्छ। यसको सबैभन्दा ठूलो बेफाइदा भनेको सरकारले धेरै ऋण लिएपछि निजी क्षेत्रलाई जानुपर्ने कर्जा सरकारमा जान्छ,’ उनले भनिन्, ‘त्यसो हुँदा हामी देशहरूलाई आन्तरिक ऋण कम गर्न सुझाव दिन्छौं।’