काठमाडौं। नेपाल राष्ट्र बैंकले यस पटकको दसैं लक्षित नयाँ नोट असोज अन्तिम सातादेखि वितरण गर्ने भएको छ। केन्द्रीय बैंकले यस पटक डिजिटल भुक्तानीको व्यवस्था गर्दै दसैंका लागि नयाँ नोट वितरण गर्ने भएको हो।
यस वर्षको दसैंको टीका कात्तिक ७ गते परेको छ। दसैंका लागि फूलपातीदेखि सार्वजनिक विदा सुरु हुन्छ। फूलपातीको अघिल्लो दिनसम्म सबै सरकारी कार्यालयका साथै बैंक तथा वित्तीय संस्थाहरु खुला हुन्छन्।
दसैंका लागि नयाँ नोट पनि सर्वसाधारणले उक्त दिनसम्म सटही गर्न पाउँछन्। यस पटकको दसैंका लागि भने करिब एक साता नयाँ नोट सटही सुविधा दिइने राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए।
‘सधै बाँड्दै आएका नयाँ नोट यस पटको दसैंका लागि पनि वितरण हुन्छ, सार्वजनिक विदा सुरु हुनुभन्दा एक साताअघि नयाँ नोट वितरण हुन्छ,’ डेपुटी गभर्नर मिश्रले क्यापिटल नेपालसँग भने, ‘यस पटक नोट साट्न आउनेका लागि डिजिटल भुक्तानीको व्यवस्था हुनेछ। क्युआर भुक्तानी गरेर नयाँ नोट साट्नेका लागि छुट्टै लाइनमा राखेर वितरण हुन्छ।’
राष्ट्र बैंकले अन्य विदेशी मुद्रा सटहीमा क्यूआर भुक्तानीको व्यवस्था गरेजस्तै नयाँ नोट सटहीमा पनि क्युआर भुक्तानीको व्यवस्था गर्न लागिएको उनको भनाइ छ।
दसैं लक्षित नयाँ नोट सटहीका लागि राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले आवश्यक तयारी गरिरहेको छ। विभागले नोट सटहीको व्यवस्थापनमा कमिटी नै बनाएर काम गरिरहेको छ। उक्त कमिटीले सुझाएमा यस पटकको दसैंका लागि प्रतिव्यक्ति सटही सीमा बढ्न सक्ने उनको भनाइ छ।
अघिल्ला वर्षहरुमा राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट सहटी सुविधा दिने गरेको थियो। यस पटक पनि सीमा थपघट भए पनि ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक बन्डल नयाँ तथा सुकिला नोट राष्ट्र बैंकले उपलब्ध गराउने छ।