काठमाडौं। निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले एक महिनामा सबैभन्दा बढी ग्राहक थप्न सफल भएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० जेठ मसान्तसम्मको एमआइएस रिपोर्टअनुसार वर्ल्डलिंकले एक महिनामा सबैभन्दा बढी अर्थात २० हजार बढी नयाँ ग्राहक थपेको हो।
२०८० वैशाख मसान्तसम्म वल्र्डलिंकको इन्टरनेट प्रयोगकर्ता संख्या ७ लाख ५२ हजार ५ सय ७३ थियो। तर, कम्पनीले जेठ मसान्तसम्म आउँदा उल्लेख्य नयाँ ग्राहक थप्दै प्रयोगकर्ता संख्या ७ लाख ७२ हजार ९ सय ५९ पुर्याएको छ। यस अवधिमा सुबिसु केबुलनेटले पनि आफ्नो ग्राहक संख्या उल्लेख्य वृद्धि गरेको छ।
वैशाख मसान्तसम्म २ लाख ५५ हजार ३ सय ९४ ग्राहक रहेको सुबिसुले जेठ मसान्तसम्म आउँदा १६ हजार १ सय २७ थप्दै २ लाख ७१ हजार ५ सय २१ पुर्याएको छ।
त्यस्तै वैशाख मसान्तसम्म २ लाख ७० हजार ग्राहक रहेको क्लासिक टेक प्रालिले एक महिनामा ७ हजार बढी ग्राहक थप्दै २ लाख ७७ हजार ७ सय ८२ पुर्याएको छ।
यस अवधिमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले २ हजार नयाँ ग्राहक थप्दै २ लाख ९० हजार ३ सय २७ पु¥याएको छ। वैशाख मसान्तसम्म टेलिकम ग्राहक २ लाख ८८ हजार ६ सय १४ थिए।
यो एक महिनामा सिजी कम्युनिकेसनले ३ हजार ग्राहक थप्दै ५० हजार २ सय ९३ पु¥याएको छ भने भायनेट कम्युनिकेसन र डिस मिडिया नेटवर्क (डिसहोम) ले कुनै ग्राहक थप्न सकेका छैनन्।
रिपोर्टअनुसार कुल इन्टरनेट प्रयोगकर्ता २६ लाख ९२ हजार ७४ छ। वैशाख मसान्तसम्म भने यो संख्या २६ लाख ४७ हजार ३ सय ७९ थियो।
कसको बजार हिस्सा कति?
प्राधिकरणको रिपोर्टअनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीमध्ये सबैभन्दा बढी बजार हिस्सा वर्ल्डलिंकको छ। यसको बजार हिस्सा २९ प्रतिशत छ भने दोस्रो नम्बरमा रहेको टेलिकमको बजार हिस्सा ११ प्रतिशत छ।
त्यस्तै क्लासिक टेक, भायनेट र सुबिसुको बजार हिस्सा १० प्रतिशत छ भने डिसहोमको ९ प्रतिशत छ। साथै, वेब सर्फर ५ प्रतिशत, टेकमाइन्ड्स नेटवर्क ४, ब्रोडलिंक र सिजीको २ प्रतिशत तथा सिम्पल मिडियाको एक प्रतिशत बजार हिस्सा छ। बाँकी सेवा प्रदायकको बजार हिस्सा सात प्रतिशत छ।
टेलिकमको फोरजी प्रयोगकर्ता बढी
जेठ मसान्तसम्मको तथ्यांकअनुसार नेपाल टेलिकमका फोरजी सेवा प्रयोगकर्ता १ करोड २८ लाख ४७ हजार २ सय ७ छ।
त्यस्तै दोस्रो नम्बरमा रहेको एनसेल आजियाटाको फोरजी प्रयोगकर्ता ७१ लाख १४ हजार ९ सय छ। वैशाखको तुलनामा जेठमा टेलिकमको फोरजी प्रयोगकर्ता १ लाख ६८ हजार १ सय ८९ र एनसेलको १२ हजार ४ सय २९ ले बढेको छ।
नेपालमा फोरजी प्रयोगकर्ता १ करोड ९९ लाख ६२ हजार १ सय ७ पुगेका छन्। वैशाख मसान्तसम्म फोरजी प्रयोगकर्ता १ करोड ९७ लाख ८१ हजार ४ सय ८९ थियो।
यसरी हेर्दा एक महिनामा नेपालमा फोरजी प्रयोगकर्ता १ लाख ८० हजार ६ सय १८ अर्थात ०.९१ प्रतिशतले बढेको देखिन्छ।