काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४५ दिनको म्याद राखेर भारतबाट १० हजार टन चिनी खरिद गर्न टेन्डर आह्वान गर्यो।
खाद्यको यो टेन्डरअनुसार चिनी ल्याउनेले ठेक्का हाल्न पाउने समय मंसिर १ सम्म छ। र, सबैभन्दा कम मूल्य निर्धारण गर्ने कम्पनी वा फर्मलाई छनौट गर्न बाँकी १५ दिनभन्दा बढी समय लाग्छ।
यो भनेको नेपालीको मुख्य चाड दसैं, तिहार र छठ सकिएपछि सरकारी कम्पनीको चिनी बजार आइपुग्छ। खासगरी तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने गरेका छन्। तर, यो वर्ष मुख्य चाडमा भने सरकारको लाचारीकै कारण चिनी अभाव हुने निश्चित भइसकेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने (सुवेदी) ले सार्वजनिक खरिद ऐनअनुसार टेन्डर आह्वान गर्दा ४५ दिनको समयसीमा राख्नुपर्ने बाध्यताका कारण चाडबाडमा चिनी ल्याउन असम्भव भएको बताइन।
दसैं, तिहार र छठमा चिनी अभाव हुन नदिन साल्ट ट्रेडिङ लिमिटेडसँग समन्वय गरिरहेको बताउँदै सरकारको निर्णयमा ढिलाइ हुँदा समस्या भएको उनको भनाइ छ।
आन्तरिकरूपमा उत्पादन भएको चिनी ‘स्टक’ सकिएपछि अहिले बजारमा चिनी मूल्य ह्वात्तै बढेको छ। अहिले खुद्रा चिनी किन्न किलोको १ सय ३० देखि १ सय ४० रुपैयाँ पुगिसकेको छ। यसअघि चिनीको खुद्रा मूल्य ८० देखि ८२ रुपैयाँसम्म थियो।
जेठमै थियो सरकारलाई जानकारी
चिनी उत्पादक संघ अध्यक्ष शशिकान्त अग्रवालले सरकारलाई भारतबाट आयात गर्न गत जेठमै लिखित पत्र दिएको बताए।
आफूहरूसँग उत्पादन भएको चिनी स्टक सकिन लागेकाले भारतबाट ल्याउने व्यवस्था मिलाइ दसैं, तिहार र छठमा हुने अभाव नियन्त्रण गर्न सुझाव दिएको उनको भनाइ छ।
‘हामीले सरकारलाई पाँच महिनाअघि नै भारतबाट चिनी आयात गर्न सुझाव दिएका थियौं,’ अध्यक्ष अग्रवालले क्यापिटल नेपालसँग भने, ‘सरकारी ढिलासुस्तीले अहिले बजारमा चिनी अभाव भएको छ।’
निजी क्षेत्रलाई भारतबाट चिनी आयात गर्न रोक लगाइएको र सरकारले पनि बेलैमा निर्णय नगर्दा अहिले समस्या भोगिरहेको उपभोक्तावादीको भनाइ छ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्च अध्यक्ष माधव तिमिल्सिनाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको लाचारीका कारण उपभोक्ताले चाडबाडको समयमा महँगो मूल्यमा चिनी किन्न बाध्य हुनुपरेको बताए।
‘हामीले तीन महिनाअघि नै बजारमा चिनीको कृत्रिम अभाव भएको र तत्कालै भारतबाट ल्याएर सहज बनाउन पटक–पटक वाणिज्य मन्त्रालयलाई आग्रह गर्दा बेवास्ता गरेको परिणाम अहिले उपभोक्ताले भोग्नुपरिरहेको छ,’ तिमिल्सिनाले भने।
अहिलेको यो अभाव टार्न सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको भर नपरी भारतसँग ‘जिटुजी’ मार्फत तत्कालै चिनी ल्याएर भए पनि मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने उनको सुझाव छ। अहिले भारतबाट लुकाइछिपाइ ल्याइएको चिनी महँगोमा बिक्री भइरहेको छ।