काठमाडौं । जनता बैंकलाई गाभेपछि ग्लोबल आईएमई पुँजीगत आधारमा देशको सबैभन्दा ठुलो वाणिज्य बैंक भएको छ । शुक्रबारदेखि ग्लोबल आईएमईको औपचारिक रुपमा एकिकृत बैंकिङ कारोबार सुरु हुँदै छ ।
पुँजीगत मात्र हैन मर्ज र प्राप्तिमा पनि ग्लोबल आईएमई नेतृत्व बैंक भएको छ । जनतासमेत गरी ग्लोबल आईएमईले एक दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्ज गरेको छ । ग्लोबल आईएमईमा गाभिने जनता दोस्रो ठूलो वाणिज्य बैंक हो ।
यसअघि ग्लोबल आईएमईले कमर्ज एन्ड ट्रष्ट बैंकलाई समाहित गरेको थियो । यसबीचमा ग्लोबल आईएमईले आईएमई फाइनान्स, सोसियल डेभलपमेन्ट बैंक, रिलायवल डेभलपमेन्ट बैंक, प्यासेफिक डेभलपमेन्ट बैंक, लर्डबुद्ध फाइनान्सलगायत एक दर्जन बैंक तथा वित्तीय संस्थालाई मर्ज गराएको छ ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्य बित्तिय सस्था ग्लोबलमा मर्ज र समाहित गराएर आज ग्लोबल आईएमईलाई देशको ठुलो वाणिज्य बैंक बनाउन सफल भएका हुन् । नेपालको बैंकिङ क्षेत्रको मर्जरमा ढकाल रोलमोडल बनेका छन । जनतालाई गाभेपछि ग्लोबल आईएमई पुँजीगत, जगेडा कोष, निक्षेप र कर्जा लगानीका आधारमा सबैभन्दा ठुलो वाणिज्य बैंक भएको छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/०७३ को मौद्रिक नीति मार्फत ल्याएको बैंक तथा वित्तीय संस्थाहरुको पूँजी वृद्धि योजनामा उनले मर्जर र समाहित गरेर ८ अर्ब रुपैयाँ पुँजी पुर्याउने नीति लिए । त्यसपछि धमाधम अन्य बैंक तथा बित्तिय सस्थालाई गाभेर न्युनतम पुँजी पुर्याउन उनी सफल भए ।
धेरै वित्तीय संस्थासंग मर्जर गरिसकेकाले जनतासंग सहज हुनुका साथै छोटो समयमा कर्मचारी समायोजनालगायत अन्य प्राविधिक काम सम्पन्न भएको अध्यक्ष ढकाल बताउछन । अनुभवले गर्दा आगामी दिनमा मर्जरमा जान कुनै समस्या नभएको ढकालले बताए । अन्य बैंक तथा वित्तीय संस्थालाई जनतासंगको मर्जरले सकारात्मक सन्देश दिएको ढकालको भनाई छ ।
तत्कालका लागि बैंकले अन्य मर्जर प्रक्रिया अघि नढाउने उनले स्पष्ट पारे । राष्ट्र बैंकले लिएको मर्जर र प्राप्तिको नीतिलाई ढकालले अवसरको रुपमा लिएर धमाधम प्रक्रिया अघि बढाए । ढकालले जनता बैंकसंग मर्जर गरेर यस पटकको राष्ट्र बैंकको नीतिलाई ठुलो सहयोग गरेका छन । राष्ट्र बैंकको नीतिमा सहयोग गर्ने ग्लोबल आईएमई एक मात्र वाणिज्य बैंक हो ।
ग्लोबलले हालसम्म साना ठुला गरी ११ वटा बैंक तथा वित्तीय संस्थालाई मर्ज गरिसकेको छ । मर्ज हुने जनता १२ औं बैंक हो । सफल मर्जरका कारण सञ्चालनमा आएको १३ वर्षमा ग्लोबल आइएमई सबैभन्दा ठुलो बैंक भएको हो ।
कमर्ज एन्ड ट्रस्ट बैंकलाई गाभेपछि २०६९ असार २५ गते ग्लोबलले लर्डबुद्ध र आइएमई फाइनान्स मर्ज गरेको थियो । २०७४ असार २५ मा रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेको थियो ।
राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विग मर्जर ल्याउने कुरा भइरहेका बेला गभर्नर डा.चिरन्जीबि नेपालले बैंकहरुलाई मौद्रिक नीतिअघि जोडी खोजेर आउन भनेका थिए । तर, मौद्रिक नीति आउने अगावै ग्लोबल आइएमई जोडी खोज्न सफल भयो । बैंकका अध्यक्ष चन्द्र ढकालले ग्लोबल आईएमईले जनता बैंकसँग मर्ज गर्ने प्रस्ताव बुझाएका थिए ।
राष्ट्र बैंकका नीति नियमलाई पालनामा सहयोग गर्दै आएका ढकालले कठिन मानिने मर्जर प्रक्रियालाई सफलतापूर्बक सम्पन्न गरेकाले उनलाई अहिले मर्जरको बादशाहका रुपमा हेरिन थालेको छ । बैंकिङ प्रणालीमा अध्यक्ष ढकाललाई बैंकका बलिया र कुशल नेतृत्वका रुपमा लिन सकिन्छ ।
ग्लोबल आईएमईसंग मर्जरका लागि ठूलो कसरत गर्नुपरेको जनताका तत्कालिन अध्यक्ष केशवबहादुर रायमाझी बताउछन । उनी मर्जरपछि ग्लोबलको सञ्चालक भएका छन । मर्जरमा धेरै लगानीकर्ताको असन्तुष्टि रहेपनि सबैलाई खुसी बनाएर मर्ज गर्न सफल भएको उनको भनाई छ ।
ग्लोबल र जनताको एकिकृत कारोबार पश्चात यसको चुँक्ता पूँजी १९ अर्ब, प्राथमिक पुँजी २४ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । मर्जपछि बैंकको जगेडा कोष ७ अर्ब १३ करोड रुपैयाँ पुग्ने भएको छ । बैंकको जगेडा कोषमा जति धेरै रकम भयो त्यति धेरै बलियो मानिन्छ ।
ग्लोबल आईएमई बैंकका ७७ वटै जिल्लामा ३०० को हाराहारीमा शाखा सञ्चालनमा रहनेछन् । २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८३८ रहनेछन् । यी दुई बैंक मर्ज हुने वित्तिकै २९ वटा शाखाहरुलाई समायोजना गरिंदैछ । त्यसैगरी, बैंकमा ३ हजार २५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् ।
आइएमई ग्रुपले २००२ देखि नै इन्टरनेशनल मनि एक्सप्रेस (आइएमई) का नाममा रेमिट्यान्स नेपाल भित्र्याउन थालेको थियो । विदेशबाट आउने रेमिट्यान्स आफ्नै बैंक तथा वित्तीय संस्थामार्फत् भुक्तानी गर्ने उद्देश्यले बैंकिङ बिजनेशमा हात हालेका हो । रेमिट्यान्स व्यवसायमा सफल हुँदै गएपछि उनले ग्लोबल बैंक खोल्न ढकाल सफल भए ।
ग्लोबल आइएमई बैंकले आफ्नो जारी पूँजी बढाएर २५ अर्ब रुपैयाँ पुरयाउने विशेष प्रस्ताव पारित गरेको छ । दुई बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले असोज ८ गते सैद्धान्तिक स्वीकृति प्रदान गरेको थियो ।