काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले चोरी तस्करी र अवैध कारोबार नियन्त्रणमा सघाउ पुर्याउन सुनको कोटा वृद्धि गरेको बताएका छन्। सोमबार मन्त्रालयमा सुनचाँदी व्यवसायीसँग भएको छलफल कार्यक्रममा मन्त्री रिजालले आपूर्ति व्यवस्था सुनिश्चित भएपछि चोरी पैठारी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताएका हुन्।
मन्त्रालयको रिफारिसमा नेपाल राष्ट्र बैंकले गत सातादेखि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको छ। त्यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था थियो।
मन्त्री रिजालले सुनचाँदी व्यवसायीलाई परेका अप्ठ्यारा समाधान गर्न र व्यवसाय सञ्चालनका लागि प्रभावकारी नीति नियम तर्जुमा गर्न सरकार तयार रहेको भन्दै व्यवसायीका तर्फबाट पनि राज्यलाई सहयोग पुग्ने काम गर्न सुझाव दिएका छन्।
मन्त्रालयका वाणिज्य सचिव मधुकुमार मरासिनीले सुनचाँदी व्यवसायीहरुले स्वदेशमा नै दक्ष कालिगढ उत्पादनमा ध्यान दिनुपर्ने बताए। यसका लागि सरकारका तर्फबाट आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको उनको भनाइ छ।
मन्त्रालयका उद्योगतर्फमा सचिव मुकुन्दप्रसाद निरौलाले सुनचाँदी व्यवसायको सम्वन्ध आम व्यवसायीसँग प्रत्यक्ष रुपमा जोडिने भएकोले त्यसतर्फ ध्यान दिन आग्रह गरे।
महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नेपालमा सुनचाँदी व्यवसायको अवसर र चुनौति विषयक कार्यपत्र पस्तुत गर्दै सुनचाँदी व्यवसाय सञ्चालनका लागि प्रष्ट, प्रभावकारी र व्यवसाय मैत्री ऐन बनाउन आवश्यक रहेको बताएका छन्।
साथै सुनको प्रभावकारी आपूर्ति व्यवस्था गरिनुपर्ने, वैध तरिकाबाट आएका सुन तथा गरगहनाको कारोबारमा कुनै व्यवधान गर्न नहुने, नीति निर्माण गर्दा अन्तर्राष्ट्रिय प्रावधानहरुलाई ख्याल गर्नुपर्ने, सुनचाँदीका गरगहना निर्यातका लागि विशेष व्यवस्था गर्नुपर्नेलगायत सुनचाँदी व्यवसायसँग सम्बन्धित विविध पक्षका बारेमा जानकारी गराएका छन्।
छलफक कार्यक्रममा महासंघका विशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्षहरु दियेसरत्न शाक्य, विपेन्द्र रामुदामु, महेन्द्ररत्न शाक्य, सचिव किरणभाई बज्राचार्यलगायतको उपस्थिति रहेको थियो। यस्तै रत्न तथा आभुषण महासंघका तर्फबाट उपाध्यक्ष द्धारिका शंकर, खेम तिरुवालगायत उपस्थित थिए।